नेपालमा क्लिन फिड लागू होला ?

आनन्द श्रेष्ठ

गत असार ९ गते २४ घण्टा नेपालमा बिदेशी टेलिभिजन च्यानल बन्द भएपछि क्लिन फिडको चर्चा हरेक घरमा हुदैछ । केवल टेलिभिजन व्यवसायीले सरकारले लागु गर्न लागेको क्लिन फिड नितीको बिरोधमा बिदेशी च्यानल बन्द गरे । यसको प्रत्यक्ष असर हरेक घरमा पर्न थालेपछि पक्ष र बिपक्षमा सरकार, व्यवसायी तथा उपभोक्ताहरु आआफ्नो धारणा सार्वजनिक गर्दैछन् । नेपाली दर्शकले हेर्ने अधिकांश टेलिभिजन च्यानलहरु बिदेशी छन् । बिदेशीमा पनि ९५ प्रतिशत भन्दा बढी भारतिय टेलिभिजन च्यानल पर्छन् ।

सबैजसो टेलिभिजन कार्यक्रममा बिदेशी भाषा, कलाकार तथा संस्कृतिमा आधारित बिज्ञापनहरु प्रसारण हुन्छन् । यसरी प्रशारण भईरहेको विदेशी च्यानलका विज्ञापन हेर्नुपर्ने नेपाली दर्शकको वाध्यता छ । मन नभई नभई बाध्यताबश बिदेशी उत्पादनका प्रचार हेर्न पनि अहिले नेपाली उपभोक्ताले केवल सेवाप्रदायकलाई शुल्क भुक्तानी गर्नुपर्ने अवस्था छ ।

नेपाली ग्राहकले औषतमा मासिक ४ सय रुपैयाँ केबल सेवा प्रदायकलाई भुक्तानी गर्छन् । विदेशी च्यालनको शुल्क तिरेर नेपालमा प्रशारण गर्ने केबल वितरकहरु नेपाली च्यानलबाट भने उल्टो प्रशारण गरेबापत शुल्क तिर्नुपर्ने टेलिभिजन सञ्चालकहरु बताउछन् ।

के हो क्लिन फिड ?
बिदेशी च्यानलबाट प्रशारण हुने कुनैपनि सामग्रीमा विज्ञापन राख्न नहुने प्रक्रियालाई क्लिन फिड भनिन्छ । बिश्वव्यापी अभ्यास हेर्दा कुनैपनि देशमा प्रशारणका लागि डाउनलिंक अनुमति लिएका बिदेशी च्यानलहरु स–शुल्क (‘पे च्यानल’) र निःशुल्क (‘फ्रि टु एयर’) गरि दुई किसिमका हुन्छन् ।

नेपालमा प्रशारण अनुमति लिएका १ सयभन्दा बढी बिदेशी च्यानल पे च्यानल हुन् । त्यस्ता बिदेशी च्यानलको प्रशारण घरघरमा उपलब्ध हुदै आएको छ । अन्तर्राष्ट्रिय प्रचलन अनुसार यस्ता पे च्यानलले आफ्ना कार्यक्रमहरु विज्ञापनरहित प्रशारण गर्नुपर्ने व्यवस्था नै ‘क्लिन फिड’ हो । क्लिन फिड सम्बन्धीत देशको नीति र कानुनले व्यवस्थित गर्नुपर्ने हुन्छ । तर, नेपालमा नीति अभावका कारण विदेशी च्यानलले निर्बाधरुपमा विज्ञापन प्रशारण गर्दै आईरहेका छन् ।

नेपालमा प्रशारण हुने विदेशी च्यानललाई क्लिन फिड बनाएर स्वदेशी टेलिभिजन र विज्ञापन बजारलाई विस्तार गर्ने सरकारको उद्देश्य अनुरुप भर्खरैमात्र क्लिन फिड नीति ल्याउने तयारी गरेको हो । टेलिभिजन प्रसारणमा ‘क्लिन फिड’ नीतिको प्रसङ्ग १२ वर्ष अघिदेखि चर्चा हुँदै आएको हो ।

२०७३ मा कार्यान्वयन गर्ने तहमा पुगे पनि भारतीय च्यानल र केबल प्रदायकहरूको स्वार्थ र दबाबले रोकिएको थियो । बिभिन्न कारणले लागू हुन नसकेको ‘क्लिन फिड’लाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले यो पटक भने जसरी भएपनि कार्यान्वयन गरेर छाड्ने प्रतिवद्दता व्यक्त गरेका छन् ।

यसकारण क्लिन फिड
विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफा ६९१० अनुसार ‘नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरू नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि विज्ञापनरहित क्लिन फिड प्रसारण गर्नुपर्ने छ’ उल्लेख छ । सोही दफाको उफदफा २ मा विदेशी विज्ञापनलाई नेपालका सञ्चारमाध्यममा डबिङ गरी प्रसारण गर्न नपाइने उल्लेख गरिएको छ ।

प्रस्तावित व्यवस्था कार्यान्वयनमा आए अहिलेको विज्ञापन बजार दोब्बर बढ्ने विज्ञापन व्यवसायीहरु बताउछन् । बिज्ञापन व्यवसायी संघका अनुसार अहिले नेपालको विज्ञापन बजार करिब आठ अर्बको छ । क्लिन फिड कार्यान्वयनमा आएपछि स्वदेशी कलाकारदेखि प्राविधिकसम्मको रोजगारी बढ्छ । त्यति मात्र नभई सरकारी राजस्वमा पनि वृद्दि हुन्छ ।

विदेशी विज्ञापन बन्द भएपछि बहुराष्ट्रिय कम्पनीले नेपालमै नेपाली बजार सुहाउँदो विज्ञापन बनाउनुपर्ने हुन्छ । जसले गर्दा आन्तरिक स्रोत प्रयोग हुन्छ । नेपाली भाषामा डबिङ गरेर प्रसारण गरिएका विज्ञापनको बजार अहिले करिब एक अर्ब रुपियाँको हाराहारीमा रहेको व्यवसायीहरु बताउँछन् ।

कोक, पेप्सीजस्ता कैयौँ बहुराष्ट्रिय उत्पादन नेपाली बजारमा ठुलो माग र खपत छ । विदेशबाट आयात हुने मात्रै नभएर नेपालमै उत्पादन भइरहेका बहुराष्ट्रिय कम्पनीका उत्पादनको नेपालमा विज्ञापन गर्न पनि भारतीय टेलिभिजन च्यानल प्रयोग भइरहेका छन् । यसले गर्दा विज्ञापनदाता सकेसम्म नेपाली टिभी च्यानलमा विज्ञापन गर्न हिचकिचाउँछन् ।

विज्ञापनका लागि यहाँ खर्च गर्ने रकम विदेशी च्यानलमा लगाउँछन् । क्लिन फिडपछि भारतका अमिताभ बच्चन, आमिर खान, सलमान खान, करिना कपुर, केट्रिना केफ, दिपिका पादुकोणले खेल्ने उत्पादनको बिज्ञापनमा राजेश हमाल, मह जोडि, अनमोल केसी, प्रियंका कार्की, बर्षा शिवाकोटी, केकी अधिकारीलगायत देख्न पाउँछौ ।

के भन्छन् केवल व्यवसायीहरु ?
टेलिभिजन वितरकहरू भने नेपालमा प्रसारण हुने च्यानलमध्ये ९५ प्रतिशत च्यानल विदेशी रहेकाले क्लिन फिड लागू गर्न समस्या हुने र नेपाली च्यानलकै भरमा विज्ञापनको बजार विस्तार हुने आधार नभएको बताउँछन् ।

विदेशी च्यानलमध्ये पनि अधिकांश भारतीय च्यानल रहेको र भारतीय प्रसारकहरूले क्लिन फिड लागू भए च्यानल प्रसारण गर्न नसकिने भनिसकेको अवस्थामा यो लागू गर्न समस्या हुनसक्ने नेपाल केबल टेलिभिजन व्यवसायीहरुले बताउदै आएका छन् ।

क्लिन फिड लागू भएर विदेशी च्यानल प्रसारण हुन नसकेमा उपभोक्ताले थोरै च्यानलका लागि धेरै पैसा खर्च सक्दैनन् । वितरकहरूले पनि क्लिन फिड च्यानलका लागि धेरै रकम भुक्तानी गर्नुपर्ने बताउँदै आएका छन् ।

