बाख्रा पालनले फेरिएको जीवन

सुरुङ्गा । झापाको अर्जुनधारा नगरपालिका–९ खरबन्दीकी सरस्वती पौडेलको दैनिकी हिजोआज घरधन्दा र मेलापातमा मात्र सीमित छैन । छिमेकमा निमेक गरेर गुजारा चलाउँदै आएकी सरस्वतीको अहिले परिचय नै फेरिएको छ । दुई वर्षदेखि बाख्रापालन व्यवसाय शुरु गरेसँगै उनको परिचय पनि फेरिएको हो ।

‘जति दुःख गर्दा पनि खानै पुग्दैन थियो,’ उनले भनिन्, ‘बाख्रापालन व्यवसाय शुरु गरेसँगै परिवार धान्न मात्र सहज भएको छैन छरछिमेकमा आपत पर्दा सहयोग गर्न पनि खाँचो हुँदैन ।’

विगत सम्झँदै सरस्वतीले भनिन्, ‘घर खर्च चलाउन मुस्किल भएको बेला बनिबुतो नगरी धरै थिएन, म गाउँमा मजदुरी गर्थे भने श्रीमान् केशव पौडेल अरुको पसलमा काम गर्नुहुन्थ्यो, महिना दिन खाइनखाई ड्युटी गर्‍यो, महिना मर्दा साहुले आधा महिनाको मात्रै तलब दिन्थे ।’

सहकारीबाट ऋण लिएको पैसामध्ये रु चार हजार ५०० का दुई बाख्राका पाठी किनेर बाख्रा पाल्न शुरु गरेकी सरस्वतीको अहिले खोरभरि बाख्रा छन् । बाख्रासँगै उनले गाई पनि पालेकी छन् । ‘ऋण खान पाइन्छ भन्ने आसमा विसं २०७० असोजमा सहारा नेपाल सहकारी संस्थाको नमूना महिला कृषक समूहमा आबद्ध भएँ,’ सरस्वतीले भनिन्, ‘त्यो समूहको उपसमूहमा आबद्ध भएको दिन मेरा लागि साँच्चै खुशीको दिन थियो, किनकि सहकारीबाट ऋण लिएर मैले पनि केही गर्नु थियो ।’

सहकारीबाट रु तीन लाख आँट गरेर ऋण लिएको उनी सम्झिन्छिन् । उनले भनिन्, ‘बाख्रा राख्ने खोर बनाउन र मिस्त्रीको ज्याला मात्रै रु एक लाख लाग्यो, बचेको पैसाले आफू बस्ने घर र बाख्रालाई खानेकुराको बन्दोबस्त मिलाउन छुट्याएँ, जुन आँटका कारण म अहिले यो ठाउँमा छु ।’ सरस्वतीले बाख्राका लागि सहकारीबाटै उन्नतजातको घासको बीउ पनि प्राप्त गरेकी छन् ।

सरस्वतीका घरमा पालिएका सबै बाख्राको बिमा पनि गरिएको छ । किनकि बिमा गरिएका सबै बाख्राको रेखदेखका लागि सहकारीले नै कर्मचारी राखेर निःशुल्क हेरचार गर्दै आएको छ । आफ्ना शेयर सदस्यको जीवनस्तर माथि उठाउन सहकारीले बिनाधितो ऋण र पशुपालक कृषकका लागि प्राविधिकसमेत निःशुल्क उपलब्ध गराएपछि अर्जुनधारा–९ की सरस्वती मात्र होइन, नगरपालिकाभित्र झण्डै २०० बढी महिलाले व्यावसायिकरूपमा बाख्रापालन गर्दै आएका सहकारीका पशु प्राविधिक सिर्जना आचार्यले बताइन् ।

‘यो क्षेत्र पशुपालनका लागि उत्तम ठाउँ रहेछ, पहिचान गरेरै यस ठाउँमा बाख्रा र कुखुरापालनका लागि सहकारीले योजना अघि बढाएको हो,’ उनले भनिन्, ‘अहिले यस क्षेत्रका अधिकांश महिला उद्यमी भएका छन्, हिजोसम्म अरुकहाँ मजदुरी गर्ने माहिला अहिले आफैँ उद्यमी बनेर घर चलाएका छन् ।’

कोही विदेशबाट फर्किएर पशुपालन गरिरहेका छन् त कोही रोजगारीको अन्य विकल्प नभएर यो पेशामा आबद्ध छन् ।

पाँच वर्षभित्र बाख्रापालन व्यवसायबाटै रु एक करोड बढी आम्दानी लिने सोचका साथ सरस्वतीले अहिले स्थानीयसहित उन्नतजातका बाख्रापालन गरिरहेकी छन् । सरस्वतीले अहिले समूहमा आबद्ध अरु महिलालाई पनि समूहमै बाख्रापालनसम्बन्धी तालिम प्रदान गर्दै आएकी छन् ।

वडा नं ९ मा अहिले उनकै अग्रसरतामा किसान पाठशालासमेत सञ्चालनमा छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बदली र वर्षा कायमै, थाहा पाउनुहोस् तीन दिनको पूर्वानुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु …

प्रतिकृया दिनुहॊस