गोरखाको पन्द्रुङमा एक घर एक धारा

गोरखा । बारपाक सुलीकोट गाउँपालिका–८ पन्द्रुङका ६३ घरधुरीमा ‘एक घर एक धारा’ पुगेको छ । गत माघमा सुरु भएको ‘रिठ्ठेपानी खानेपानी आयोजना’ निर्माण सम्पन्न भएसँगै शनिबारदेखि सबै घरमा एक घर, एक धारा पुगेको वडाध्यक्ष कृष्णबहादुर गुरुङले जानकारी दिए।  ‘यहाँ खानेपानीको अत्यन्तै अभाव हुँदै आएको थियो,’ वडाध्यक्ष गुरुङले भने, ‘एक गाग्री पानी लिन आधा घण्टा लगाएर तिरतिरेखोलामा धाउनुपर्ने बाध्यता रहँदै आएको थियो, आयोजना निर्माण सम्पन्न भएसँगै यहाँका समुदायमा रहेको खानेपानीको समस्या समाधान भएको छ ।’

आयोजना निर्माणका लागि गाउँपालिकाले पाँच लाख, स्वाँरासघन गाउँ विकास केन्द्रले १७ लाख र बाँकी रकम उपभोक्ताबाट प्रतिघर १३ हजार रुपैयाँका दरले सङ्कलन गरिएको उनले बताए।  त्यस्तै, उपभोक्ता समितिले आयोजना निर्माणका लागि जनश्रमदानसमेत गरेका थिए । ‘आयोजना निर्माण शुरु भएदेखि नै उपभोक्ताहरुले प्रत्येक घरधुरीबाट ३३ दिनसम्म जनश्रमदान गरेका गरे,’ वडाध्यक्ष गुरुङले भने, ‘पाइपलाइन खन्ने, धारा बनाउने कामदेखि लिएर ढुङ्गा, गिट्टी, बालुवा बोक्नेसम्मको काम उपभोक्ताले गरेका छन्, यहाँका उपभोक्ताकोे अथक मेहेनतबाट घरघरमा पानीको धारा पुगेको हो ।’

रिठ्ठेपानीको मुहानबाट तीन ट्याङ्की निर्माण गरी उपभोक्ताको घरघरमा पानी वितरण गरिएको वडाध्यक्ष गुरुङले बताए। निर्माण सुरु भएको सात महिनाको अवधिमा आयोजना निर्माणको काम सम्पन्न भएको उनको भनाइ छ । आयोजना निर्माण नहुँदा कतिले नजिकै खोलाबाट पाइप गाडेर ल्याएका धाराको पानी प्रयोग गर्दै आएका थिए ।  आयोजना निर्माण सम्पन्न भएसँगै खोलामा पुगेर डोकोमा पानी  बोकेर ल्याउनुपर्ने बाध्यता हटेको रिठ्ठेपानी खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष सोमप्रसाद पनेरुले बताए। उनले भने, ‘सबै उपभोक्ता खुशी भएका छन्, घरघरमा पानीको धारा छ, स्वच्छ खानेपानीको सुविधा छ, पानीका लागि टाढासम्म धाउनुपर्ने बाध्यता पनि हटेको छ ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण

काठमाडौं । आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत पहिलो दिनको परीक्षा देशभर शान्तिपूर्ण …

प्रतिकृया दिनुहॊस