नेपाल राष्ट्र बैंकको आर्थिक तथा वित्तीय स्थितिको रिपोर्ट : आर्थिक सूचक निराशाजनक

काठमाण्डौ । चालु आर्थिक वर्षको १० महिनाको आर्थिक अवस्थाले आर्थिक सूचक निराशाजनक रहेको देखाएको छ । रेमिट्यान्स बढे पनि व्यापार घाटा बढ्दै गएको पाइएको छ । शोधानान्तर घाटा चुलिँदै गएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको रिपोर्टले वैदेशिक लगानीमा पनि कमी आएको देखाएको छ ।

चालु आर्थिक वर्षको पहिलो १० महिनामा व्यापार घाटा चुलिएको छ । ११ खर्ब ७८ अर्ब रुपैयाँको सामान आयात हुँदा जम्मा ७८ अर्ब रुपैयाँको सामान मात्रै नेपालले निर्यात गर्न सकेको छ । दश महिनामा कुल बस्तु आयात १९.६ प्रतिशतले बढेर ११ खर्ब ७८ अर्ब १४ करोड पुगेको छ । अघिल्लो वर्षको दश महिनामा यस्तो आयात २१.८ प्रतिशतले बढेको थियो । बस्तु आयात गरिने देशका आधारमा भारतबाट भएको आयात १७।२ प्रतिशत, चीनबाट भएको आयात ३३ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १८.८ प्रतिशतले बढेको छ ।

यस्तै आर्थिक वर्ष २०७५-७६ को दश महिनामा बस्तु निर्यात १८.१ प्रतिशतले बढेर ७८ अर्ब ५३ करोड पुगेको छ । अघिल्लो वर्षको दश महिनामा निर्यात ९ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ ३१.९ प्रतिशत र अन्य देशतर्फ २.३ प्रतिशतले निर्यात वृद्धि भएको छ । चीनतर्फ भने २९ प्रतिशतले निर्यातमा कमी आएको छ ।

चालु आर्थिक वर्षको वैशाखसम्म अर्थात १० महिनामा चालु खाता एवम् शोधनान्तर घाटा विस्तार भएर २ खर्ब २१ अर्ब ४० करोड पुगेको छ । अघिल्लो वर्षको १० महिनामा यस्तो घाटा जम्मा १ खर्ब ९२ अर्ब ५ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको दश महिनामा १ अर्ब ८६ करोड रहेको चालु खाता घाटा यो वर्षको दश महिनामा १ अर्ब ९५ करोड पुगेको छ ।

दश महिनामा पूँजीगत ट्रान्सफर १३ अर्ब ४८ करोड र प्रत्यक्ष वैदेशिक लगानी ९ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको दश महिनामा पूँजीगत ट्रान्सफर १४ अर्ब १५ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु.१५ अर्ब ५१ करोड रहेको थियो । पोहोरभन्दा प्रत्यक्ष वैदेशिक लगानी एफडीआईमा ६ अर्ब रुपैयाँ भन्दा धेरैले कमी आएको छ । सरकारले लगानी सम्मेलन गरेर नेपालमा लगानी गर्न विश्व समुदायलाई आग्रह गरे पनि त्यसको प्रभाव भने देखिएको छैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इन्फ्लेक्शनसँग जोडियो राकुटेन भाइबर, सबैका लागि पर्सनल एआई प्रदान गर्ने लक्ष्य

काठमाडाैं । राकुेटेन भाइबरले एआई स्टुडियो इन्फ्लेक्शनसँग साझेदारी गरेको छ। ‘कन्भर्सेसन इज द न्यू इन्टरफेस …

प्रतिकृया दिनुहॊस