आइडियाको १६ वर्ष पूरा: सबैको साझा संस्था

काठमाडौं । इन्टेरियर डिजाइनर एसोशियसन अफ नेपाल (आइडिया नेपाल) ले आफ्नो १६औं वार्षिकोत्सव मनाएको छ ।
इन्टेरियर डिजाइनरहरुको पेशागत हक अधिकारको रक्षा र सम्बर्धनको लागि भन्दै २०६० सालमा स्थापना भएको आइडियाले १६औं वर्ष पूरा गर्न सफल भएको छ ।

आइडियाले काठमाडौंस्थित कालोपुलको वेष्ट भेन्यूमा आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा इन्टेरियरको ठूलो जमात देख्दा निकै खुसी लागेको बताए । विगतमा आफूले घर निर्माणमा इन्टेरियर डिजाइनरको प्रयोग नगर्दा २ पटकसम्म भत्काउँदै बनाउँदै गर्नुपरेको अनुभव सुनाउँदै उनले कुनैपनि संरचना निर्माण गर्दा नक्सा कोर्दा देखिनै डिजाइनरलाई लिने हो भने सोचेभन्दा राम्रो संरचना बन्ने दाबी गरे ।

साे कार्यक्रममा अध्यक्ष श्रेष्ठले नेपालमा इन्टेरियर डिजाइनरहरु व्यवसायिक रुपमा अगाडी आएकोमा बधाई पनि दिए । सहज रोजगारीको लागि इन्टेरियर डिजाइनिङ उपयोगी विषय भएकाले युवा पुस्ताको आकर्षण बढ्दै गएको र नेपालमा यो विषयको अध्यापनका लागि पहल गर्न नेपाल सरकारलाई आग्रह समेत गरे ।

‍आइडिया नेपालकी अध्यक्ष विन्द्रा कक्षपति प्रधानले नेपालमा इन्टेरियर डिजाइनरहरुको समुचित विकास र प्रवद्र्धनका लागि पहल गरेको बताइन् । इन्टेरियर डिजाइनिङ पेशाको महत्व र प्रभाववारे जानकारी गराउँदै उनले हरेक व्यक्ति, घर, समाज अनि राज्यले पेशाको प्रभावकारितालाई बुझिदिन आग्रह गरिन् ।

अध्यक्ष कक्षपतिले भनिन्, ‘आइडियाले स्वीट सिक्सटीन मनाइरहेको छ । यो उमेर भनेको उर्जाशिल र भविष्य कोर्ने उमेर हो त्यसैले यसलाई बलियो बनाउन सवैको साथ चाहिएको छ । आइडिया सबैको साझा संस्था हो । यसमा इन्टेरियर डिजाइनर मात्रै होइन इन्जिनियर, आर्किटेक्ट, प्लम्बिङदेखि सबै पेशामा आबद्ध व्यक्तिहरुको साथ र सहयोगको अपेक्षा गरेका छौं ।’
उनले आर्थिक अवस्था र जनशक्ति मुख्य चुनौतिका रुपमा देखिएकाले यसको समुचित विकासमा राज्यको ध्यान जाओस भन्दै राष्ट्र निर्माणमा डिजाइनरहरुको महत्वपूण भूमिका हुने भएकाले सहभागिताको माग गरिन् ।

त्यसैगरी, कार्यक्रममा बोल्दै आइडियाकी संस्थापक अध्यक्ष प्रा.डा. मथुरा कार्कीले १६ वर्ष अघिको अवस्था र अहिलेको अवस्थामा आएको परिवर्तन स्मरण गरिन् । उनले अहिले थुप्रै अवसर भएकाले इन्टेरियर डिजाइनको विषय छनौट गरी राम्रोसँग अध्ययन गर्न नयाँ पुस्तालाई आग्रह गरिन् ।

कार्यक्रममा बोल्दै आइडियाका महासचिव श्यामबहादुर श्रेष्ठले आफू र आफ्नो पेशाबारे परिचय दिँदै हिँड्नुपर्ने अवस्थाबाट व्यवसायिकतामा फड्को मारिएको स्मरण गरे । उनले त्यो अवस्थाबाट उठेर अहिले निकै ठूलो परिवर्तन भएको दाबी गर्दै राज्यका उच्च निकायले यो पेशालाई स्थान दिएर देश निर्माणमा इन्टेरियरलाई पनि सहभागि गराउन आग्रह गरे ।

वार्षिकोत्सवको अवसरमा साउथ एशियन एएमएफका निर्देशक टेडी डिसुजाले इन्टेरियर डिजाइनिङमा सुरक्षा प्रविधिको प्रयोगबारे प्रस्तुती दिएका थिए । जस्तोः डिजाइन गर्दा साउण्ड प्रुफबारे कसरी ध्यान दिने, आगलागी रोक्ने साथै अन्य सामान्य दुर्घटना हुनबाट जोगिन कस्ता सावधानी अपनाउन सकिन्छ भन्नेबारे प्रस्तुती दिए । उनले स्कूल, अस्पताल, व्यवसायीक भवन, घर आदिको निर्माण गर्दा सुरक्षित इन्टेरियरबारे हरेक इन्टेरियर डिजाइनर सजग हुनुपर्ने धारणा राखे ।

सोही कार्यक्रममा संस्था, डिजाइनर, उद्यमी, व्यवसायी र उनीहरुको कार्यबारे सूचना सम्प्रेषण गर्नेगरी प्रकाशन प्रारम्भ भएको आइडियाको ‘न्यूज लेटर’ पनि सार्वजनिक गरिएको थियो । वार्षिकोत्सव समारोहमा हस्तकला महासंघका अध्यक्ष सुनिल चित्रकार, इन्टेरियर डिजाइनिङ पेशामा आवद्ध व्यक्तित्वहरु, डिजाइनरहरु, इन्टेरियर डिजाइनिङ अध्ययन गर्दै गरेका विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

टेलिकमले माग्यो १२९ कर्मचारी, कुन पदका लागि कति जना ? (सूचनासहित)

काठमाडौं । नेपाल टेलिकमले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । टेलिकमले विभिन्न प्राविधिक …

प्रतिकृया दिनुहॊस