सुरु भयो सेयर खरिद गर्दा अनलाइनबाटै राफसाफ हुने सेवा

काठमाडौं । सेयर खरिद गर्दा खाताबाटै राफसाफ हुने सेवा आइतबारबाट सञ्चालनमा आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अनलाइन सेयर कारोबार प्रणालीमा आवद्ध यो सुविधा लिन सकिन्छ । योसँगै सेयर खरिदपछि लगानीकर्ताले चेक बोकेर ब्रोकर कार्यालय जाने झन्झटबाट मुक्ति पाउने भएका छन् ।
नेपाल क्लियरिङ हाउसको ‘कनेक्ट आइपीएस’ मा हाल आवद्ध ४८ बैंक तथा वित्तीय संस्थाहरुमा खाता भएका लगानीकर्ताले अनलाइनबाटै राफसाफ गर्नसक्ने जनाएको छ । यस्तै, आइतबारबाट थप २ वाणिज्य बैंकले कनेक्ट आइपीएसमा सदस्य बन्ने प्रक्रिया सुरु गरेका छन् । यी सबै बैंकमा खाता भएका अनलाइन प्रयोगकर्ताले सेयर खरिद गरे वापतको रकम अनलाइनबाटै भुक्तानी गर्न सक्ने क्लियरिङ हाउसले जानकारी गराएको छ ।
नेपाल क्लियरिङ हाउसका अनुसार हाललाई सेयर खरिद गर्दा मात्र अनलाइनबाट भुक्तानी गर्न सकिने छ । दोस्रो चरणमा सेयर बिक्री बपत प्राप्त रकम पनि खातामै जम्मा हुने व्यवस्था मिलाइनेछ । आगामी दिनमा कटेक्ट आइपीएसमा जोडिने बैंक तथा वित्तीय संस्थाको संख्या पनि बढ्न सक्ने क्लियारिङ हाउसले जनाएको छ ।
खरिदबिक्रीको सीमा कति ?
नेपाल क्लियरिङ हाउसका अनुसार खरिदबिक्री रकमको सीमा नेपाल राष्ट्र बैंकको नियम अनुसार हुनेछ । राष्ट्र बैंकले इन्टरनेट बैंकिङबाट एक खाताबाट अर्को खातामा रकम पठाउँदा एक पटकमा १ लाख र मासिक १० लाख रुपैयाँसम्म मात्र पठाउन पाउने व्यवस्था छ । यस्तै, इन्टरनेटबाट भुक्तानी कारोबार गर्दा दैनिक अधिकतम १ लाख रुपैयाँसम्म मात्रै पाउने व्यवस्था छ । सोही व्यवस्थाभित्र रहेर अनलाइन राफसाफ गर्न सकिने क्लियरिङ हाउसले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेप्से परिसूचकमा १९.५६ अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । …

प्रतिकृया दिनुहॊस