बागलुङमा दुई औद्योगिक ग्राम बन्ने

बागलुङ । स्थानीय स्रोत, सीप र प्रविधिको प्रयोगबाट उद्यमशीलता विकास गर्न यहाँका दुई स्थानीय तहमा औद्योगिक ग्राम निर्माण गरिने भएको छ । ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ को राष्ट्रिय लक्ष्यअनुरूप बागलुङ नगरपालिका र ताराखोला गाउँपालिकामा औद्योगिक ग्राम बन्ने भएको हो ।

दुवै ठाउँमा गरिएको प्रारम्भिक सम्भाव्यता अध्ययनपछि सरकारले औद्योगिक ग्राम स्थापनाका लागि स्वीकृत प्रदान गरेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए। “अर्को साता सम्झौताका लागि उद्योग मन्त्रालयले बोलाएको छ”, उनले भने, “औद्योगिक ग्राम बन्ने निश्चित भयो, यही वर्ष काम शुभारम्भ गर्छौँ ।”

सङ्घ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारको लगानी तथा समन्वयमा औद्योगिक ग्राम बन्नेछन् । स्थानीय तहको मागअनुसार प्रदेश सरकारले औद्योगिक ग्रामको स्वीकृतिका लागि सङ्घीय सरकारसँग सिफारिस गरेको थियो । औद्योगिक ग्रामका लागि स्थानीय तहले जग्गा उपलब्ध गराउनुपर्ने प्रावधान छ ।

बागलुङ नगरपालिकाले वडा नं १३ कालाखोलामा जग्गा व्यवस्थापन गरेको छ। “झण्डै ८५ रोपनी सार्वजनिक जग्गा छ, अपुग भएमा किनेर भए पनि थप्छौँ”, नगरप्रमुख पौडेलले भने। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार पहाडी क्षेत्रमा औद्योगिक पूर्वाधार निर्माणका लागि १०० रोपनी जग्गा आवश्यक पर्छ ।

स्थानीय साधन, स्रोतको उपयोगसँगै रोजगारी सिर्जना र आर्थिक समृद्धिमा औद्योगिक ग्रामले टेवा पु-याउने विश्वास लिइएको छ । कृषि, पशुपालन, खनिज र वनजन्य उत्पादनका हिसाबले अग्रणी मानिने ताराखोला गाउँपालिकामा पनि औद्योगिक ग्राम बन्ने भएपछि गाउँले उत्साहित छन् । वडा नं १ अमरभूमि, भुस्कातमा औद्योगिक ग्रामका लागि जग्गा छनोट गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीमगरले बताए ।

अन्य स्थानीय तहले समयमै जग्गा व्यवस्थापन गर्न नसक्दा औद्योगिक ग्रामका लागि यो वर्ष छनोटमा पर्न नसकेका हुन् । सङ्घ र प्रदेश सरकार दुवैको नीति र कार्यक्रममा सबै स्थानीय तहमा औद्योगिक ग्राम बनाउने उल्लेख छ । स्थानीय तहले जग्गाको जोहो गरेपछि सङ्घ र प्रदेश सरकारले औद्योगिक पूर्वाधार निर्माणका लागि लगानी गर्नेछन् ।

औद्योगिक ग्राममा खानेपानी, बिजुली, ढल निकास, घेराबार, प्रवेशद्वार, प्रदर्शनी, बिक्री र भण्डारणकक्षलगायत भौतिक पूर्वाधार निर्माण गरिनेछ । “झण्डै रु २० देखि २५ करोडसम्मको पूर्वाधार निर्माण हुने कुरा आएको छ”, ताराखोला गाउँपालिकाका अध्यक्ष घर्तीमगरले भने । मन्त्रालयसँग हुने सम्झौतापछि बजेट र लगानीबारे स्पष्टता आउने उनको भनाइ छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

डिशहोमको जतिको रिचार्ज उति नै बोनस अफर

काठमाडौं । डिशहोम डीटीएचका ग्राहकहरुले अब रिचार्ज गरेको रकमबराबर नै बोनस प्राप्त गर्ने भएका छन्। …

प्रतिकृया दिनुहॊस