टोखामा विद्यार्थीलाई ‘निःशुल्क दिवा खाजा’

काठमाडौं । काठमाडौँको टोखा नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क दिवा खाजा खुवाउने भएको छ । ‘मेयर दिवा खाजा कार्यक्रम’ अन्तर्गत बाल विकासदेखि कक्षा १० सम्मका विद्यार्थीलाई निःशुल्क दिवा खाजा खुवाउन लागिएको हो ।

नगरपालिकाभित्रका झोर महाँकाल, बौडेश्वर, चण्डेश्वरी, धापासी, तिलिङ्गाटार, जालपा र मनोहर माविका विद्यार्थीलाई खाजा खुवाउन लागिएको हो । आठ सरकारी विद्यालयमा हाल चार हजार ३०६ विद्यार्थी अध्ययनरत छन् । निजी र सरकारी विद्यालयमा गरी झण्डै ४० हजार विद्यार्थी अध्ययनरत रहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिका शिक्षा शाखाका प्रमुख उपसचिव बाबुराम गौतम ‘मेयर दिवा खाजा कार्यक्रम’का लागि आर्थिक वर्ष २०७६÷०७७ को बजेटमा रु ७५ लाख विनियोजन गरिएको बताउनुहुन्छ । “दैनिक रु २५ बराबरको खाजा वितरण गर्न बोलपत्र आह्वान भएको छ, फागुनदेखि दिवा खाजा कार्यक्रम सञ्चालन गर्छौं”, उनले भने ।  बजेट अपुग भए थप्दै लैजाने गौतमको भनाइ थियो । नगरपालिकामा हाल आठ सामुदायिक, ८१ निजी, तीन वैकल्पिक मावि र ३५ मन्टेश्वरी विद्यालय छन् । टोखाले प्रत्येक वैकल्पिक विद्यालय बराबर रु सात लाख २० हजार आर्थिक सहयोग गर्दै आएको छ ।

नगरप्रमुख प्रकाश अधिकारी सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन ‘मेयर दिवा खाजा कार्यक्रम’ सञ्चालन गरेको बताउँछन् । “पछिल्लो समय सरकारी विद्यालयप्रति विद्यार्थीको आकर्षण घटेको छ, त्यसलाई बढाउन उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको हो”, उनी भन्छन् ।  नगरपालिकाका ११ मध्ये ५, ६, ९ र ११ नम्बर वडामा सामुदायिक विद्यालय छैनन् । सबै वडामा सामुदायिक विद्यालय बनाउने उद्देश्यले ‘एक वडा, एक सामुदायिक विद्यालय’ को अवधारणा नगरपालिकाले अगाडि सारेको छ ।  नगरसभाको बैठकबाट संस्थागत विद्यालयलाई सामुदायिक विद्यालयमा रुपान्तरण गर्न सकिने गरी ऐन संशोधन गरिएको छ । सो संशोधनले अब निजी विद्यालय सामुदायिक विद्यालयमा रुपान्तरण हुन चाहेमा ढोका खुलेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

छोटुलालले धनीलाई बुझाए बाटोमा भेटिएको १७ लाख

काठमाडौं । भारत घर भएर पोखरामा बस्ने एक व्यक्तिले आफूले फेला पारेको १७ लाख रकम …

प्रतिकृया दिनुहॊस