यहाँहरुको विश्वास जित्दै, मेगा बैंक अघि बढ्दै

मलाई विश्वास गरेर जुन प्रकारको जिम्मेवारी बैंकले दिएको छ, त्यो पूरा गर्ने आँट, साहस र हिम्मत बोकेकी छु । म तमाम महिलाहरुलाई नेतृत्वमा आउन आग्रह गर्दछु । तपाईसँग जे क्षमता छ, त्यो पहिचान गर्नुस् र अगाडि बढ्नुस् । आफूलाई विश्वास गर्नुस् ।

अनुपमा खुञ्जेली,
सिईओ, मेगा बैंक नेपाल लि.
हिलेको जमानामा महिला र पुरुष भनेर फरक कोणबाट हेर्नु खासै मनासिव हुँदैन । अवसर पाए भने महिला पनि पुरुष भन्दा कुनैपनि हिसाबले कम हुँदैनन् भनेर प्रमाणित पनि भईसकेको छ । मेगा बैंक अहिले महिलाको नेत्तृत्वमा छ । यो बैंकको पहिलो र दोस्रो बरीयताको नेतृत्व महिलाको क्षमता र दक्षतामा सञ्चालित छ ।

नीजि क्षेत्रमा सबैभन्दा धेरै चुक्ता पुँजी हुने बैंकहरु मध्ये मेगा बैंक पनि पर्छ । १ वर्ष अगाडि बैंकको कार्यकारी प्रमुखको जिम्मा पाएपछि अनुपमा खुञ्जेलीले सक्षम, सबल र बैंक हाक्न सक्ने सामथ्र्यता बोकेकी क्षमतावान महिलाका रुपमा परिचय बनाएकी छिन् ।
ललितपुरस्थित सेन्ट मेरिज स्कूलमा विद्यालयस्तरीय अध्ययन पूरा गरेकी खुञ्जेलीले आईएको अध्ययन भने इण्डियाबाट र बीएसम्मको अध्ययन शंकरदेव क्याम्पसबाट गरिन् । तत्कालीन ग्रीनलेज (हालको स्टाण्डर्ड चार्टड) बैंकमा एमएको अध्ययन गर्दागर्दै जागीर खान शुरु गरेपछि पढाई पूरा गर्न निकै कठिनाई भएको अनुभव सुनाईन् ।

असिष्टेण्टबाट आफ्नो बैंकिङ करियर सुरु गरेपनि हाल उनी सबैभन्दा उपल्लो पदमा कार्यरत छिन् । १३ वर्ष ग्रीनलेज बैंकका साथसाथै ६ वर्ष नबिल बैंकमा काम गरेको अनुभव पनि उनीसँग छ । नबिल बैंकमा काम गर्ने क्रममा मास्टर्सको अध्ययन पूरा नगरेको कारण प्रमोसनमा धक्का लागेपछि पढाई पूरा गर्न नसकेकोमा आफूलाई निकै पछुतो लागेको नमिठो अनुभव सिईओ खुञ्जेलीले हामीलाई सुनाईन् । यो अनुभवसँगै दृढ अठोटका साथ सन् २००८ मा ACE Institute of Management बाट मास्टर्सको अध्ययन पूरा गरिन् ।

३ दशकको बैंकिङ करियरमा मेगा बैंकमा स्थापनादेखिनै आवद्द भएर बैंकको हरेक कदममा सहयात्री भई सक्षम, सफल र साहसी महिलाको परिचय बनाएकी मेगा बैंककी सिईओ अनुपमा खुञ्जेलीको पृष्ठभूमि, बैंकिङ करियर, अनुभव, भविष्यको लक्ष्य लगायतका विषयमा मसिनोगरी अन्तर्वार्ता तयार गर्ने प्रयास गरिएको छ । प्रस्तुत छ, सिईओ अनुपमा खुञ्जेलीसँग सम्पादक कल्पना शर्माले गरेको कुराकानीको संक्षिप्त अंश

नेपालको बैंकिङ इतिहासमा पहिलो महिला सिईओको जिम्मेवारी बहन गर्दै हुनुहुन्छ, १ वर्ष विताइसक्नुभएको छ, बाँकी कार्यकाल कसरी अगाडि बढाउने सोचमा हुनुहुन्छ ?

