रहस्यमयी कोरोना भाइरस के हो, यसकाे संक्रमणबाट जोगिन के गर्ने ?

काठमाडाैं । चीनमा कोरोना भाइरस संक्रमण बढेको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण चीनमा अहिलेसम्म मृतकको संख्या ८० पुगेको छ । बीबीसीका अनुसार चीनको हुबेई राज्यमा मात्र अहिलेसम्म ७६ जनाको मृत्यु भएको छ ।

पछिल्लो विवरण अनुसार चीनका २९ राज्यमा ८० जनाको मृत्य भएको र कोरोना भाइरस संक्रमितको संख्या २७४४ पुगेको छ । त्यस्तै ५७९४ जनामा भाइरस रहेको आशंका गरिएको छ भने पुरै चीनमा ३० हजार भन्दा बढी निगरानीमा रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।  चीन बाहेक हङकङ, मकाउ र ताइवानमा पनि कोरोना भाइरसबाट १० जना संक्रमित भएको बताइएको छ ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि चीन सरकारले थप शहरहरुमा पनि यात्रा प्रतिबन्ध लगाइएको घोषणा गरेको छ । चीनक कैयौ शहरमा सरकारले मास्क लगाएर मात्र बाहिर निस्किन भनेको छ । नेपाल, अमेरिका, क्यानाडा, जापान, दक्षिण कोरिया, थाइल्याण्डलगायतका देशमा कोरोना भाइरस संक्रमण भएको व्यक्ति भेटिएका छन् ।

नेपालमा पनि एक जनामा कोरोना भाइरस देखिएको छ । चीनबाट नेपाल आएपछि परीक्षण गर्दा उनका उक्त भाइरस देखिएको हो । बढी उमेर भएका र दीर्घ रोग लागेका व्यक्तिमा यो भाइरसको संक्रमण बढी पाइएको छ । प्रेसर, दम, क्षयरोग भएकामा यसको सक्रमण बढी देखिएको छ ।

के हो कोरोना भाइरस ?
विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोना भाइरस रुघाखोकी लाग्नुका साथै गम्भीर श्वासप्रश्वास सिन्ड्रोम जसलाई एक्युट रेस्पिरेटरी सिन्ड्रम भनिन्छ, यो रोग निम्त्याउने भाइरसहरूको ठूलो समूहको एउटा सदस्य हो ।

कोरोनाभाइरस जूनोटिक अर्थात् जनावर र मानिसबीच सर्ने भाइरस हो । पहिचान भएका थुप्रै प्रकारका कोरोनाभाइरस जनावरहरूबाट सर्ने देखिए पनि मानिसबाट सङ्क्रमित बनाएका छैनन् । चीनमा सन् २००२ मा उक्त कोरोना भाइरसले आठ हजार ९८ मानिस संक्रमित भएका थिए जस मध्य सात सय ७४ को मृत्यु भएको थियो । उक्त भाइरसले कतिपय बिरामीमा निमुनिया हुने गर्दछ, यो वर्ष चीनमा मृत्यु भएका मानिस निमुनियाले ग्रस्त थिए ।

के भन्छन् विशषज्ञ ?
वेलकम मेडिकल रिसर्च च्यारिटीका निर्देशक डा जेरेमी फरार भन्छन्, ‘यस संक्रमण अझै फैलिने सम्भावना छ, अहिले मानिस बाट मानिसमा संक्रमण नभएपनि पछि भने यो मानव बाट नै फैलिने छ , हामीले चीन र अरु देशमा अझ धेरै संक्रमणको केसको वारेमा सुनेका छौ, यो अझ अरु थुप्रै देशमा पनि फैलिने छ ।’

ब्रिटेनस्थित नटिङ्गहम विश्वविद्यालयका प्राध्यापक, जोनाथन बल भन्छन्, ‘अहिले साबै भन्दा ठुलो समस्या भनेको यो भाइरस द्रुत गतिमा फैलिदै छ र ल्याबमा यसको परिक्षण पछी मात्र कति जनालाई संक्रमण भयो भन्ने तथ्यांक थाहा हुन्छ तर अहिले सम्म ४१ प्रकारका भाइरस मानिसमा सरेको भेटिए पनि अझ धेरै हुन सक्ने सम्भावना उत्तिकै छ ।’

