सफाइ अभियानमा जनप्रतिनिधिको ध्यान जान सकेन

काठमाण्डौ । नागरिकस्तरबाट सफाइ अभियान सुरु भएर ३ सय ४३ हप्ता पार गर्दा पनि गाउँगाउँमा पुगेका सिंहदरबारको ध्यान यसतर्फ जान सकेको छैन ।

विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान सुरु हुँदा स्थानीय सरकार कर्मचारीले चलाएका थिए । कर्मचारी नियमित काममात्र गर्ने हुँदा सफाइ अभियानसम्बन्धी नीतिनिर्माणमा त्यति धेरै सहयोग हुन सकेन । विसं २०७४ वैशाखमा स्थानीय तहको चुनाव भएपछि आफ्नो गाउँ टोल सफा राख्न स्थानीय सरकारले सहयोग गर्ने आशा पलाएको थियो । तर त्यो आशा निरासामा परिणत भएको सफाइ अभियानकर्मीको गुनासो छ ।

विश्वमै लामो स्वयंसेवी अभियान भनी देशविदेशबाट प्रशंसा कमाएको वाग्मती सफाइ महाअभियानका निरन्तर अभियानकर्मी माला खरेलले काठमाण्डौ र ललितपुर महानगरपालिका एवं वाग्मतीसँग जोडिएका अन्य नगरपालिकाले सहयोग गरे नदी सफाइमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

‘ललितपुर महानगरपालिकाले आफ्नो नगर क्षेत्रमा पर्ने नदी सफाइका लागि विशेष अभियान चलाउने घोषणा गरेको थियो, तर अहिलेसम्म ठोस उपलब्धि केही भएन, यसै हप्ता महानगर प्रमुख चिरीबाबु महर्जनसहितको समूहसँग कुराकानी गर्छौँ’ अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्यसमेत रहनुभएकी उनले भने ।

केही जनप्रतिनिधि सफाइ अभियानमा उपस्थित भएर ऐक्यबद्धता जनाउने गरे पनि विधायिकी अधिकारसमेत पाएको स्थानीय सरकारले नदी र शहर स्वच्छ राख्न कुनै कानूनी व्यवस्था लागू गरेका छैनन् ।

उपत्यकाका नदी र चक्रपथ सफाइ अभियान प्रत्येक हप्ता शनिबार झैँ जारी छ । वाग्मती सफाइ महाअभियानको ३ सय ४३औँ हप्तामा ललितपुरतर्फको थापाथली पुलमुनि सफाइ गरिएको छ । सफाइमा १८ संस्थाका ३ सय जनाभन्दा बढी अभियानकर्मीको सहभागिता रहेको थियो । सफाइबाट ६ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको खरेलले बताए।

सफाइमा पूर्वसचिव किशोर थापा, पूर्वराजदूत भिक्ट्रीशम्शेर राणा, काठमाण्डौ महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकारको पनि सक्रियता थियो ।

यसैगरी गुह्येश्वरीमाथिको वाग्मतीमा सफाइ गरिएको छ । यस क्षेत्रको सफाइ वाग्मती सुन्दरता सरोकार मञ्चले गर्दै आएको छ । वाग्मतीको तिलगङ्गा र सुन्दरीघाट क्षेत्रमा पनि सफाइ गरिएको जनाइएको छ ।

भत्काइयो रुद्रमती किनारको संरचना

रुद्रमती सफाइ अभियानको २ सय ९३ औँ हप्तामा रातोपुलबाट सेतोपुलसम्मको क्षेत्रमा सफाइ गरिएको छ । सफाइका क्रममा नदीको दायाँबायाँ रोपिएका बिरुवामा पानी हाल्नाका साथै गोडमेल पनि गरिएको थियो ।

सेतोपुल मुखमा रहेको सेतो गणेश मन्दिरसँगैको सार्वजनिक जग्गा अतिक्रमण गरी पसल सञ्चालन गर्दा सवारी आवागमनमा बाधा पुगेकाले सुरक्षा निकायको सहयोग लिई महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्कीको उपस्थितिमा संरचना भत्काइएको अभियानकर्मी रोहित गिरीले जानकारी दिए ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

साहित्यकार तथा गीतकार प्रकट पंगेनीको निधन

काठमाडौं । साहित्यकार तथा गीतकार प्रकट पंगेनीको निधन भएको छ । पंगेनीको मणिपाल शिक्षण अस्पतालमा …

प्रतिकृया दिनुहॊस