जीवन बीमा किन गर्ने ?

जीवन बीमा भनेको नाफा होईन । साधारणतया मानिसहरु बीमा गर्नुभन्दा बैकमा रकम जम्मा गर्नु उचित ठान्छन् । बैकमा जम्मा गरिएको रकम त बचत मात्रै हो । तर, जीवन बीमाले त सुरक्षा पनि प्रदान गर्दछ ।

मुना कुँवर

जोखिम चारैतिर छ । कुनैपनि समयमा हामी कुनैपनि खालको जोखिममा पर्न सक्छौ । यस्तो जोखिमले निम्ताउँने आर्थिक संकट भने जीवनभरका लागि कष्टदायी हुन्छ । त्यसमा पनि आम्दानी गर्ने व्यक्ति नै दुर्घटनामा पर्दा उसमा आश्रित परिवारको विचल्ली भएको थुप्रै उदाहरण देख्न सकिन्छ । भुकम्पीय दृष्टिकोणले जोखिमयुक्त मुलुकमध्ये नेपाल पनि एक हो । कुनैपनि समयमा भुकम्प जानसक्ने अध्ययनहरुले देखाएको छ । त्यसमा पनि कठिन भौगोलिक बनावटका कारण बर्षेनी प्राकृतिक विपत्तीको डर रहिरहन्छ । साथै आधुनिक जीवन शैलीका कारण शारिरीक र मानसिक रोगीको संख्या बढ्दै गएको छ भने बढ्दो यातायातको चाप, अव्यवस्थित सडकका कारण दुर्घटना पनि बढ्दै गएको छ । दुर्घटना कहिले पनि खबर गरी आउँदैन । र यस्ता दुर्घटनापछि पिडित र उसको परिवारले भोग्नुपर्ने आर्थिक संकट अझ भयानक हुन्छ । त्यसैले यस्तो अवस्थामा आईपर्ने आर्थिक संकटलाई कम गर्ने उत्तम विकल्प भनेको जीवन बीमा नै भएको बताउँछन् लाईफ इन्स्योरेन्स (कर्पोरेशन) का प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दास । ‘प्रत्येक मानिसमा बीमाको पहुँच पुग्नु आवश्यक छ । मानिसले आफनो बार्षिक आम्दानीको पाँच गुणा बढी रकमको बराबरको बीमा गर्नुपर्छ,’ उनले भने ।  बीमा भनेको जोखिम व्यवस्थापनको उचित उपकरण हो । मानिसले भविष्यमा आईपर्न सक्ने सम्भावित जोखिमलाई पहिले नै आकलन गरी बीमाको माध्यमबाट बीमा कम्पनीहरुमा आफनो जोखिम हस्तान्तरण गर्न सक्दछन् । जसबापत बीमा कम्पनीहरुले मानिसलाई आर्थिक संकट परेको समयमा आर्थिक सुरक्षा प्रदान गर्छन् ।

जीवन बीमा भनेको के हो ?

मानिसको जीवनसँग सम्बन्धित जोखिमको व्यवस्थापनको लागि गरिने बीमालाई जीवन बीमा भनिन्छ । जीवन बीमा गर्नको लागि जीवन बीमा कम्पनीसँग बीमा करार गर्नुपर्छ । यस्तो करार जतिसुकै बर्षको पनि हुनसक्ने भएतापनि सामान्यतया करार न्यूनतम ५ बर्षको हुन्छ । बीमाशुल्क कति लाग्ने भन्ने यकिन बीमा गर्ने व्यक्तिको उमेर बीमाङ्क रकम स्वास्थ्य सम्बन्धी अवस्था आदिका आधारमा गरिन्छ । बिमितको मृत्यू हुनसक्ने सम्भावना जति बढी भयो उति धेरै बीमाशुल्क भुक्तानी गर्नुपर्ने हुन्छ । यसमा बीमाशुल्क एकमुष्ट रुपमा वा पटक पटक गरी भुक्तानी गर्न सकिन्छ । बिमितको इच्छानुसार बार्षिक, त्रैमासिक, मासिक रुपमा बीमाशुल्क भुक्तानी गर्न सकिन्छ ।