लक्षण के हुन् ?
विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाभाइरसबाट सङ्क्रमित हुने मानिसहरूमा केही साझा लक्षणहरू देखिन्छन् :-
-ज्वरो आउनु र खोकी लाग्नु
-छिटोछिटो सास फेर्नु
-श्वासप्रश्वासमा कठिनाइ हुनु
-गम्भीर भएमा निमोनिया हुनु
-सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु
-मिर्गौलाले काम गर्न छोड्छ र मृत्यु समेत हुन सक्छ ।

कसरी जोगिन सकिन्छ ?
केही सामान्य तरिका अपनाए कोरोना भाइरसको संक्रमणबाट जोगिन सकिन्छ । निम्न तरिका अपनाए यसको संक्रमणबाट जोगिन सकिन्छः-
-बिरामी मानिसहरूको सम्पर्कमा नआउने
-सकेसम्म भाईरस प्रभावित क्षेत्रहरूको यात्रा नगर्ने
-जीवित वा मृत जनावर एवम् खासगरी नपकाएको मासुको सम्पर्कबाट टाढा रहने
-साबुनपानीले बारम्बार हात धुने
-साबुनपानी उपलब्ध नभएको अवस्थामा अल्कोहलयुक्त स्यानिटाईजरको प्रयोग गर्ने
-पानी धेरै पिउने
-माक्स लगाएर मात्र हिंड्ने
-घर पुग्ने बित्तिकै साबुन पानीले हात धुने
-चार-पाँच दिनसम्म रुघाखोकी निको नभए तुरुन्त स्वास्थ्य जाँचको लागि अस्पताल जाने ।

संक्रमितको उपचारका लागि सम्पूर्ण तयारी गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट संक्रमितहरुको उपचारका लागि आवश्यक सबै तयारी गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र स्वास्थ्य सचिव खगराज बराललाई बालुवाटारस्थित आफ्नो सरकारी निवासमा बोलाएर नेपालमा देखिएको कोरोना भाइरसबाट संक्रमितहरुको उपचारका लागि आवश्यक सम्पूर्ण तयारी गर्न भनेका हुन् ।

प्रधानमन्त्री ओलीले मन्त्री ढकाल र सचिव बरालसँग नेपालमा कोरोना भाइरसको संक्रमण र संक्रमितहरुकाे उपचारको अवस्थाका सम्बन्धमा जानकारी समेत लिएका छन् । गत डिसेम्बर महिनादेखि छिमेकी राष्ट्र चीनमा देखिएको कारोना भाइरसको संक्रमणबाट चीनमा मात्रै अहिलेसम्म ८० जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्ययमहरुले जनाएका छन् ।

नेपालमा चीनबाट फर्किएका एक नेपाली युवामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भइसकेको छ । यस्तै, चिनबाटै नेपाल फर्किएकी एक महिला र एक पुरुषमा पनि कोरोना भाइरस संक्रमणको आशंका गरिएको छ । उनीहरुको अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार थालिएको छ । यस्तै कोरोना भाइरस हो वा होइन भनेर पत्ता लगाउन दुवै जनाको नमूना (स्याम्पल) लिएर परीक्षणका लागि हङकङ पठाइएको छ ।

नेपालमा कोरोना भाइरसको संक्रमण देखिएपछि सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत प्रभावित देशबाट आउने विदेशी पर्यटक तथा नेपालीको विशेष चेकजाँचको व्यवास्था गरेको छ ।  यस्तै, कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले शुक्रराज ट्रपिकल अस्पताल, पाटन अस्पताल, छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा विशेष वार्डको व्यवस्था गरिसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई रिहा …

प्रतिकृया दिनुहॊस