नोटको जतन गर्नुस् ! एक वर्षमै नष्ट भयो ७७ अर्बको नोट

काठमाडाैं । वर्षेनी राष्ट्र बैंकले दसैंतिहारका लागि भन्दै नयाँ नोट प्रचलनमा ल्याउँछ। चार्डपर्वबाहेक अन्य समयमा पनि नयाँ र सुकिला नोटहरू प्रचलनमा आउने गरेको छ । बैंकका अनुसार यस वर्षको दसैंतिहारमा मात्रै १३ अर्ब बढीको नयाँ नोट बजारमा आउने छ ।

त्यतिमात्रै होइन, तपाईंसँग पुराना झुत्रा नोट छन् भने जुनसुकै बेला बैंक तथा वित्तीय संस्था वा राष्ट्र बैंकमा गएर साट्न पाइन्छ । ती झुत्रा नोट फेरि चलनचल्तीमा आउँदैनन् । यस्ता नोट राष्ट्र बैंकले जलाएर नष्ट गर्छ । वर्षेनी राष्ट्र बैंकले नष्ट गर्ने नोटको रकम अत्याधिक दरमा बढ्दै गएको छ । गत आर्थिक वर्षमात्रै राष्ट्र बैंकले ७६ अर्ब ९५ करोड रुपैयाँको नोट जलाएर नष्ट गरेको छ । आर्थिक वर्ष २०७४/७५ मा ५६ अर्ब ४० करोड रुपैयाँ बराबरको झुत्रा नोट जलाइएकोमा ०७३/७४ मा २५ अर्ब ७५ करोड रुपैयाँ मूल्यको नोट जलाइएको थियो ।

विगत ६ आर्थिक वर्षमा कुल ४ खर्ब ९४ अर्ब रुपैयाँको नोट जलाएर नष्ट गरिएको छ । यो तथ्यांकले के देखाउँछ भने हामी नोट प्रयोगको मामिलामा गैरजिम्मेवार छौं । हामी धनलाई लक्ष्मी मानेर पूजा त गर्छौं, तर लक्ष्मी स्याहार्नमा ध्यान दिँदैनौं । नोट कसरी प्रयोग हुन्छ भन्नेले कति छिटो झुत्रिन्छ भन्ने निर्धारण गर्छ । खल्तीमा नोट राख्दा सावधानी नअपनाउने र कच्याककुचुक पारेर राख्ने प्रवृत्ति छँदैछ । सानातिना हरेक खरिदबिक्रीमा नोट प्रयोग हुँदा धूलोमैलो, चिल्लो र फोहोर लाग्ने गर्छ। यसले नोटको आयू स्वतः कम हुन्छ ।

धनलाई लक्ष्मी मानेर पूजा गर्दा नोटमा सिधै अबिर/केसरी लत्पत्याउने चलनले पनि हाम्रा नोट बढी झुत्रिन्छन् । पछिल्लो समय राष्ट्र बैंकबाट छापिएका नोटको गुणस्तर कम हुनुले पनि छिटो झुत्रिएको हो कि भन्ने शंका छ । राष्ट्र बैंकका अधिकारी भने नोटको गुणस्तरभन्दा लापरबाहीपूर्वक प्रयोग गरिनुले नै झुत्रिने क्रम बढ्दै गएको दाबी गर्छन् । भौतिक रूपमा कागजी नोट लेनदेन गर्ने प्रचलनले हिफाजतमा असर परेको मुद्रा व्यवस्थापन विभाग प्रमुख तथा प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उच्च बिन्दुमा सुनको मूल्य, १ लाख ३९ हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य स्थिर छ भने चाँदीको भाउ घटेको छ …

प्रतिकृया दिनुहॊस