कार्यकालको १ वर्ष हेर्दाहेर्दा कसरी बित्यो मलाई पत्तै भएन । समय धेरै चाँडो बगेजस्तो लागेको छ । अबको ३ वर्ष मेगा बैंकलाई अब्बल दर्जामा पु¥याऊँ भन्ने चाहना छ । अहिले २३ औं स्थानबाट मेगा बैंक १९ औं स्थानसम्म सफलरुपमा आईपुगेको छ । बैंकको ५ वर्षे योजना अनुरुप १५ औं स्थानमा पुग्ने र त्यो भन्दा पनि राम्रो स्थान सुनिश्चित गर्ने लक्ष्यका साथ अगाडि बढेका छौं ।

बजारमा हरेक बैंकबीच प्रतिस्पर्धा छ । बैंक अस्तित्वमा रही रहनका लागि ग्राहकवर्गहरुलाई पूर्ण सन्तुष्टी मिल्ने गरी उच्चस्तरीय, प्रभावकारी एवं छिटोछरितो सेवा सुविधाहरु प्रदान गर्न सक्षम हुनुपर्छ भने प्रमोटर र शेयरधनी महानुभावहरु जो बैंकका मुख्य खम्बा हुनुहुन्छ, उहाँहरुलाई ’रिजनेवल रिटर्न’ दिन सक्नुपर्छ ।

ग्राहकवर्गलाई हरेक हिसाबले चित्त बुझाउनु हाम्रो कर्तव्य हो । अर्को महत्वपूर्ण पाटो भनेको कर्मचारी, जसले बैंकका अन्य सबै सरोकारवालाहरुको ईच्छा र आकांक्षा परिपूर्ति गर्न प्रमुख भुमिका खेल्नुहुन्छ किनभने बैंकको लक्ष्य प्राप्तिको प्रत्यक्ष कार्यान्वयन कर्मचारीले नै गर्ने हो । त्यत्तिकै महत्वपूर्ण रेगुलेटर्स र सरकार अनि सँगसँगै समाज पनि हो भन्ने हामीले बुझेका छौं । यी सबै पक्षहरुलाई बैंकको अस्तित्वको आधार मान्दै सबैलाई महत्वकासाथ कार्य योजनामा समावेश गरेर योजनावद्द ढंगबाट अघि बढ्ने सोच बनाएका छौं ।

सामाजिक उत्तरदायित्व अन्तर्गत मेगा बैंकले ’गर्ल चाईल्ड एजुकेशन’ अभियानको शुरुवात गरेको छ । प्रत्येक ब्राञ्चबाट एकजना छोरीलाई पढाउन आर्थिक सहायता प्रदान गर्ने बैंकको अभियान अन्तिम चरणमा रहेको छ । हाम्रो समाजमा छोरी शिक्षित नभएसम्म कुनैपनि प्रकारको विकास सम्भव छैन । महिला सशक्तिकरणको प्रमुख पाटो नै शिक्षा भएकाले प्रत्येक महिला शिक्षित हुन जरुरी छ ।

टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जर भईसकेपछि एउटा बलियो संरचना तयार भएको छ । यो वर्ष कर्मचारीको क्षमता अभिवृद्दिका लागि अग्रसर भएर बैंकको जनशक्तिलाई प्रोत्साहित गर्ने काम गरेका छौं । कर्मचारीको क्षमता अभिवृद्दिका लागि ’मेगा लर्निङ एन्ड डेभलपमेन्ट सेन्टर’ स्थापना गरेका छांै । विकास बैंकबाट आउनुभएका कर्मचारी साथीहरु पनि भएकाले विस्तृत तालिम दिने काम गर्छौ । कर्मचारी खुसी र ईमान्दार भएर काम गरेमात्रै संस्थाको सफल हुनेगर्छ ।

