विदेशको दुःख सम्झेर स्वदेशमा आफ्नै व्यवसाय

सुरुङ्गा । वैदेशिक रोजगारीमा गएका अधिकांश व्यक्तिले स्वदेश फर्किए पछि पशुपालन व्यवसाय गर्ने गरेको पाइएको छ । जिल्लाका अधिकांश ठाउँमा खोलिएका पशु फार्म सञ्चालकमध्ये धेरैजसोले वैदेशिक रोजगारीबाट फर्किए विदेशको दुःख सम्झेर आफ्नै व्यवसाय थालेको बताएका छन् ।

अर्जुनधारा नगरपालिका–१० सेतीपानीका दिव्यराज खतिवडा १० वर्षसम्म वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्स (युएई) र मलेसिया बसे । विदेशमा बस्दा पनि भनेजस्तो कमाई नभएपछि अहिले उनले घरमै कुखुरा फार्म सञ्चालन गरेका छन् । योसँगै उनले उन्नतजातका बाख्रा पनि पाल्न थालेका छन् । रु २० लाख लगानी गरी गत वर्षदेखि उनले कुखुरा र बाख्रापालन गर्दै आएको बताए । उनको फार्ममा अहिले ९७० कुखुरा छन् । लेयर्सजातका कुखुरा पालेका खतिवडाले अहिले सोही व्यवसायबाट मनग्य आम्दानी गरिरहेका छन् । कुखुरासँगै उनले २० उन्नतजात (जमुनापारी, बोयर) का बाख्रा पालेका छन् ।

कुखुरापालन र बाख्रापालन व्यवसायबाटै खतिवडाले गाउँमा मनग्य आम्दानी गरेपछि अहिले सेतीपानीमा अधिकांशले उन्नतजातका बाख्रा र कुखुरा पाल्न सुरु गरेका छन् । श्रीमती भावनाको नाममा फार्म सञ्चालन गरी उनले व्यवसाय थालेका हुन् । विदेशको भन्दा राम्रो आम्दानी हुन थालेपछि खतिवडा परिवार अहिले फुरुङ्ग छ । “खतिवडा परिवारकै प्रगति देखेर मैले नि व्यवसाय सुरु गरेको छु”, छिमेकी खगेन्द्रप्रसाद खरेलले भने । उनले २२ माउ उन्नतजातका बाख्रा पालेका छन् । “पहिला बाख्रा पाल्न नजानेर रहेछ, गाउँघरका लोकल बाख्रा पालिन्थ्यो, जति हेरचाह गरे पनि खासै फाइदा हुँदैन थियो । अहिले उन्नतजातका थोरै बाख्रा पाले पनि मनग्य आम्दानी भएको छ”, उनले भने ।

यस्तै बाह्रदशी गाउँपालिका–५ का दिनेश थापाले विदेशबाट फर्किएर अहिले पशुपालन गरिरहेका छन् । उनले उन्नतजातका १०० गाई र १०० स्थानीय जातका बाख्रा पालेका छन् । उनको पशु फार्म प्रदेश नं १ कै ठूलो मानिन्छ । उनले मात्र होइन, झापा गाउँपालिकाको शरणामतिका सूर्य भण्डारीले पनि अहिले कुखुरापालन व्यवसाय सञ्चालन गरेका छन् । “दैनिक एक हजार अण्डा उत्पादन हुन्छ”, भण्डारीले भने । उनी पनि वैदेशिक रोगजारीको सिलसिलामा पाँच वर्षअघि साउदी अरब पुगेका थिए । “भेँडा चराउन लगाएपछि म एक महीनामै घर फर्के”, उनले भने ।

स्वदेश फर्किए लगत्तै कुखुरापालन व्यवसाय सञ्चालन गरेका भण्डारीले अहिले मासिक रु एक लाख घरमै बसेर आम्दानी गरिरहेका छन् ।
कृषि र पशुपालनलाई व्यवस्थित गरी पशुधनको उत्पादन बढाउने सरकारको लक्ष्य छ । सरकारले पशुपालक कृषकलाई अनुदान दिन थालेपछि अधिकांश युवा अहिले पशुपालनतर्फ आकर्षित भएका छन् ।

विदेशबाट फर्किएका युवाले पशुपालन व्यवसाय सञ्चालन गर्दै आएका छन् । विदेशबाट फर्किएर पशुपालन व्यवसाय सञ्चालन गर्ने उनीहरु प्रतिनिधि पात्र मात्रै हुन् । उनी जस्ता धेरैले अहिले विदेशबाट फर्किएर पशुपालन व्यवसायमा हात हालेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस