विश्वकप क्रिकेटको उपाधि आयोजक इङल्यान्डलाई

काठमाडाैँ । निर्धारित ५० ओभरको खेलमा बराबरी भएपछि सुपर ओभरमा गएको खेलमा पनि बराबरी भएपछि बाउण्ड्रीका आधारमा इंग्ल्याण्डले विश्वकप क्रिकेटको उपाधि जितेको छ ।

इंग्ल्याण्डले सुपर ओभर र निर्धारित ५० ओभरमा २२ चौका र २ छक्का प्रहार गरेको थियो भने न्यूजिल्याण्डले १४ चौका र २ छक्का प्रहार गरेको थियो । निर्धारित ५० ओभर र सुपर ओभर पनि बराबरी भएपछि बढी बाउण्ड्री हानेका आधारमा इंग्ल्याण्ड विश्वविजेता बनेको हो ।

न्यूजिल्याण्डले दिएको २४२ रन पछ्याउने क्रममा इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २४१ रन बनाएपछि खेल टाइ भएको थियो ।

सुपर ओभरमा इंग्ल्याण्डले पहिले ब्याटिङ गरेर १५ रन बनायो । सुपर ओभरमा इंग्ल्याण्डका लागि जस बटलर र बेन स्टोक्सले ब्याटिङ गरे । न्यूजिल्याण्डका लागि भने ट्रेन्ट बोल्टले बलिङ गरे ।

सुपर ओभरमा न्यूजिल्याडलाई जितका लागि १६ रन चाहिएको थियो । न्यूजिल्याण्डका लागि जेम्स निशाम र मार्टिन गप्टिलले ब्याटिङ गरे । जोफ्रा आर्चरले पहिलो बल वाइड फाले । त्यसपछि निशामले दुई रन लिए ।  त्यस्तै दोस्रो बलमा उनले छक्का हाने । तेस्रो र चौथो बलमा २–२ रन लिए । पाँचौँ बलमा निशामले एक रन लिए । अन्तिम बलमा गप्टिल रनआउट हुन पुगे र रोमाञ्चक खेल इंग्ल्याण्डले बढी बाउण्ड्री हानेका आधारमा जित्न पुग्यो ।

सुपर ओभरमा न्यूजिल्याण्डले १५ रन नै बनाएको थियो । तर इंग्ल्याण्डले बढी बाउण्ड्री हानेका कारण च्याम्पियन बन्यो । न्यूजिल्याण्ड अभागी टिम ठहरियो । निर्धारित ५० ओभरको खेलमा ट्रेन्ट बोल्टले दुई विकेट लिए पनि स्टोक्सले दुई छक्का प्रहार गरेर खेललाई सुपर ओभरमा लगेका थिए ।

इंग्ल्याण्डका ओपनर ब्याट्सम्यान जेसन रोय र जोनी बेयरस्टोले गतिलो सुरुवात गर्न सकेनन् । रोय २० बलमा १७ रन बनाएर आउट भए ।  त्यस्तै ५५ बलको सामना गरेका बेयरस्टोले मात्रै ३६ रन बनाएर आउट भए ।

त्यस्तै यसअघिका खेलमा राम्रो खेलेका जोय रुट पनि फाइनलमा जम्न सकेनन् । उनी ७ रनमै आउट भए । त्यस्तै ओयन मोर्गान पनि ९ रनमा पेभेलियन फर्किएपछि इंग्ल्याण्डको ब्याटिङ अर्डर धरमराएको थियो ।

इंग्ल्याण्डका लागि पाँचौँ र छैटौँ नम्बरमा ब्याटिङ गर्न आएका बेन स्टोक्स र जस बटलरबीच राम्रो साझेदारी भएको थियो । बटलर लोकी फर्गुसनको बलमा टिम साउथीबाट क्याचआउट भए । उनले ६० बलमा ६ चौकासहित ५९ रन बनाए । तर बेन स्टोक्सले उत्कृष्ट  ब्याटिङ गरे पनि इंग्ल्याण्ड हारबाट जोगिएन ।

अन्तिम बलमा दुई रन चाहिएको अवस्थामा एक रन लिएर दोस्रो रन लिने क्रममा स्टोक्स रनआउट हुन पुगे । त्यसपछि भने खेल सुपर ओभरमा गएको थियो । स्टोक्सले ९८ बलमा ८४ रन बनाए ।

विश्वकपको इतिहासमा फाइनल खेल सुपर ओभरमा गएको यो पहिलो पटक हो ।

बलिङतर्फ जिम्मी निशम र लकी फर्गुसनले तीन-तीन विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले ५० ओभरमा आठ विकेट गुमाउँदै २४१ रन बनाएको थियो । खराब सुरुवात गरेको न्यूजिल्याण्डले पहिलो विकेट मात्र २९ रनमा गुमाएको थियो ।

तर दोस्रो विकेटका लागि केन विलियम्सन र हेनरी निकोल्सले गतिलो साझेदारी गर्न सफल भए । जसमा विलियम्सनले ३० रन बनाए भने हेनरीले ५५ रनको पारी खेले । त्यसपछि न्यूजिल्याण्डका लागि रोस टेलरले १५, टम लाथमले ४७ तथा जेम्स निशामले १९ रनको योगदान गरे । यस्तै ग्राण्डहोमले १६ रन थपे ।

इंग्ल्याण्डका लागि क्रिस वोक्स र लायम प्लंकेटले ३–३ विकेट लिए । त्यस्तै मार्क वुड र जोफ्रा आर्चरले एक–एक विकेट लिए ।

केनको रेकर्ड

केन विलियम्सनले कप्तानका रुपमा विश्वकपमा धेरै रन बनाउन १२ वर्ष पुरानो कीर्तिमान तोडेका छन् । यसअघि श्रीलंकन खेलाडी महेला जयबर्दनेले बनाएको ५४८ रनको रेकर्डलाई विलियम्सन तोड्न सफल भए । एकै विश्वकपमा धेरै रन बनाउने अब विलियम्सन पहिलो कप्तान बनेका छन् ।

आजको खेलपछि उनले कुल पाँच सय ७८ रन बनाएका छन । जसमा उनले १० पारी खेलेका छन । जयबर्दनेले २००७ को विश्वकपमा त्यो रेकर्ड बनाएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बहराइनसँग नेपाल पराजित

काठमाडौँ । नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनौटअन्तर्गत बहराइनसँग पराजित भएको छ । …

प्रतिकृया दिनुहॊस