अघिल्लो वर्षको भन्दा बैंकको अवस्था धेरै राम्रो छ । सिईओको प्रयासले मात्रै बैंकको अवस्था राम्रो हुने होईन । बैंकमा कार्यरत टेलरदेखि सिईओसम्मको समान मेहनतबाट नै एउटा सफल बैंक स्थापित हुन्छ भन्ने मान्यतालाई आत्मसात् गर्दै मेरो १ वर्षको कार्यकाल सकिएको छ ।

३ हजार प्रमोटर्स, २ लाख भन्दा बढी साधारण शेयरधनीहरु र लाखौं ग्राहकहरुको चाहना, दृष्टिकोण र बृह्त्तर हितमा मेरो कार्यकाल केन्द्रित रहनेछ । गाउँ गाउँमा बैंक, बैंकिङ साक्षरता लगायतमा मेगा बैंकले धेरै काम गरिसकेको छ । बाँकी रहेको समय बैंकको सर्वोपरी हित, प्रमोटर्स र शेयरधनीहरुलाई राम्रो रिटर्न, ग्राहकलाई सन्तुष्टि, कर्मचारीलाई खुसी र समाजमा मेगा बैंकलाई उदाहरणीय बैंककारुपमा प्रस्तुत गर्नमै समर्पित हुनेछ ।

बैंकको नेतृत्व गर्नु चानचुने कुरो होईन, त्यसमाथी हामीकहाँ महिलालाई विश्वास गर्ने चलन अझैसम्म कायम हुन सकेको छैन, यस्तो पस्थितिबिच सक्षम महिलाको पहिचान बनाउन सफल हुनु भएकोमा कस्तो महशुस भएको छ ?

नेपालमा अहिले हरेक क्षेत्रमा महिलाको संख्या उल्लेख्य छ । अवसर पाए महिला कुनैैपनि हिसाबले पुरुषभन्दा कम छैनन् । यो प्रमाणित भईसकेको छ । हरेक संस्थामा प्रमुखको मेहनतले मात्रै केही हुने होईन । एउटा मेसिनको हरेक पाटपूर्जाले काम गरेमात्रै त्यसले क्षमता अनुसार उत्पादन गर्न सक्छ । हरेक चिजमा त्यही नियम लागू हुन्छ । तथापि नेत्तृत्व अब्बल भने पक्कै हुनुपर्छ । चाहे पुरुष होस् या महिला ।
मलाई विश्वास गरेर जुन प्रकारको जिम्मेवारी बैंकले दिएको छ, त्यो पूरा गर्ने आँट, साहस र हिम्मत बोकेकी छु । म तमाम महिलाहरुलाई नेतृत्वमा आउन आग्रह गर्दछु । तपाईसँग जे क्षमता छ, त्यो पहिचान गर्नुस् र अगाडि बढ्नुस् । आफूलाई विश्वास गर्नुस् । मैले सिईओकोे जिम्मेवारी पाईसकेपछि यो उच्चतम पदमाथि न्याय गर्दै हरेक हिसाबले सफल बनाउने प्रयासमा हुनेछु । हरेक पाईलामा सहयोगी र सकारात्मक व्यवहार पाएकी छु । मलाई विश्वास गरेर सिईओको जिम्मेवारी प्रदान गरेकोमा बैंक परिवारलाई धन्यवाद दिन चाहन्छु ।

सेकेण्ड नेपाल सिईओ समिट अवार्ड ’फिमेल सिईओ अफ दि ईयर २०१९’ बाट सम्मानित हुनुभएको छ, अब झनै जिम्मेवारी बढ्यो होला हैन ?

मैले यो तहको अवार्ड ३० वर्षे बैंकिङ करियरमा पहिलोपल्ट पाएको हो । बैंकिङ क्षेत्रको पहिलो महिला सिईओ भन्दा पनि यो क्षेत्रमा पु¥याएको योगदानका आधारमा सम्मान गरिएको जस्तो मलाई लाग्छ ।

विशेषतः मेगा बैंक बोर्ड, म्यानेजमेन्ट र सबै साथीभाईका कारणनै अवार्डको भागीदार भएँ । अत्यन्तै गौरव महशुस भएको छ । यसले आगामी दिनमा अझै खारिएर काम गर्ने अवसर एवं उर्जा दिएको छ । जसबाट पक्कैपनि यो क्षेत्रप्रतिको जिम्मेवारी थप बढेको छ ।

चालु आवको ९ महिनाको अवधिमा मेगा बैंकले नाफा १३१ प्रतिशत बढाएर १२१ करोड पुर्याएको छ, बैंकको अघिल्लो वर्षको तुलनामा ठूलो उपलब्धि होईन र ?

मानिसले चाहेको खण्डमा यो दुनियाँमा असम्भव भन्ने कुरा निकै कम मात्रै हुन्छन् । म असम्भवलाई ’आई एम पोसिवल’ भन्न रुचाउँछु । बजारमा देखिएको अवसरलाई चिन्न सक्नुपर्छ । यो वर्ष मेगाको नाफा उल्लेख्य मात्रामा बढ्नुको एउटा कारण टुरिजम डेभलपमेण्ट बैंकसँगको मर्जर पनि हो जसलाई हामीले नकार्नु हुँदैन ।

यो वर्षको लक्ष्यको आँकडा पनि हामीले पूरा गर्छौं । अन्तिम त्रौमासको नतिजा सहित गरी यो वर्ष हामी शेयर होल्डर्स र प्रमोटर्सलाई रिजनेवल रिटर्न दिन सक्छौं । हामीले बैंकलाई बलियो र समृद्द बनाउन कुनै कसर बाँकी राखेका छैनौं ।
बाहिरबाट हेर्दा बैंकहरुले भयंकर कमाएको जस्तो देखिन्छ । तर साढे १० अर्बको चुक्तापुँजी भएको बैंकले १ अर्ब कमाएको खासै ठूलो रकम भने होइन । पुँजी जसरी बढाउँदैछौं, त्यसरी रिटर्न दिन सकेका छैनौं ।

लगानीकर्तालाई ’फेयर रिटर्न’ दिनसक्ने अवस्था अझै आईसकेको छैन । ११९ वटा शाखारहित बैंकिङ केन्द्रहरु छन् । २ हजार ४ सय भन्दा बढी रेमिटेन्स एजेन्ट छन् । १९ वटा एक्सटेन्सन काउण्टर छन् भने १० वटा शाखा आउँदो भदौसम्म खोल्दैछौं । बैंकिङ पँहुच नभएका १८ स्थानीय तहमा हाम्रो उपस्थिति भईसकेको छ ।

महिलाका लागि विशेष सहुलियत दिने हिसाबले खाताको स्कीम ल्याएका छौं । डिजीटाईजेसनको पनि लेटेस्ट टेक्नोलोजीमा हामी गईसकेका छौं । कार्ड, पोस मेसिन, मोबाईल बैंकिङ, इन्टरनेट बैंकिङ, शाखारहित बैंकिङ तथा क्यूआर कोडको प्रडक्ट पनि हामीले ल्याईसकेका छौं । मेगाले पछिल्लो समय राम्रो ग्रोथ गरेकाले बकिङ क्षेत्रमा अब्बल बैंकका रुपमा पक्कैपनि अग्रपंक्तिमा आउनेछ ।

फोर्स मर्जरको अवधारणालाई मेगा बैंकले कसरी लिएको छ ?

बजारमा आएको हल्ला हामीले पनि सुनेका छौं । बजार कसरी अगाडि बढ्छ ? हाम्रो अवस्था कस्तो हुन्छ ? भोलीका दिनमा मेगा पनि मर्ज गर्नुपर्ने अवस्था आयो भने हामी पक्कैपनि यसका बारेमा विस्तृत अध्ययन गर्नेछौं ।

फोर्स मर्जर भन्दा पनि बैंकहरुले आफैले महशुस गरेको धेरै राम्रो हो । स्वयं नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले बेला बेला झस्काईरहेको भान भएसँगै अहिले हरेक बैंकले यस विषयमा सोचेको हुनुपर्छ जस्तो लाग्छ ।

ऋणको व्याजदर घट्ने संभावना कत्तिको छ ?

पक्कैपनि । डिपोजिट नै ९ दशमलव ५ प्रतिशत भन्दा माथी जान सकेको छैन । ’कस्ट अफ फण्ड’ कम भईसकेपछि ४ दशमलव ५ प्रतिशतको स्प्रेडदर मात्रै राष्ट्र बैंकले बैंकहरुलाई दिएको छ । ५ को स्पे्रडदर ४ मा आईपुगेको छ । १५÷१६ को ब्याजरदर अहिले भने १३÷१४ प्रतिशतमा पुगेको छ ।

निक्षेपकर्ताले धेरै ब्याजको डिमाण्ड गर्ने, व्यापारीले थोरै प्रतिशतमा ब्याज तिर्न पाए हुन्थ्यो भन्ने अवस्था छ । यो जहिले पनि रहन्छ । पहिलेको जस्तो भोलाटायल मार्केट अहिले छैन । बैंकको बेसरेट घटेको अवस्था छ । अब असारमा तरलताको अवस्थामा सहजता आउँछ जस्तो मलाई लाग्छ । ऋणको ब्याजदर त पक्कैपनि घट्छ ।

मेगा बैंकमा कर्जा दबाब कस्तो छ ?

नेपालमा धेरैपछि स्थिर सरकार आएको छ । उद्योगी, व्यवसायीमा उत्साह छाएको छ । नयाँ उद्योग सञ्चालनमा धेरैको चासो बढ्दै गएको अवस्था देख्छौं । सञ्चालित उद्योगका आकार पनि बढाउने सोच देखिएको छ ।

जलविद्युत, होटल, पर्यटन लगायतका क्षेत्रमा लगानीकर्ताको अधिक रुची छ । हामीकहाँ कर्जा दबाब नै छ । डिमाण्ड अनुसार प्रवाह गर्ने अवस्थामा छैनौं, यद्यपि साना तर धेरै संख्यामा कर्जा प्रवाह गर्न केन्द्रित छौं ।

देशले आशा गरे अनुसार प्रतिव्यक्ति आय पनि बढेको छ । अहिले साधनस्रोतलाई कसरी परिचालन गर्ने भन्ने नै प्रमुख चुनौति हो । कर्जाको डिमाण्ड भएपछिनै बैंकिङ प्रणाली राम्रो हुने हो ।

मेगा बैंकको वित्तीय अवस्था कस्तो छ ?

“यहाँहरुको विश्वास जित्दै, मेगा बैंक अघि बढ्दै” भन्ने नारा लिएर ग्राहकको माँझमा मेगा बैंक आएको छ । साढे १० अर्बको चुक्ता पुँजीसँगै यसको आधारमा दोस्रो ठूलो बैंक बनेको छ । मेगा बैंकका प्रडक्टहरुलाई ग्राहकले असाध्यै मन पराईदिनुभएको छ ।

बैंकको ग्रोथ राम्रो छ । देशैभरी १०२ शाखा छन् । पुँजीगत आधारमा ठूलो बैंक भएकाले मेगामा निक्षेप राखेर ग्राहकहरु ढुक्क हुन सक्नुहुन्छ । व्यवसाय एवं मुनाफा वृद्दिका आधारमा पनि बैंकले निकैनै फड्को मारिसकेको छ । तसर्थ बैंकको वित्तीय अवस्था एकदमै मजबुत छ ।

ग्राहकको आवश्यकता अनुसारको सेवा तथा सुविधा प्रदान गर्नमा मेगा बैंक अब्बल रहँदै आएको छ । वर्षैपिच्छे अझै स्तरोन्नतिमा लागिपर्दै जानेछौं । स्तरीय सेवा तथा सुविधा प्रदान गर्न प्रयासरत रहेको छ, मेगा बैंक । त्यसैले अधिक भन्दा अधिक ग्राहकहरुलाई हाम्रा सेवा तथा सुविधा लिनका लागि म अनुरोध गर्दछु । अहिले प्रायः बैंकले ग्रामीणस्तरमा समेत सेवा दिईरहेका छन् । बैंकहरुका शाखाहरु नेपालको प्रायः ठाउँमा पुगेका छन् ।

बैंक नेपालको प्रायः ठाउँमा पुगेका छन् भन्नुभयो, तथापि अझैपनि बैंकहरु शहर केन्द्रित भएको भन्ने गुनासो सुनिन्छ नी ? बैंकिङ साक्षरताका लागि मेगाले के गर्दैछ ?

गाउँपालिकाहरुमा बैंक नपुगेको अब केही स्थानहरुमा मात्रै हो । बैंक पुग्नका लागि सिस्टम चल्नुपर्छ । सुरक्षा लगायत न्यूनतम स्थायी संरचना हुनुपर्छ । बिजुली, ईन्टरनेट, यातायातको पूर्वाधार नभएका स्थानमा बैंक जान सम्भव हुँदैन अहिले विविध कारणहरुले ।

मुख्यकुरो पद्दतिमा चल्नका लागि आधारभूत आवश्कता पूरा हुनैपर्छ । तैपनि सबै चुनौतिलाई स्वीकार्दै नेपालका विकट स्थानमा पनि बैंकहरुले सेवा प्रदान गरिहेका छन् ।

बैंकिङ साक्षरताका लागि मेगाले मात्रै होईन प्राय सबैले केही न केही कार्यहरु गरिहेका छन् । साक्षरताका कार्यक्रम र अभियानहरु प्रभावकारी ढंगले व्यापकताका साथ शुरु भएको भने धेरै समय भएको छैन । त्यसैले यसमा भयंकर प्रगतिको समीक्षा गर्ने बेला भईसकेको छैन ।

मुख्यतः बैंक गएर कारोबार गर्नसक्ने भौतिक संरचना तयार हुने हो भने साक्षरता ठूलो कुरो होईन । मेगाले बैंकिङ साक्षरताका लागि विभिन्न स्थानमा पुगेर जागरणको काम गरिरहेको छ भने ज्ञानमूलक सन्देशहरु सर्वसाधारणले अवलोकण गर्ने गरी संरचनात्मक लगानी गर्दै आएको छ ।

बैंकको सिईओ, आकर्षक तलब, टन्नै सेवासुविधा, सबैको केन्द्रबिन्दु, तथापि कहिलेकाँही बोर्डको दबावका कारण आन्तरिक तनाव हुन्छ रे नी ?

अनावश्यक रुपमा सिईओलाई तनाव दिनुहुँदैन भनेर सम्बद्द सबैलाई थाहा भईसकेको छ । मलाई मेरो बोर्डले दबाव दिएको छ, भन्दिन । शेयरधनीहरुलाई ’रिजनेलव रिटर्न’ दिनेमा सचेत छौं । सिईओ सही छान्न सक्ने हो भने कुनैपनि बैंकमा समस्या आउँदैन ।
सिईओले पनि दबावमा काम गर्नुपर्दैन । अर्को महत्वपूर्ण पक्ष भनेको बजारको अवस्था वा आन्तरिक के कति कारणबाट सिईओले बैंकले चाहे अनुसारको काम गर्न सक्यो वा सकेन त ? भनेर पहिचान गर्नुपर्छ ।

बैंकको वार्षिक कार्ययोजना वा लक्ष्य बजेटको स्वरुपमा शाखाहरुबाट आउने गर्छ । तल्लोस्तरबाटै केन्द्रमा आउने हो । मेगा बैंकका हरेक कर्मचारीको उत्तिकै जिम्मेवारी हुनेगर्छ, नकी सिईओको मात्र । तैपनि काम गर्दा अलिअलि चुनौती वा दबाव भएन भने नवीनताका साथै मजा पनि आउँदैन नी !

पूरै बैंकका कर्मचारी सबैले आफ्नो आफ्नो जिम्मा लिएर काम गर्दा सिईओलाई दबाव हुने प्रश्नै आउँदैन । मेरो संस्थालाई १ सय १० प्रतिशत दिएको छु भन्ने अठोट छ भने संस्थाप्रतिको बफादारिता हुन्छ । मलाई बोर्डबाट दबाव आएर तनाव छैन । र त्यस्तो परिस्थिति कहिलेपनि नआओस जस्तो लाग्छ ।

मेगा बैंक स्थापनाको नवौं वर्षमा छ, केही समय अगाडि मर्जर पनि भएको छ, अब कसरी अगाडि बढ्ने ?

मेगा बैंकको उपलब्धी हेर्ने हो भने ९ वर्षको अवधिसम्म आईपुग्दा अन्य समकक्षी बैंकहरुले गरेको प्रगतिभन्दा धेरै माथिल्लो स्तरमा छ । बलियो संरचना र विश्वसनीयतामा मेगा बैंक अन्यभन्दा २ कदम अगाडि छ । ५ लाख सन्तुष्ट ग्राहकहरु छन् ।
’मेगा पञ्चवर्षीय योजना’ बमोजिम ग्राहकको संख्यालाई दोब्बर बनाउने तयारीमा छौं ।

टुरिजम डेभलपमेण्ट बैंकसँगको मर्जरपछि मेगा बैंक ठूलो, सबल र सक्षम बैंकको रुपमा अगाडि आएको छ । अबको यात्रा भनेको बैंकलाई अझै मजबुत बनाउने नै हो । मैले शुरुमै राखेका विषयहरुलाई प्राथमिकतामा राखेर अघि बढ्ने योजना हाम्रो छ ।

फरक प्रसँग

भविष्यको लक्ष्य

म सहायक हुँदा सिईओ बन्छु भन्ने लक्ष्य कहिल्यै राखिन । सहायक भइसकेपछि अधिकृत, त्यसपछि व्यवस्थापक हुँदै वरिष्ठ व्यवस्थापक हुने चाहना राखें । लगत्तै डेपुटी सिईओ भएँ । डेपुटी सिईओ बनेसँगै सिईओको लागि चाहिने क्षमता अभिवृद्दि गरेँ । फलत सिईओको भूमिका पनि पाएँ । यो जिम्मेवारीलाई सफलतापूर्वक अगाडि बढाउँदैछु ।

जीवनमा हौसला बुलन्द राख्नुपर्छ । प्रमुखको जिम्मेवारी सफलतापूर्वक सम्हालीसकेपछि मात्रै भविष्यमा के गर्ने भन्ने हुन्छ । आफ्नो काम र जिम्मेवारीलाई सम्मान गर्दै पहिलो कार्यकाल सफल पार्नुनै अहिलेको लक्ष्य हो । अबको ४ देखि ८ वर्ष सिईओमैं केन्द्रित हुनेछु । सफल सिईओको रुपमा आफूलाई प्रमाणित गर्ने नै भविष्यको लक्ष्य हो ।

घुम्न कत्तिको मनपर्छ ?

बैंकरहरुको बिदा निकै कम हुन्छ । समय मिलेसम्म परिवारसँग घुम्न जान मनपर्छ । मेरो जीवनको अत्यन्तै महत्पूर्ण पाटो भनेको घुमफिर हो । यसले ताजा महशुस हुन्छ । नेपालभित्र या बाहिर मौका मिलेसम्म घुम्छु । काठमाडौं वरीपरी पैदल यात्रा गरेर घुमिसकेको छु । मुगुको रारा पुग्ने रहर छ ।

