आधा दर्जन विदेशी एयरलाइन्सको नेपालमा उडान भर्ने तयारी

काठमाडाैं । नेपालमा आधा दर्जन विदेशी वायु सेवा प्रदायक कम्पनीले उडान भर्ने तयारी गरेका छन् । भारतका दुई, कुवेत, फिनल्यान्ड र अष्ट्रेलियाको एक\एक वायु सेवा प्रदायकले नेपालमा उडान भर्न लागेका हुन् ।

स्पाइस जेटले काठमाडौं-नयाँदिल्ली-मुम्बई र भिस्ताराले काठमाडौं-नयाँदिल्ली रुटका लागि दैनिक एक-एक उडान गर्ने अनुमति पाएका छन् । भारतको स्पाइस जेट एयरलाइन्स र भिस्तारा एयरले नेपालमा उडान भर्नका लागि प्राधिकरणबाट अनुमति लिइसकेको छ भने कुवेतको जजिरा एयरवेजले पनि नेपाल उडानका लागि स्वीकृति लिएको छ ।

कुवेतको जजिरा एयरले अगामी १ मंसीर (नोभेम्बर १७, सन् २०१९) देखि नेपालमा उडान भर्ने भएको छ । जजिराको उडान तालिका निश्चित भएको जनाइएको छ । भारतका दुई कम्पनीले डिसेम्बर महीनाको दोस्रो सातादेखि नेपालमा उडान भर्ने तयारी गर्दैछन् ।

विदेशी एयरलाइन्सले नेपालमा उडान विस्तार गरेसँगै भ्रमण वर्षको अवधिमा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन सहयोग पुग्ने विश्वास लिइएको छ । दिल्ली-काठमाडौं उडान गर्दै आएको जेट एयरवेजले कम्पनीमा वित्तीय समस्या आएको भन्दै गत वैशाखमा उडान बन्द गरेको थियो ।

उक्त एयरवेजको उडान बन्द भएपछि काठमाडौं-दिल्ली रुटको हवाई भाडा महँगिएको थियो । थपिएका नयाँ जहाजको उडानले हवाई भाडासमेत घट्ने अपेक्षा गरिएको छ ।

सरकारले यूरोपेली मुलुक फिनल्यान्डसँग दुई पक्षीय हवाई सम्झौताको तयारी गरेको छ । फिनल्यान्डको सबैभन्दा ठूलो वायु सेवा प्रदायक कम्पनी फिनिस एयरले नेपालमा सीधा हवाई सेवा विस्तार गर्ने तयारी गरेको पर्यटन मन्त्रालयले जनाएको छ ।

नेपालका लागि आकर्षक मानिएको अष्ट्रेलियासँग पनि हवाई सम्पर्क विस्तारका लागि पहल थालिएको मन्त्रालयले जनाएको छ । अष्ट्रेलियन एयरलाइन्सले नेपाल उडान गर्ने अपेक्षा गरिएको छ । नेपालले गत १४ असोज (१ अक्टोबर, सन् २०१९) मा अस्ट्रेलियासँग प्रारम्भिक हवाई सम्झौता गरेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कीर्तिमानी मूल्यमा सुन, कति पुग्यो आज ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको भाउले नयाँ इतिहास रचेको छ । बुधबार प्रतितोला …

प्रतिकृया दिनुहॊस