बुधनगर–कटहरी रेलमार्ग विस्तार : दुई महिनापछि पुनः सुरु गरिने

विराटनगर । भारतको बथनाहादेखि मोरङको कटहरी जोड्ने रेलमार्ग निर्माणको काम दुई महिनापछि पुनः सुरु गरिने भएको छ । विराटनगर–१८, बुधनगरको लावाघाटसम्म आई पुगेपछि सात महिना अगाडिदेखि रोकिएको रेलमार्ग निर्माणको काम दुई महिनापछि पुनः सुरु हुने भएको हो ।

रेलमार्ग विस्तारको दोस्रो खण्डअन्तर्गत बुधनगर लावाघाटदेखि कटहरीतर्फको आठ किलोमिटर दूरीको काम अगाडि बढाइने निर्माण जिम्मेवारी पाएको भारतीय कम्पनी इरकोनका प्रतिनिधि दीपक कुमारले जानकारी दिए । बुधनगरमा निर्माणको अन्तिम चरणमा रहेको आईसीपीसम्म रेलमार्ग निर्माण करिब अन्तिम चरणमा पुगेपछि सात महिना अगाडिदेखि रोकिएको थियो ।

एक महिनाभित्रै आठ किलोमिटर दूरीका लागि बोलपत्र खोल्ने प्रक्रिया अगाडि बढिसकेकोले निर्माणले पुनः निरन्तरता पाउने कुमारको दाबी छ । नेपालतर्फ रेलमार्ग निर्माणका लागि जग्गा प्राप्त भई नसकेको र भारतले समेत बजेट रोकेका कारण काम स्थगित गरिएको भारतीय पक्षको दावी छ ।

भारत सरकारले रेलमार्ग विस्तारका लागि ७३ करोड रुपियाँ निकासा गरिसकेकोले बोलपत्र आह्वान गरिने भएको हो । दस किलोमिटर विस्तारका लागि एक अर्ब भारतीय रुपियाँ माग गरिएकोमध्ये ७३ करोड रुपियाँ मात्रै निकासा भएपछि तत्काल आठ किलोमिटरका लागि बोलपत्र खोलिने भएको छ । बाँकी रहेको दुई किलोमिटर दूरीमा जग्गाको मुआब्जा वितरणको कामसमेत सकिएको छैन ।

रेलमार्ग निर्माणको काम लामो समयदेखि रोकिएपछि साझेदारी कम्पनी र कामदारले समेत रकम नपाएको गुनासो गर्दै आएका थिए । कामदार, कर्मचारी तथा साझेदार कम्पनीको २७ करोड भारतीय रुपियाँ भुक्तानी बाँकी रहेको रकमसमेत काम सुरु भएसँगै भुक्तानी गरिने बताइएको छ । रेलमार्ग विस्तारका लागि नेपालका बागमती कन्स्ट्रक्सन, सनराइज कम्पनी, पीपी मण्डल कन्स्ट्रक्सन, पीएमडी इन्फ्रा प्रोजेक्ट, महालक्ष्मी कन्स्ट्रक्सन, शिवशक्ति कन्स्ट्रक्सनले काम गर्दै आएका छन् । परियोजनाको कुल लागत तीन अर्ब भारतीय रुपियाँ रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा मङ्गलबार आउनुभएका कतारका अमिर शेख …

प्रतिकृया दिनुहॊस