जीवन बीमा भनेको सुरक्षा हो

जीवन बीमा भनेको नाफा होईन । साधारणतया मानिसहरु बीमा गर्नुभन्दा बैकमा रकम जम्मा गर्नु उचित ठान्छन् । बैकमा जम्मा गरिएको रकम त बचत मात्रै हो । तर, जीवन बीमाले त सुरक्षा पनि प्रदान गर्ने बीमक संघका अध्यक्ष एवंम् शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डे बताउँछन् । ‘बीमा गर्दा बैककै सरह ब्याज पनि आउँछ । भोलिका दिनमा कुनै दुर्घटना भएमा पनि यसले दाबी भुक्तानी गर्छ,’ उनले भने ।

जीवन बीमा निश्चित अवधिको लागि गरिन्छ । उक्त अवधि भर बीमा गर्ने व्यक्ति जीवित रहेमा बीमा गर्ने कम्पनीले बीमा गरेको रकम र त्यसमा आउँने बोनश पनि थपेर दिन्छ । अर्थात् यदि तपाईले १५ बर्षको अवधिमा लागि ५ लाखको बीमा गर्नुभएको छ भने १५ बर्षसम्ममा तपाई जीवित रहेमा कम्पनीले ५ लाख र त्यसमा आउने बोनश रकम तपाईलाई नै भुक्तानी गर्छ । तर, यदि बीमा अवधिमा भित्रमा तपाईको मृत्यू भएमा कम्पनीले तपाईले इच्छाएको व्यक्तिलाई बीमा रकम र सो अवधिसम्मको बोनश पनि भुक्तानी गर्छ । त्यति मात्रै हैन तपाईले थप केही शुल्क तिरेर असक्तता र दुर्घटना बीमाको सुविधा लिन सक्नुहुन्छ । यो सुविधा लिएपनि यदि तपाईको दुर्घटनाको कारण मृत्यू भएमा कम्पनीले तपाईले इच्छाएको व्यक्तिलाई दोब्बर भुक्तानी गर्छ । बीमा रकम, दुर्घटना बापतको रकम र बोनश रकम प्रदान गर्छ । त्यस्तै दुर्घटनाको कारणबाट तपाई अशक्त भएमा कम्पनीले तपाईले निश्चित अवधिसम्ममा तपाईलाई किस्तामा रकम प्रदान गर्छ । ताकी तपाई आम्दानी गर्न नसकेको अवस्थामा पनि पैसाको लागि अरुको भर पर्नु नपरोस । त्यसैले बीमा सुरक्षा हो ।

बीमा बचत पनि हो

बीमा जबरजस्ती गरिने बचत पनि हो । उसो त हामी बैकमा रकम जम्मा गरेर बचत पनि गर्न सक्छौ । तर, बैकमा राखिएको रकम कुनैपनि समयमा निकाल्न सकिन्छ । निकाल्न र राख्नसक्ने सुविधा भएपछि आवश्यकता पर्दा मानिसले सबैभन्दा पहिला बैकमा जम्मा गरेको रकम सम्झन्छ । सोही रकम प्रयोग पनि गर्छ । त्यस्तै, मानिसले आम्दानीबाट खर्च घटाएर मात्रै बैंकमा जम्मा गर्छ । कहिलेकाही खर्च बढी भएर बचत नहुन पनि सक्छ । तर, बीमा गरेपछि किस्तामा भुक्तानी गरिराख्नुपर्छ । बीमा योजना व्यतित हुने डरले पनि मानिसले जताबाट भएपनि रकम जुटाएर बीमाशुल्क भुक्तानी गर्छ । त्यसैले यो फोर्सफुल्ली सेभिगं पनि हो । त्यस्तै, बैंकमा जस्तो यो रकम तुरुन्तै निकाल्न मिल्दैन । त्यसैले मानिसले सामान्य खर्चको लागि यो रकमको प्रयोग गर्न पनि सक्दैनन् ।

