भव्य भयो इलाम साहित्य महोत्सव 

इलाम । इलाम साहित्य समाजले सिर्जनशील अराजकता आन्दोलनका अभियन्ता साहित्यकार हाङयुग अज्ञातलाई सद्भावनादुत चयन गरेसंगै यस वर्षको इलाम साहित्य महोत्सव भव्यताका साथ सम्पन्न भएको छ।  दुई दिन आयोजना गरिएको महोत्सवमा रोल्पा, काठमाडौँ, चितवनलगायत टाढाटाढाबाट आएका विष्णु सन्न्यास, नविन प्यासी, विवस बाबु, बच्चु हिमांशुलगायत तीन दर्जन कवि तथा गजलकारहरु प्रस्तुत भएका थिए।

कार्यक्रमको सुरुवात गायक अशोक मुकारुङद्वारा ‘इलामे शहर चियाबारी राम्रो’ गीत गाएर गरिएको थियो । सोही क्रममा बैरागी काइँलाका सङ्कलित कविताहरुको किताबपनि विमोचन गरिएको थियो । कविहरु श्रवण मुकारुङ र भूपाल राईले उक्त किताब सार्वजनिक गरेका थिए ।

प्राध्यापक डा. सञ्जीव उप्रेतीको आलोचनात्मक चेत र लोकतन्त्र शीर्षकको समसामयिक मञ्तव्यसहित अघि बढेको साहित्य महोत्सवमा इलाम, चलचित्र, राजनीति, समाज, सङ्गीत र साहित्यसंग सम्बन्धित एक दर्जन सान्दर्भिक विषयहरुमा बहस संचालन गरिएको थियो।

कार्यक्रममा तय भएको राजनीतिक बहसमा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा र लेखक खगेन्द्र संग्रौलासंग पत्रकार बसन्त बस्नेतले गरेको कुराकानीमा नेपालको वर्तमान राजनीतिक परिदृश्यलाई प्रतिपक्षीय कोणबाट विश्लेषण गरिएको थियो। शर्मा र संग्रौलाको साझा धारणा थियो ‘गणतन्त्रलाई खतरा भएमा गणतन्त्र ल्याउने दलबाटनै छ, अरुबाट छैन।’ सरकारप्रति आलोचनात्मक रुपमा प्रस्तुत भएका दुवैले गणतन्त्रमाथि खतराको सङ्केत गरेर सरकारले नागरिक अधिकारमाथि प्रहार गर्ने नियत राखेको निचोड निकाले ।

सत्ता कि प्रतिपक्ष भन्ने विषयको बहसमाथि बोल्दै श्रवण मुकारुङ, मोमिला जोशी र मनु मञ्जिलले साहित्य प्रतिपक्ष भएको साझा धारणा व्यक्त गरे । कवि विमल वैद्यले उक्त बहसको सहजीकरण गरेका थिए। मानकमाथि प्रश्न शीर्षकमा राजन मुकारुङ, मिश्र वैजयन्ती र उज्ज्वल प्रसाईंसंग महेश पौडेलले बहस गरेका थिए।

कवि, पत्रकार गणेशकुमार राईले नेपाली साहित्यमा मुन्धुम/मुन्दुम विषयमा भूपाल राई र धर्मेन्द्र नेम्बाङसंग बहस गरे । कवि मुनाराज शेर्माले पछिल्ला साहित्यिक आन्दोलनका बारेमा उन्मुक्त पुस्ता, फरक आयाम र कुकुर कवितासंग बहस चलाए।

अधिकारको पेवा शीर्षकमा पत्रकार समीरबाबु कट्टेलले जेबी विश्वकर्मा, सीमा आभास र कृष्ण धरावासीसंग बहस गरेका थिए। आख्यान किन बिकेन भन्ने विषयमा बालिका थपलियाले प्रेम ओझा, प्रकाश बुढाथोकी र बीना थिङसंग बहस गरिन् ।

चलचित्रवृत्तको करोड क्लब र अफवाहका विषयमा अन्वेश थुलुङ राईले दयाहाङ राई, अनुप सुवेदी र ब्रजेशसंग बहस गरे।  सिनेमा र सन्देशको विषयमा प्राज्ञ हरिहर शर्मा र प्रकाश आङ्देम्बे बहसमा उत्रिएका  थिए ।

गीतको दुःखका बारेमा कोमल निरौला र गुरुङ सुशान्तसंग युविर चेम्जोङले बहस गरे । इलामका मूख्य पहिचानमध्ये अलैंची, अदुवा, आलु, ओलन, अकबरेसहितका ‘अ’ले इलामलाई अवरोध गर्दैछकि उन्नतिको पथमा अघि बढाउँदैछ भन्ने सन्दर्भमा लेखक, पत्रकार केदार शर्माले यूद्धप्रसाद वैद्य, महेश बस्नेत र राजेन्द्र बरालसंग बहस गरेका थिए ।

पर्यटनको आयाममाथि इलामका अग्रज पत्रकार धर्म गौतमको सहजीकरणमा हरिश्चन्द्र राई, केशव धौराली, डा.देवी क्षेत्री दुलाल र चन्द्र घिमिरेको बहस थियो।  निर्माणको जिम्मामाथि गरिएको बहसमा सुरेश नेम्बाङ, रवि सिंह र दीपक गौतमलाई सन्तोष नेम्बाङले सहजीकरण गरेका थिए ।

महोत्सवको समापनमा आयोजकलाई बधाई दिँदै नेकपाका नेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले वर्तमान सरकार सकारात्मक दिशातर्फ उन्मुख रहेको बताए । इलाम साहित्य महोत्सवका संयोजक प्रकाश थाम्सुहाङले महोत्सवको विषयमा बोल्दै इलाम साहित्य समाजले स्थानीय तह, प्रदेश सरकार, पर्यटन बोर्ड, नेपाल प्रज्ञा प्रतिष्ठानजस्ता संस्थासंगको सहकार्यमा कार्यक्रम आयोजना गरेको बताए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कविता : बादल लागेपछि

(२०७८ सालमा पार्टी फुटकाे प्रभाव)

प्रतिकृया दिनुहॊस