ग्रानाडाविरुद्ध रियालको सहज जित, शीर्षस्थानमा यथावत

काठमाडाैं । स्पेनिस लालिगा फुटबलमा रियाल मड्रिडले ग्रानाडामाथि ४–२ को जित हात पारेको छ। शनिबार साँझ घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियाललाई जित दिलाउन करिम बेन्जामा, इडेन हाजार्ड, लुका मोड्रिच र जेम्स रोड्रिगेजले १–१ गोल गरे।

रियालले खेलको दोस्रो मिनेटमा नै बेन्जामाको गोलमा अग्रता लिएको थियो। उनले ग्यारेथ बेलको उत्कृष्ट पासमा गोल गरेका हुन्। पहिलो हाफको अतिरिक्त समयमा हाजार्डले रियालको अग्रतालाई दोब्बर बनाए। रियालका लागि पहिलो गोल गरेका उनलाई भल्भर्डेले गोलको अवसर सिर्जना गरिदिएका थिए।

जिनेदिन जिदान नेतृत्वको रियालले मध्यान्तरपछि पनि खेल आफ्नो नियन्त्रणमा राख्यो। रियालका लागि मिडफिल्डर मोड्रिचले ६१ औं मिनेटमा उत्कृष्ट गोल गरे र टोलीलाई ३–० को अग्रता दिला। उनले हाजार्डको पासमा गोल गरेका हुन्।

रियालसँग ३–० ले पछि परेको ग्रानाडाले त्यसपछि खेलमा फर्कने प्रयास गुर्‍यो। ग्रानाडाका ड्रविन म्याचिसले पेनाल्टीमार्फत गोल गर्दै आफ्नो टोलीलाई ३–१ को स्थितिमा पुर्‍याए। रियालका एरिओलाले विपक्षी खेलाडी कार्लोज फर्नान्डेजलाई लडाएपछि ग्रानाडाले पेनाल्टीको अवसर पाएको थियो, जसलाई म्याचिसले सदुपयोग गरे।

त्यसको ९ मिनेटपछि ग्रानाडाका लागि डुआरतले गोल गर्दै गोल अन्तर ३–२ मा झारे। तर, ग्रानाडाका लागि कम्ब्याक गर्ने उक्त गोल पर्‍याप्त भएन। खेलको ८३ मिनेटमा ग्यारेथ बेलको स्थानमा मैदान छिरेका रोड्रिगेजले अतिरिक्त समयको दोस्रो (९२) मिनेटमा गोल गर्दै रियाललाई ४–२ को जित दिलाए।

उक्त जितसँगै रियालले लिगमा शीर्षस्थान कायम राखेको छ। जारी सिजनमा ८ खेलबाट रियालले १८ अङ्क जोडेको छ। समान खेलबाट १४ अङ्क जोडेको ग्रानाडा दोस्रो स्थानमा छ।

यस जितले रियालका प्रशिक्षक जिनेदिन जिदानलाई पनि राहत दिलाएको छ। च्याम्पियन्स लिगमा उनको नेतृत्वमा खराब प्रदर्शन गरेको रियालले लालिगामा सुधारोन्मुख प्रदर्शन जारी राखेको छ। सुरुवाती चरणमा रियालले अपेक्षाकृत प्रदर्शन गर्न नसकेपछि जिदानको आलोचना सुरु भएको थियो।

गएराति भएको अन्य खेलमा भ्यालेन्सियाले अल्भासलाई र ओसासुनाले भिलारियललाई समान २–१ गोल अन्तरले पराजित गरेका छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसिसी प्रिमियर कपमा नेपालको लगातार चौथो जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित दर्ता गरेको छ । …

प्रतिकृया दिनुहॊस