काठमाडौंसम्मै पेट्रोलियम पाइपलाइन : सम्भाव्यता अध्ययन अगाडि बढ्याे  

काठमाडौं । निर्माणाधीन काठमाडौं–निजगढ द्रुतमार्गमा समेत पेट्रोलियम पाइपलाइन बिछ्याउनेबारे अध्ययन अगाडि बढाइएको छ ।

अमलेखगञ्जसम्म आइपुगेको पाइपलाइनलाई निर्माणाधीन द्रुतमार्ग हुँदै काठमाडौंसम्म ल्याउने सम्भावनाको अध्ययन शुरू भएको हो । त्यसको अध्ययनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रक्रिया अगाडि बढाइसकेको छ ।

मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले स्थलगत सम्भाव्यता अध्ययन गर्ने मागसहित रक्षा मन्त्रालयमा पत्र पठाइसकिएको जानकारी दिए । २ हप्ताअघि पठाइएको पत्रको अहिलेसम्म कुनै जवाफ भने आइनसकेको उनको भनाइ छ ।

रक्षा मन्त्रालयको सकरात्मक जवाफ आउने वित्तिकै दु्रतमार्गमा सम्भाव्यता अध्ययनका लागि प्रक्रिया अगाडि बढाइने उनले बताए । रक्षा मन्त्रालयका प्रवक्ता बाबुराम गौतमले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पत्र रक्षा मन्त्रालयमा आएको पुष्टि गरे । द्रुतमार्गमा पेट्रोलियम पाइप बिछ्याउन सम्भव छ छैन भन्ने यकिन छैन ।

पाइप राख्न आयोजनाको कुल लागत, समयावधि, कति ठाउँमा थप पुल बनाउनुपर्छ लगायतको विषयमा अध्ययनपछि मात्र स्पष्ट हुन सक्ने सचिव अधिकारीले बताए । पाइपलाइन बिछ्याउन सम्भव भएमा सम्पूर्ण लगानी नेपाल आयल निगमले गर्ने बताइएको छ ।

प्रवक्ता गौतमले प्राप्त पत्रको अध्ययन भइरहेको जानकारीसमेत दिए । उनका अनुसार यसबारे नेपाली सेनाको समेत राय बुझ्न सेनालाई पत्राचार गरिएको छ । दु्रतमार्ग निर्माणको जिम्मा सेनाले पाएको हुनाले उसको राय माग गरिएको हो ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

घट्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा नयाँ कीर्तिमान बनाएको सुनको मूल्य आज (बिहीबार) घटेको छ । बुधबार …

प्रतिकृया दिनुहॊस