१७ प्रतिशत पुग्यो बीमाको पहुँच

बीमा समितिको तथ्यांकअनुसार चालु आर्थिक २०७५÷७६ को पुस महिनासम्ममा नेपालमा बीमाको पहुँच १७ प्रतिशत पुगेको छ । समितिले नेपालको जनसंख्या २ करोड ९४ लाख ७० हजार ९२६ लाई अनुमान गरी गणना गर्दा बीमा पहुँच १७ प्रतिशत पुगेको देखिएको हो । उक्त अवधिमा ५२ लाख ५० हजार १२७ वटा बीमालेख जारी भएका छन् । जसमध्ये १६ लाख ५२ हजार ४५३ वटा बैदेशिक बीमालेख जारी भएका छन् । अन्य बीमालेखको संख्या भने ५२ लाख ५० हजार १२७ रहेको छ । समितिले २ लाख ६२ हजार ५०६ वटा बीमालेख दोहोरिएको अनुमान गरेको छ । जुन कुल जारी बीमालेखको ५ प्रतिशत हो । बैदेशिक रोजगार र दोहोरिएको बीमा योजना बीमा योजनालाई घटाउने हो भने बास्तविक बीमा योजनाको संख्या ४९ लाख ८७ हजार ६२० मात्रै जारी भएको देखिन्छ । चालु आवको अन्त्यसम्ममा भने नेपालमा बीमा पहुँच २० प्रतिशत पुग्ने समितिका अध्यक्ष चिरञ्जीवी चापागाईको दाबी छ ।

 

जीवन बीमाका प्रकार

आजीवन जीवन बीमा, सावधिक जीवन बीमा र म्यादी जीवन बीमा बीमाका मुख्य प्रकार हुन् । यही बीमालाई आधारित बनाएर कम्पनीहरुले विभिन्न खालका बीमा योजना निर्माण गरेका छन् । आजीवन जीवन बीमामा निश्चित अवधिसम्ममा बीमा कम्पनीलाई बीमाशुल्क भुक्तानी गरिन्छ । बिमितको मृत्यू भएपछि मात्रै कम्पनीले इच्छाएको व्यक्तिलाई उक्त रकम प्रदान गर्छ । यस्तो बीमा अन्य बीमाहरु भन्दा सस्तो हुन्छ ।

सावधिक जीवन बीमामा तोकिएको अवधिसम्म किस्ताबन्दी रुपमा बीमाशुल्क भुक्तानी गर्दै जानुपर्छ । बीमा अवधि समाप्त भएपछि बिमित जिवित छ भने बिमितलाई कम्पनीले बीमा रकम र बोनश रकम फिर्ता गर्छ । यदि बिमितको मृत्यू भएमा उसले इच्छाएको व्यक्तिलाई भुक्तान गर्छ । यस्तो बीमा सामान्यतया पाँच बर्षदेखि पचास बर्ष अवधिको लागि गर्ने गरिन्छ । यस बीमा अन्र्तगत बीमा अवधि बाँकी रहँदा नै विमितको मृत्यू भएमा निजको हकवालाले र निज जीवितै रहेमा अवधि सकिएपछि निजलाई नै बीमाको रकम प्रदान गरिन्छ ।

म्यादी जीवन बीमा अन्य जीवन बीमाहरु भन्दा भिन्न प्रकारको छ । यस्तो खालको बीमा गर्दा जोखिम रहने अवधिसम्मको लागि मात्रै गरिन्छ । यदि सो अवधिमा कुनै दुर्घटना भएमा कम्पनीले दाबी भुक्तानी गर्छ । तर, दुर्घटना नभएमा कम्पनीले दाबी भुक्तानी गर्दैन ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

आईएमई लाईफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा चौलागाई नियुक्त

काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् …

प्रतिकृया दिनुहॊस