मनपर्ने खाना

दाल, भुजा, खसीको मासुको लेदो, गोलभेँडाको अचार र आलु तारेको एकदमै मनपर्छ ।

मनपर्ने खेल

पहिला त म खेलाडी नै थिएँ । ब्याडमिन्टन, टेवल टेनिस, स्क्वास, स्वीमिङ लगायतका खेल खेलेको छु । स्वीमिङमा पुरस्कार पनि जितेको छु । फुटवल, क्रिकेट समय मिलेसम्म हेर्छु, छुटाउँदिन ।

प्रेरणाको श्रोत

मेरो बुवा नै मेरो प्रेरणाको श्रोत हो । अक्रुर नरसिंह राणा उहाँको नाम हो । बुवा पूर्व कृषि सचिव हुनुहुन्छ । उहाँमा छोरी अरुको भरमा होईन, आफ्नै खुट्टामा उभिनुपर्छ भन्ने सोच भएकाले मलाई अगाडि बढ्न निकै सहज भयो ।

जीवन

जीवन एकदमै सुन्दर छ । कसरी जिउने आफ्नै हातमा छ ।

परिवार

परिवार जीवनको मेरुदण्ड नै हो । यो बिना संसार सम्भव छैन । परिवारमा तपाँई कस्तो अवस्थामा हुनुहुन्छ, बाहिर देखिने पनि त्यही नै हो । मेरो सोचमा प्रत्येकका लागि परिवार सबैभन्दा माथिल्लो दर्जामा हुन्छ । परिवारको सहयोग र मायाँ बिना अगाडि बढ्न सकिदैन । खुसी पनि हुन सकिदैन । दुख र सुख हरेक क्षणको पहिलो सहयात्री परिवार नै हो । परिवारकै कारण मानिस सफल÷असफल हुन्छ ।

विश्वास

तपाँई आफूमाथी विश्वास राख्नुस्, दुनियाँले तपाईमाथी राख्नेछ । यसरी दुनियाँभरको खुसी प्राप्त हुन्छ ।

कमजोरी

मेरो कमजोरी खाना हो । हाँस्दै,….मेरा नजिकका सबैलाई थाहा छ । मीठो खाना मनपर्छ । अगाडि देख्यो की रोक्नै सक्दिन ।

पैसा

मेरो हातमा ठूलो धनराशी खेलाउने लेखेको रहेछ । आफ्नो होईन, ग्राहकमहानुभावहरुले दुख गरेर कमाएको, त्यो पनि सुरक्षित तरीकाले राखिदिने । परिवारको स्वास्थ्य, शिक्षा लगायत आवश्यकता पूरा गर्ने काम पैसाले गर्छ । पैसा हातको मैला हो ।

सबैभन्दा खुसीको क्षण

मेरो जीवनको सबैभन्दा सुन्दर र खुसीको क्षण भनेको छोरी जन्मिदाको हो । अन्य खुसीका क्षण यो भन्दा गौंण छन् ।

अन्त्यमा

मेगा बैंकमा एकपल्ट आईदिनुस् । यहाँहरुको सेवा गर्ने अवसर प्राप्त होस् । यहाँहरुको विश्वास जित्दै मेगा बैंक अघि बढ्दैछ ।

बारेमा कल्पना शर्मा

यॊ पनि हेर्नुहॊस

हामी यस्तो भूगोलमा छौँ की यहाँ जुनसुकै बेला पनि ठूलो भूकम्प जाने सम्भावना छ : वरिष्ठ भूकम्पविद् डा. अधिकारी (अन्तर्वार्ता)

खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारी नेपाल भूकम्पीय उच्च जोखिममा रहेको बताउँछन् । उनका अनुसार, नेपालमा एउटै भूकम्प पूर्वदेखि पश्चिमसम्म गएको छैन । पूर्वमा १९९० सालको भूकम्प गएपछि २०४५ सालमा एउटा छुट्टै प्रकृतिको भूकम्प गयो र त्यस क्षेत्रमा ठूलो भूकम्प गएको छैन । नेपालको मध्य क्षेत्रमा २०७२ वैशाखमा गयो र पश्चिम नेपालमा ठूलो भूकम्प सम्भावना छ ।

प्रतिकृया दिनुहॊस