अण्डाको मूल्य बढ्यो

चितवन । कुखुराको अण्डाको मूल्यमा सुधार आएको छ। लागत मूल्य भने कृषकले अझै पाउन सकेका छैनन्।  प्रतिक्रेट २०० रुपैयाँमा बिक्री हुँदै आएको ठूलो अण्डाको मूल्य २८० रुपैयाँ पुगेको छ। सानो अण्डाको मूल्य ११५ बाट बढेर २३० रुपैयाँ पुगेको छ। नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार कृषकको लागत मूल्य प्रतिगोटा १० रुपैयाँ पर्दछ। बढेको बिक्री मूल्य समग्रमा प्रतिगोटा आठ रुपैयाँ ५० पैसा रुपैयाँ पर्दछ। हाल दैनिक ४० लाख हाराहारी अण्डा उत्पादन हुने गर्दछ।

यो सङ्ख्या ५५ लाख पुगेकोमा क्रमशः घट्दै आएको कँडेलको भनाइ छ। अण्डाको मूल्य कम भएपछि धेरैले माउ कुखुरा बिक्री गरेका छन्। यससँगै चर्को गर्मीका कारण उत्पादनमा कमी आएको छ। पछिल्लो समय कृषकले चल्ला राख्नसमेत छाडेका थिए। यसबाट अण्डा उत्पादनमा क्रमशः गिरावट हुँदै जाने अनुमान गरिएको छ। सङ्घका केन्द्रीय सचिव मदन पोखरेलले अण्डाको मागअनुसार आपूर्ति हुन कठिन भएकाले क्रमशः मूल्यवृद्धि हुँदै जाने अनुमान गरिएको बताए।

तीन वर्षअघि अण्डाको मूल्य बढेर प्रतिक्रेट ३६० रुपैयाँ पुगेको थियो। गत एक वर्षयता भने खर्च नधान्ने गरी मूल्यमा गिरावट आएको कृषकको भनाइ छ। पोख्रेलका अनुसार नेपालमा सात हजार कृषकले कुखुरा पाल्ने गरेको तथ्याङ्क छ। जहाँ एक लाख ५० हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्। लेयर्स कुखुरामा मात्र एक अर्ब रुपैयाँभन्दा बढी लगानी भएको पोखरेलको भनाइ छ। दानाको मूल्य र बैंकको ब्याज बढ्दै जाने र अण्डाको मूल्य घट्दै जाँदा व्यवसायी विस्थापित हुने अवस्थामा पुगेकोमा क्रमशः मूल्यवृद्धि हुन सकेमा टिक्नसक्ने उनले बताए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालमा सार्वजनिक भयो ल्याक्मे सनस्क्रिन

काठमाडौं । नेपालमा ल्याक्मे सनस्क्रिन सार्वजनिक गरिएको छ। ‘स्टन इन द सन’ ट्यागलाइनको साथ उक्त …

प्रतिकृया दिनुहॊस