टी–१० क्रिकेटमा सन्दीपको टिम विजयी

अबुधाबी । युएईमा जारी अबुधाबी टी–१० लिग क्रिकेट अन्तर्गत नेपालका लेगस्पिनर सन्दीप लामिछाने आवद्ध टिम कर्नाटक टस्कर्सले विजयी सुरुवात गरेको छ।  शनिबार जायद क्रिकेट मैदानमा सन्दीप आवद्ध टिम कर्नाटकले दिल्ली बुल्सलाई १९ रनले हराएको हो। खेलमा सन्दिपले २ ओभर बलिङ गर्दै १९ रन खर्चिएर एक विकेट हात पारे। टी–१० क्रिकेटमा एक बलरले दुई ओभरभन्दा बढी बलिङ गर्न नपाउने नियम छ। टस हारेर पहिले ब्याटिङ गरेको कर्नाटकले पूरै ओभर खेल्दै ५ विकेटको क्षतिमा एक सय १० रनको योगफल तयार पारेको थियो। कर्नाटकको जितमा उपुल थारंगाले ४८ र सफिकुल्लाह सफिकले ३४ रनको महत्वपुर्ण पारी खेले ।

दिल्लीका लागि रवी रामपालले दुई विकेट चट्काए।  एक सय ११ रनको विजयी लक्ष्य लिएर मैदान उत्रिएको दिल्लीले ८ विकेटको क्षतिमा ९१ रन मात्र बनाउन सक्यो। दिल्लीका ओपनरद्वय पल स्टर्लिङ र कुशल परेरा समान सात/सात रन बनाउँदै पभेलियन फर्किएपछि कर्नाटकका कप्तान हसिम अम्लाले इनिङको चौथो ओभरमा सन्दीपलाई बल थमाए । सन्दीपले पहिलो बलमै मुहम्मद उस्मानलाई बोल्ड गरे।  आफ्नो पहिलो ओभरमा उत्कृष्ट बलिङ गर्दै तीन रन मात्र दिएका सन्दीप दोस्रो ओभरमा भने महँगो सावित भए। इनिङको छैठौँ ओभरमा व्यक्तिगत दोस्रो ओभर बलिङ गरेका सन्दीपलाई श्रीलंकन अलराउण्डर एञ्जलो म्याथ्युजले लगातार २ छक्का प्रहार गरे ।

दोस्रो ओभरमा सन्दीपले १६ रन खर्चिए। कर्नाटक टस्कर्सले सन्दीपलाई ४० हजार डलर खर्चिएर टिममा अनुबन्द गरेको हो। सन्दिपका अलवा कर्नाटकका लागि नाथान रिमिङटनले तीन तथा प्याट ब्रोन र अहमेद राजाले समान दुई÷दुई विकेट हात पारे। अबुधाबी टी–१० लिगमा नेपालका दुईजना क्रिकेटर आवद्ध छन् । पूर्व कप्तान पारस खड्काले शुक्रबार टिम अवुधावीबाट डेब्यु गरेका थिए । कलन्दर्स विरुद्धको खेलमा मैदान उत्रिएका पारसले तीन बलको सामना गर्दै अविजित तीन रन बनाएका थिए । उक्त खेल बराबरीमा सकिएको थियो । युएई क्रिकेट बोर्डले आयोजना गरेको प्रतियोगितामा भारतीय कम्पनीको लगानीमा ८ फ्रेन्चाइज टोली सहभागी छन् । प्रतियोगिता २४ नोभेम्बरसम्म चल्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसिसी प्रिमियर कपमा नेपालको लगातार चौथो जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित दर्ता गरेको छ । …

प्रतिकृया दिनुहॊस