देवघाटधाम र चित्रसारीमा एकादशी मेला

भरतपुर । चितवनका विभिन्न क्षेत्रमा आज बिहानैदेखि एकदशी मेला लागेको छ । देवघाटधाम, पूर्वी चितवनको चित्रसारी, मझुई, माडीको सिधुवा, गोलाघाट, पटिहानीको सुन्दरबस्तीमा मेला लागेको हो ।

बिहानदेखि देवघाटधाममा स्नान गर्न आउने भक्तजनको भीड लागेको छ । बाँसको लिङ्गो गाडेर तोरन टाँगेपछि देवघाटमा मेला शुरु हुने देवघाट क्षेत्र विकास समितिका सदस्य नवराज ढकालले जानकारी दिए ।

उनले चितवन, नवलपरासी र तनहुँ जोड्ने गरी तोरन टाँगिएको बताए । देवघाटमा आउने भक्तजनलाई स्नानका लागि सुरक्षित ठाउँ निर्माण गरिएको उनको भनाइ छ । देवघाटमा लाग्ने मेलामध्ये एकादशी मेला पनि प्रमुख हो ।

यस्तै पूर्वी चितवनको चित्रसारीमा पनि एकादशी मेला लागेको छ । विशेषगरी थारू समुदायले परम्परागत रुपमा मनाउँदै आएको चित्रसारीमा बिहीबारदेखि नै मेला लागेको हो ।

मेलामा थारू समुदायसँग सम्बन्धित संस्कृति र परम्पराका वस्तुहरु राखिएको छ । पहिले थारू समुदायको मात्र सहभागिता रहने चित्रसारी मेलामा अहिले अन्य समुदायका मानिसको पनि भीड लाग्ने गरेको छ ।

यस्तै थारू समुदायको बाक्लो उपस्थिति रहेको पूर्वी चितवनको खैरहनी–७ मझुईको ब्रह्मथानमा पनि मेला लागेको छ ।

थारूहरुले मान्दै आएको ब्रह्मथान (मन्दिर) मा एकादशीको दिन पूजासँगै नाचगान गर्ने प्रचलन रहेको छ । ब्रह्मथानमा भाकल गरिने भएकाले प्रत्येक वर्ष ठूलो सङ्ख्यामा स्थानीयवासीको उपस्थिति रहने स्थानीयवासी दीपेन्द्र चौधरीले बताए ।

उनले भने, “एक वर्ष ब्रह्मथानमा पूजा र नाचगान नगरेका कारण गाउँमा महामारी फैलियो, त्यसपछि प्रत्येक वर्ष नियमित रुपमा पूजाआजा र नाचगान हुने गरेको छ ।” आजको दिन थारू युवाहरु व्रतसमेत बस्ने गरेका छन् ।

हरिबोधिनी एकादशी, भगवान् विष्णुको पूजा, आराधना, भजनकीर्तन र व्रत बसी मनाइने पर्व हो  । व्रतालुले आज पिँडालु, सक्खरखण्ड, बदामलगायत जमीनमुनि फलेका खाने कुरा खाने गर्दछन् ।

हरिबोधिनी एकादशीका दिन तुलसीको विवाह गर्ने चलन पनि छ । असार शुक्ल एकादशीमा रोपेको तुलसी रुपी लक्ष्मीको विवाह नारायणसँग भएकाले यस दिनलाई तुलसी विवाहका रुपमा पनि लिने गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रास्वपाबाट इलाम-२ मा मिलन लिम्बु उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ …

प्रतिकृया दिनुहॊस