धेरै देशमा भारतीय च्यानल क्लिन फिडमै
दक्षिण एसियाबाहेक भारतीय च्यानलको मुख्य बजार अमेरिका, बेलायत, मध्यपूर्व, अफ्रिका, अस्टेलिया, न्युजिल्याण्ड र सिंगापुर समेत हुन् । ती देशहरुमा भारतीय च्यानलहरु क्लिन फिड सहित उपलब्ध छ । ती देशमा भारतीय टेलिभिजन च्यानलको आम्दानी विज्ञापनमा भन्दा ग्राहक शूल्कबाट बढी हुन्छ ।

भारतबाट अपलिंक हुने ती च्यानलहरु सम्बन्धित देशका स्थानीय केबल, आइपीटीभी र डिटिएचमार्फत वितरण हुँदै आएका छन् । धेरै मुलुकले विदेशी च्यानलमा विज्ञापन बजाउन दिँदैनन् । त्यस्ता देशको प्रशारण कानूनले स्थानीय टेलिभिजन उद्योगलाई संरक्षण गर्न बिदेशी च्यानलहरु क्लिन फिड हुनुपर्ने प्रावधान राखेका हुन्छन् ।

यस्तो व्यवस्था कार्यान्वयन गर्न क्यानडामा ‘क्यानडियन रेडियो टेलिभिजन तथा टेलिकम्युनिकेशन कमिसन’ (सीआरटीसी), बेलायतमा अफकम, अमेरिकामा ‘फेडरल कम्युनिकेशन कमिसन’ (एफसीसी) जस्ता निकायहरु छन् ।

यसकारण भारतीय च्यानलको बिरोध
नेपाली टेलिभिजनमा प्रशारण हुने भारतीय च्यानलहरु नेपाली केबुलहरुले डाइरेक्ट अपलिंक गर्ने भएकाले यी च्यानलहरु नेपालमा ‘रियल टाइम’ मै प्रसारण हुन्छन् । ती च्यानलमा बज्ने भारतीय कम्पनीका विज्ञापन निर्वाधरुपमा नेपाली दर्शकसम्म पुग्छ ।

त्यसैले ती कम्पनीले नेपालका लागि छुट्टै विज्ञापन बनाउनुपर्दैन । जसले गर्दा ती कम्पनीहरुको बिज्ञापन बनाउने ठूलो धनराशी जोगिन्छ । तर, यसबाट नेपालको विज्ञापन बजार, नेपाली विज्ञापन एजेन्सी र सञ्चारमाध्यमले वार्षिक अर्बौं रुपैयाँको विज्ञापन गुमाइरहेका छन् ।

नेपालका लागि छुट्टै सामग्री उत्पादन गर्न नसकिने बताउँदै यसअघि पनि भारतीय टेलिभिजनहरुको छाता संगठन इन्डियन ब्रोडकास्टिङ फाउन्डेसन (आईबीएफ) ले विज्ञप्ति नै जारी गरेको थियो । उसले क्लिन फिड नीति तत्काल लागू नगर्न नेपाललाई ‘सुझाव’ दिएको थियो ।

क्लिन फिड लागु भएपछि टेलिभिजन हेर्न दर्शकले बढी शुल्क बुझाउनुपर्ने भारतीय पक्षको तर्क छ । नेपालमा क्लिन फिड लागू गरे नेपाललाई पनि आफ्नो बजार देखाउँदै बिज्ञापन प्रसारण गर्दा थप रकम असुल गर्ने टेलिभिजन च्यानलहरुको आम्दानी घट्ने छ । सोहि कारण पनि नेपालमा क्लिन फिड लागू नगर्न भारतिय टेलिभिजन च्यानलहरुले दबाव दिने गरेका छन् ।

केबल टेलिभिजन सेवा प्रदायकको समस्या
केबल टेलिभिजन सेवा प्रदायकहरुले क्लिन फिड लागू भए भारतीय ब्रोडकास्टरहरुले च्यानल नै नदिने बताउँदै आएका छन् । अहिले भारतकै लागि सेट गरेका च्यानलहरु अपलिंक गरेर पठाएकोले नेपालमा सस्तो शुल्कमा पाइरहेको केबल क्लिन फिडमा लाने बित्तिकै छुट्टै स्याटालाईट प्रयोग गर्नुपर्ने भएकोले महँगो पर्ने उनीहरुको भनाई छ ।

क्लिन फिड पछि अहिले जति च्यानलहरु आइरहेका छन् । त्यति संख्यामा नेपालमा प्रसारण गर्न कठिन छ । भारतको सेटलाइटको ‘फूट प्रिन्ट’ नेपालमा जताततै भएकोले भारतिय डिटिएच सेवा प्रदायकले राखेका छाताकै माध्यमबाट सजिलै भारतका सबै च्यानल हेर्न सकिन्छ । त्यसैले क्लिन फिड लागू भएपछि महँगो शुल्क तिरेर थोरै च्यानल हेर्नभन्दा सेटअप बक्स फेरेर खुला सेटलाइटबाट निशुल्क भारतीय च्यानल हेर्न आकर्षित हुनसक्छ । जसले गर्दा नेपालको डिटिएचलाई भारतीय डिटिएचले कब्जा गर्ने डर हुन्छ ।

सुदीप आचार्य, प्रबन्ध निर्देशक, डिस मिडिया नेटवर्क लिमिटेड

बिज्ञापन रहितको शट्टामा नेपाली बिज्ञापनले बिदेशी बिज्ञापनलाई प्रतिस्थापन गरौं भन्ने हाम्रो चाहना हो । बिदेशी च्यानल आउनै नदिने भन्ने पनि हुन्छ ? हामीकहाँ बिदेशी च्यानलका उपभोक्ता कति छन् ? सबैभन्दा पहिले सरकारले यस विषयमा गम्भीर भएर सोच्नुपर्छ । अहिलेको जमानामा पनि विदेशी च्यानललाई रोकेर सूचनाबाट बञ्चित हुन सकिएला त ? उता भारतीय च्यानलहरुले नेपालको लागि मात्रै भनेर फिड दिन नसकिने स्पष्ट पारिसकेका छन् । यसोगर्दा नेपालका सेवा प्रदायक कम्पनीहरुको अवस्था के हुन्छ ? क्लिनफिडका विषयमा सरकारको अस्पष्टता हामीले देखेका छौं ।

सुदीप आचार्य (प्रबन्ध निर्देशक),
डिस मिडिया नेटवर्क लिमिटेड

‍क्लिनफिड भनेको बिज्ञापनरहित च्यानल हो । हामीले अहिले भारत, पाकिस्तान लगायतका देशबाट ल्याएका फिडहरु हेरिरहेका छौं । यदि यो नीति लागू हुने हो भने हेरिरहेका च्यानलहरु बन्द हुन्छन् । उता ग्राहकहरुले यसको विकल्प खोज्न थाल्छन् ।

डीसहोमका लाखौं छाताहरु ग्राहकका घरघरमा जडान भएका छन् । च्यानल नआउने भएपछि ग्राहकले टाटा स्काई, भिडियोकोन आदिबाट बक्स जोडेर कुनैपनि हालतमा आफूले हेर्दै आएका च्यानल हेर्छन् । अमेरिका, बेलायतमा स्टार, जी, कलर्स लगायतका भारतीय च्यानलहरु उपलब्ध हुन्छन तर त्यहाँ स्थानीय बिज्ञापनहरु नै हेर्न पाइन्छ । त्यस्तै युएइमा कान्तिपुर च्यानल अाउँछ तर बिज्ञापन भने नेपालीनै हेर्न पाइन्छ । तसर्थ हाम्राे माग भनेकाे बिदेशी च्यानल बन्द गर्ने हाेइन की विदेशी बिज्ञापनलाइ प्रतिस्थापन गरेर स्वदेशी बिज्ञापन प्रर्वद्धन गर्ने हाे ।

सरकारले  क्लिनफिड विद्येयक हतारमा ल्याईको प्रष्ट छ । हामीले देशको समृद्दि, विकास र ग्राहकको चाहना तथा नेपाली कलाकारको पनि हित चाहने हो भने विदेशी च्यानलमा आउने हिन्दी बिज्ञापन हटाएर नेपाली विज्ञापनले प्रतिस्थापन गर्नुपर्छ । यसतर्फ सरकार विशेष सर्तक हुनु जरुरी छ ।

बारेमा कल्पना शर्मा

यॊ पनि हेर्नुहॊस

इन्फ्लेक्शनसँग जोडियो राकुटेन भाइबर, सबैका लागि पर्सनल एआई प्रदान गर्ने लक्ष्य

काठमाडाैं । राकुेटेन भाइबरले एआई स्टुडियो इन्फ्लेक्शनसँग साझेदारी गरेको छ। ‘कन्भर्सेसन इज द न्यू इन्टरफेस …