आज पनि वर्षाको सम्भावना, यात्रामा अवरोध आउला ?

काठमाडौं । आज पनि देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । देशभर आंशिकदेखि सामान्यसम्म बदली रही थोरै(सीमित) स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखामा कार्यरत मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।

थोरै स्थानअन्तर्गत देशका जुनसुकै ठाउँ (पूर्वदेखि पश्चिमसम्म) पर्ने मौसमविद्को भनाइ छ। आज पनि आफ्ना मान्यजनकहाँ दसैंको टीका लगाउन विभिन्न ठाउँमा यात्रा गर्नुपर्ने भएकाले मौसमले कुनै अवरोध गर्ला किन नगर्ला भन्ने चिन्ता सर्वसाधारणलाई छ। यस विषयमा प्रश्न गर्दा मौसमविद् नगरकोटीले भनिन्, ‘खासै ठूलो र लामो समयको वर्षा हुने सम्भावना नरहेकाले यात्रामै अवरोध आउने अवस्था नरहला।’

आधा घण्टाभन्दा बढी समय र भारी खालको वर्षाको सम्भावना नरहेकाले त्यस्तो डराउनुपर्ने अवस्था नरहेको उनको भनाइ छ। यद्यपि मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेकाले सामान्य सतर्कता अपनाउन आग्रह गरेको छ।

‘खासगरी अपराह्नपछि पानी पर्ने सम्भावना छ,’ मौसमविद् नगरकोटीले भनिन्, ‘हल्कादेखि मध्यमसम्मको वर्षा हुने संकेत छ।’ यसैगरी काठमाडौं उपत्यकामा पनि साँझपख मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको उनले जानकारी दिइन्। उनका अनुसार अहिले (बुधबार बिहान) पूर्वी र मध्य क्षेत्र तथा पश्चिमको चाहिँ पहाडी भेगमा मात्र आंशिकदेखि सामान्यसम्म बदली छ भने मध्य र पश्चिमका तराई क्षेत्रमा समान्यतया मौसम सफा छ। यतिबेला कतै पानी परेको छैन।

उनका अनुसार आकाशमा आधाभन्दा कम बादल छ भने आंशिक, आधाभन्दा बढी बादल छ भने सामान्य र घाम पनि छिर्न नसक्ने गरी बादल लागेको छ भने पूर्ण बदली भनिन्छ।

आज (बुधबार) देखि पर्सि (शुक्रबार) सम्मको मौसमी अनुमान (मौसम पूर्वानुमान महाशाखा)
असोज २२ गते बुधवार
दिउँसो : देशभरि आंशिदेखि सामान्यसम्म बदली रही देशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानहरूमा साथै पश्चिमी पहाडका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

असोज २३ गते बिहीबार
दिउँसो : देशभरि आंशिकदेखि सामान्यसम्म बदली रही मध्य र पूर्वका थोरै स्थानहरूमा साथै पश्चिमी पहाडका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राति : देशको मध्य तथा पूर्वी क्षेत्रमा आंशिकदेखि सामान्यसम्म बदली साथै पश्चिमी क्षेत्रमा आंशिक बदली रहनेछ। पूर्वका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

असोज २४ गते शुक्रबार
दिउँसो : देशको पहाडी क्षेत्रमा आंशिकदेखि सामान्यसम्म बदली रही थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा आंशिक बदली रहनेछ।

राति : देशको पहाडी भेगमा आंशिक बदली र तराईमा सामान्यतया सफा रहनेछ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस