बैशाख २२ गते आइतवार देखि २८ गते शनिवार सम्मका राशिफल

यस हप्ता सूर्य मेष राशिमा । मङ्गल वृषमा । राहु मिथुनमा । बृहस्पति, शनि र केतु धनुमा । बुध मेषमा । शुक्र २६ गतेसम्म मीनमा रहने र उपरान्त मेषमा जाने छन् । चन्द्रमाले मेष राशिदेखि कर्कट राशिसम्मको यात्रा गर्नेछन् ।

मेषः
साता सुधारोन्मुख देखिएको छ । शुरुको दिन मानसम्मान प्राप्त हुने, यशकृति बढ्ने, मानसिक शान्ति मिल्ने छ । मिष्ठान्न भोजन, रमाइलो वातावरण जुट्ने छ । रपनि केही धनोन्माद बढ्नसक्ने भय देखिन्छ, सञ्चित धनको खर्च हुनसक्ने छ भने अपेक्षा गरिएको धन प्राप्ति हुन अबरोध हुनसक्ने छ संयमित हुनु बुद्धिमानी हुनेछ । सामाजिक तथा परोपकारजन्य कार्यमा समय दिनुपर्ने छ । बुध र बिहीवार शारीरिक फुर्तिफार्ति एवं उमङ्ग बढ्ने तर परिणाम अपेक्षा गरेअनुसार नहुनपनि सक्ने छ । तथापि रोकिएर रहेका केही काम फत्ते गर्नसकिने छ । दैनिकी कामकार्य एवं व्यवसाय तथा पेशा आदिबाट भने सामान्य लाभ मिल्ने छ । आफ्नो काममा समय दिई कर्मयोगको साधनालाई महत्त्व दिनु उचित हुनेछ । शुक्र र शनिवार केही पारिवारिक समस्या थपिने सम्भावनालाई ग्रहगोचरले लक्षित गरिरहेको छ । स्वास्थ्यमा पनि प्रतिकूलता आउनसक्ने छ । वादविवादको सम्भावना भएकोले जनव्यवहारमा ख्याल पुर्याउनु होला । अप्रत्यासित लाभ, सफलता र उपलब्धि हुनेछ । यो साता तपाईले भगवान सूर्यनारायण, गुरुगणपति एवं भगवान श्रीहरि र हनुमानदेवको उपाशना तथा श्रद्धाभक्ति गर्नु शुभकर हुनेछ ।

वृषः
साता सुधारोन्मुख देखिन्छ । रपनि आइतवार खर्चप्रद छ । दैनिकी आवश्यकता बढ्ने तथा किनमेल एवं ऋण तिरनतारन हुनेछ । मानसिक उद्दिग्नता बढ्नसक्ने छ । सोमवारबाट क्रमशः स्थितिमा सुधार आउने छ । अपेक्षित केही कामकार्यमा सफलता पाउनसकिने छ । मानसिक एवं शारीरिक उमङ्ग बढ्ने छ । व्यवहारिक कर्माभ्यास बढाउन सकिने छ । रमाइलो वातावरण र मिष्ठान्न भोजनको अनुकूलता मिल्नसक्ने छ । सामाजिक कामकार्यमा संलग्न हुन पाइनेछ । खासै नसोँचेको तर्फबाट सहयोग जुट्ने छ । शुक्र र शनिवार शारीरिक पराक्रम बढेर आउने छ । रोकिएर रहेका कामकार्य अघि बढाउन सकिने छ । खेलकुद कर्मीको लागि विशेष सफलता मिल्ने समय छ । अन्य क्षेत्रका व्यक्तिलाई पनि प्रतिस्पर्धाजनित काममा सफलता मिल्ने छ । सांसारिक पुरुषार्थ देखाउन सकिने छ । यो साता भगवान सूर्यनारायणको साथमा महावीर हनुमान, गुरु गणपति, माँ बगलामुखी एवं भैरवदेवको भक्ति स्तुति एवं उपाशना गर्नु शुभ फलदायक हुनेछ ।

मिथुनः
साता मध्यम छ । आइतवार व्यवसायिक प्रगति हुने र कामकार्यमा सहज वातावरण सृजना हुनेछ । उद्योगधन्दा फस्टाउने छ । क्रमशः घरायसी आवश्यकता बढ्ने र किनमेल आदिमा खर्च गर्नुपर्ने छ । इष्ट कामकार्यमा पनि अबरोध सृजना नहोला भन्नसकिन्न । धनमाल हराउन वा चोरी हुनसक्ने र चोटपटक आदिको भय देखिएको छ ख्याल गर्नु होला । गोचर प्रतिकूल रहने भएकोले जोखिम पूर्ण काममा धैर्यधारण गरेकै उचित हुनेछ । बुद्धिगुम हुनसक्ने भएकोले यात्रादिमा विशेष आवश्यक सावधानी अपनाउनु होला । बुधवारबाट स्थितिमा सुधार आउने छ । रोकिएर रहेका कामकार्यमा सफलता मिल्दै जाने छ । व्यवसायिक उन्नति प्रगति हुनेछ । मानसिक शान्ति एवं शारीरिक स्फुर्ति बढ्ने छ । मनखुश वातावरण बन्ने छ । विशेष योजनामाथि गम्भीर छलफल हुनसक्ने छ । क्रमशः बोलीव्यवहारले मान्छेको मन जित्न सकिने छ । वाकवृति हुनेहरुको लागि समय अनुकूल रहने छ । नयाँ नाता सम्बन्ध जोडिनसक्ने सम्भावना छ । यो साता तपाईले महावीर हनुमान, गुरुगणपति र भैरवदेवको स्तुति आराधना गर्नु शुभफल बृद्धिदायक हुनेछ ।

कर्कटः
साता शुरु र अन्तिम उपलब्धिमूलक छ । शुरुमा व्यवसायिक लाभ एवम् सफलता प्राप्त गर्नसकिने छ । उच्चस्तरीय संपर्क जोडिने र कामकार्यमा सहयोग पनि मिल्ने छ । राजनीति, समाज सेवा तथा नोकरीमा यश तथा मान बढ्ने छ । जिम्मेवारी एवं पदीय हैसियत प्राप्त गर्नसकिने छ । उद्योग धन्दा तथा पेशाकर्म फस्टाउने छ । आफ्नो कर्मक्षेत्रको लागि समय दिई कर्मयोगको साधना बढाउनु बुद्धिमानी हुनेछ । बुध र बिहीवार खर्चको योग परेको छ जसले गर्दा व्ययको मात्रा बढेर जाने छ । भने बढी चाहना गरेको काममा अबरोध आइपर्ने सम्भावना छ । खरिद गरिएको मानसमान पनि नक्कली पर्न सक्ने वा फसिनसक्ने सम्भावना छ ख्याल गर्नु होला । पारिवारिक कुनै सदस्यको स्वास्थ्यमा समस्या आइपर्नसक्ने छ । जनव्यवहारमा धैर्यधारण गर्नु तथा संयम अप्नाउनु उपयुक्त हुनेछ । शुक्रवार पछिको समय अनुकूल रहने छ । स्थितिमा सुधार भएर आउने छ । शारीरिक एवं मानसिक उर्जा बढ्ने छ । कामकार्यमा सफलताको आशा पलाउने छ । तपाईलाई यो साता माँ बगलामुखी, माँ इन्द्रायणी र भैरवदेवको उपाशना गर्नु शुभदायक हुनेछ ।

सिंहः
साता क्रमशः अनुकूल बन्दै गएको छ । शुरुमा केही अपयश र व्यवसायिक तथा पेशागत कर्मक्षेत्रमा अबरोध वा ढिलासुस्तीको सामना गर्नुपर्ने देखिएको छ । धैर्यधारणपूर्वक जनव्यवहार गर्नाले क्रमशः सफाइ मिल्नेछ । क्रमशः उच्चवर्ग तथा व्यक्तित्त्वसँग संपर्क एवं संबन्ध जोडिने छ । कामकाय तथा जागिर आदिको भरोसा एवं आश्वासन मिल्न सक्नेछ जसले मनमा महत्त्वाकांक्षा बढाउने छ । व्यवहारिकतालाई महत्त्व दिएर अवसरको लाभ उठाउनु बुद्धिमानी हुनेछ । राजनीति तथा समाजसेवा एवं जागिर आदिमा भूमिका मिल्नसक्ने छ । बुधवार पछिको समय भने अल्लि आशा अपेक्षा ठूलो हुने तर प्राप्ति सोँचेजस्तो नहुनपनि सक्ने छ । बढी चाहना गरेको काममा दृष्यादृष्या अबरोध सृजना हुनसक्ने छ । उद्योगधन्दा आदिबाट पनि अल्प लाभमा चित्त बुझाउनु पर्ने छ । शुक्र र शनिवार साविकको भन्दा केही बढी अनुपातमा खर्चको मात्रा बढ्ने छ । कामकार्यमा पनि दिक्कत एवं अड्चन आइलाग्नसक्ने छ । स्वास्थ्य पनि प्रभावित हुने सम्भावना छ ख्याल गर्नुहोला । यो साता तपाईले भगवान सूर्यनारायण, गुरुगणपति एवं महावीर हनुमान र भैरवदेवको स्तुति आराधाना उपाशना गर्नु शुभप्रद हुनेछ ।

कन्याः
शुरुको दिन थोरै विपरित रहेपनि शेष साता आंशिक उपलब्धिमूलक देखिएको छ । आइतवार स्वास्थ्य तथा शारीरिक कष्टको सामना गर्नपर्ने देखिन्छ ।सोम मङ्गलवार कामकार्यमा अपयश तथा कान्तिमा मलिनता रहनसक्ने बाबजुत पनि लाभ एवं उपलब्धि मिल्ने छ । क्रमशः सफलता कारक रहनेछ । स्वास्थ्यमा सुधार आउने छ । धार्मिक एवं सामाजिक कार्यसम्पादन गर्नसकिने छ । काम कार्यमा अग्रता मिल्ने छ । उच्चतह तथा निकाय वा व्यक्ति विशेषसँग परिचय बढ्ने एवं संबन्ध स्थापित हुनेछ । मानसम्मान मिल्ने छ । अवसरलाई व्यवहारिक ढङ्गले सदुपयोग गर्नु बुद्धिमानी हुनेछ । विशेष ठानिएको र बढी महत्त्व दिएको काममा भने रोकावट आउने छ । रपनि राजनीति, जागिर तथा समाज सेवा आदिमा सामान्य लाभप्रद रहने छ । यो साता तपाईले भगवान सूर्यनारायण, गुरु गणपति, महावीर हनुमान एवं माँ बगलामुखी र भैरवदेवको स्तुति भक्ति उपाशना गर्दै गर्नाले अशुभफललाई घटाउन तथा शुफफललाई बढाउन मद्दत हुनेछ ।

तुलाः
साता सुधारोन्मूख देखिएको छ । आइतवार मनोरञ्जनात्मक रहने छ । विपरित लिङ्गीबाट साथसहयोग मिल्ने छ । व्यापार व्यवसाय एवं पेशाबाट लाभ हातपार्न सकिने छ । भ्रमणको पनि सम्भावना देखिएको छ । सोम र मङ्गलवार स्वास्थ्यमा मन्दता आउनसक्ने छ । कार्यक्षेत्रमा पनि अल्लि संघर्षको सामना गर्नुपर्ने छ । खर्च पनि बृद्धि हुनाले मानसिक तनाब पनि बढ्ने हो कि भन्ने डर देखिन्छ । खानपान एवं आत्मसंयम गर्न जरुरी छ । रपनि आकस्मिक लाभ हुनेछ । बुधवारदेखि समय थप अनुकूल बन्दै जाने छ । सामान्यतया अपयशको बाबजुत भाग्य बृद्धि हुनेछ । काम कार्यमा सफलता र व्यवसायिक उन्नतिको साथमा आर्थिक लाभले सन्तुष्टि पनि मिल्नेछ । विशिष्ट व्यक्ति तथा उच्चतहसँग सम्बन्ध वा संपर्क जोडिने छ । मुल्याङ्कन बढ्दै जानेछ । राजनीति, समाजसेवा तथा जागिर आदिमा सम्मान र जिम्मेवारी मिल्ने छ । समयको सदुपयोग गरी स्वकर्मलाई समय दिनु र उपलब्धि लिनु बुद्धिमानी हुनेछ । यो साता तपाईले भगवान सूर्यनारायण, गुरुगणपति र भगवान लक्ष्मीनारयाणको साथमा माँ इन्द्रायणीको आराधना गर्नु हितप्रद हुनेछ ।

वृश्चिकः
साताको पूर्व र अन्तिम खण्ड उपलब्धिमूलक रहने छ । शुरुमा व्यापार व्यवसाय एवं कर्मक्षेत्रमा उन्नति हुनगई आर्थिक लाभ एवं उपलब्धि हातपार्न सकिने छ । खेलकुद आदि प्रतिस्पर्धामा सफलता मिल्ने छ । स्वास्थ्य लाभ एवं कान्तिमा बृद्धि हुनेछ । दाम्पत्य तथा प्रेमसम्बन्धमा सुधार एवं सहजपन आउनेछ । विपरित लिङ्गीबाट साथ मिल्ने छ । तर अल्लि चनाखो हुन जरुरी छ । कपट प्रेमको फन्दामा परिनसक्ने तथा विवाह प्रसङ्गमा छलछाम हुनसक्ने छ । लामो तथा छोटो दुरीको यात्रा हुनक्ने छ । बुधवार र बिहीवार स्वास्थ्यमा मन्दि आउने छ । दीर्घरोगीले आहारविहारादिमा बढी ख्याल पुर्याउनु पर्ने देखिएको छ । गर्न खोजेको कामकार्यमा पनि अबरोध आउनसक्ने छ । धैर्यधारण गर्नु बुद्धिमानी हुनेछ । अकस्मिक लाभको पक्ष भने बलियो छ । शुक्रबाट स्थितिमा अनुकूलता बढ्ने छ । काम कार्य एवं व्यवसायमा सुधार आउने छ । केही अपयशको बाबजुत पनि भाग्य बृद्धि हुनेछ । यो साता तपाईले भगवान गुरुगणपति र महावीर हनुमान एवं भैरवदेवको आराधना उपाशना गर्नाले ग्रहजनित बाधाअड्चनलाई हटाउन तथा शुभफल बढाउन मद्दत हुनेछ ।

धनुः
साताको शुरुमा समयको सदुपयोग गर्नाले विद्यार्थी भाइबहिनीहरुले पढाईमा प्रगति गर्नसकिने छ । अन्य व्यक्तिलाई पनि बुद्धिविकास हुनेछ छ । तर बढी बाठो बन्न खोज्दा भने गोपनीयता खुस्कनसक्ने सम्भावना छ ख्याल गर्नुहोला । क्रमशः शरीरमा आरोग्यलाभ हुने र कान्तिमा बृद्धि हुनेछ । जोश जाँगर बढेर आउने र प्रख्याति मिल्ने छ । खेलकुद् आदि प्रतिस्पर्धामा विजयी भइनेछ । बुध र बिहीवार रङ्गरास बढ्ने छ । रमाइलो यात्राको संभावना छ । प्रेम तथा दाम्पत्य सम्बन्धलाई फराकिलो गराउन सकिने छ । विपरित लिङ्गीबाट साथसहयोग मिल्ने छ । व्यापार व्यवसाय आदि पेशाकर्मबाट लाभ गर्न सकिने छ । शुक्र र शनिवार स्वास्थ्यमा समस्या देखिन सक्ने छ । दीर्घरोगीले बढी सावधान अप्नाउनु पर्ला भने अन्यले आहार विहार आदिमा ख्याल पुर्याउनु होला । अप्रत्यासित धनलाभको सम्भावना पनि सुरक्षित छ । यो साता तपाईले भगवान सूर्यनारायण, महावीर हनुमान एवं भैरवदेव र माँ बगलामुखीको स्तुति उपाशना गर्नु शुभप्रद हुनेछ ।

मकरः
आइतवार अल्लि अलमल एवं विचार विभेदको सम्भाना छ । सोमवारबाट केही सुधार भएर जाने देखिएको छ । व्यवहारमा आत्मप्रसंशाको चाहना झल्कने र मुल्याङ्कनमा कमि आउनसक्ने संभावना छ । तथापि कर्म अनुसार उपलब्धि मिल्ने छ, कर्मयोगको साधनालाई समय दिनु उचित हुनेछ । परिवारमा सदस्य थपिनसक्ने तथा टाढा गएको आफन्तिसँग भेट्घाट हुनसक्ने छ वा खबर आउनसक्ने छ । विद्यार्थी भाइबहिनीले अध्ययनमा लगाव बढाउन बल गर्नुपर्ला । बुध र बिहीवार जमर्को ठूलै हुने तर अन्तिममा काम बिग्रनसक्ने छ । बुद्धि पुर्याएर सर्तमा गएर विपक्षिसँग सम्झौता गर्नु बुद्धिमानी हुनेछ । शुक्र र शनिवार प्रेम एवं दाम्पत्यसम्बन्धमा माधर्युता बढ्ने छ । विवाह योग्य युवायुवतीको लागि विवाह प्रसङ्ग चल्नसक्ने छ । व्यापार व्यवसायबाट राम्रो लाभ गर्नसकिने छ । रमाइलो ठाऊँको भ्रमणको योग छ । यो साता तपाईले भगवान सूर्यनारायण, पवनपुत्र महावीर हनुमान, भैरवदेव एवं गुरु गणपति र माँ बगलामुखीको श्रद्धाभक्ति एवं स्तुति गर्नु शुभदायक हुनेछ ।

कुम्भः
साता मध्यम फलदायी रहेको छ । शुरुको दिन शारीरिक स्फुर्ति र कामकार्यमा रुचि बढेर आउने छ । रोकिएर रहेको कामकार्यमा सफलता प्राप्त गर्नसकिने छ । दाजुभाइ बीचको सम्बन्धमा पनि सुधार आउनेछ । सोम र मङ्गलवार केही प्रतिकूल देखिएको छ । सहकर्मीसँग विचारविभेद सँगै वादविवादजन्य स्थिति पनि बन्नसक्ने भय देखिएको छ । सावधानी अप्नाउनु होला अन्यथा पश्चाताप पर्नसक्ने छ । पारिवारिक झमेला पर्नसक्ने सम्भावना पनि देखिन्छ । क्रमशः जनव्यवहारमा प्रभाव बढेर जानेछ । सामाजिक सम्बन्धको विकास हुनेछ । व्यापार व्यवसाय एवं कर्मक्षेत्रमा उन्नति हुनगई लाभ मिल्ने छ । अध्ययन अध्यापन तथा लेखन आदि कार्यमा सफलता मिल्ने छ । नीतिगत कार्यमा कुशलता मिल्ने छ । विद्याको बलले मान्छेलाई प्रभाव पार्न सकिने छ । सहयोगी मिल्ने छन् । व्यवसायिक उन्नति हुनेछ । पौरख बढेर आउने र विपक्षीलाई घुँडा टेकाउन सकिने छ । यात्रा योजना तयार हुनेछ । यो साता तपाईले गुरु गणपति र भैरवदेवको श्रद्धाभक्ति गर्नु तथा दीनदुःखी असहायलाई सहयोग गर्नु शुभकर हुनेछ ।

मीनः
साताको पूर्वखण्ड कामकार्यमा कुशलता, पौरख गर्नसकिने छ । मान्छेहरुसँग गरिने बोलीव्यवहारमा भने सावधानी अप्नाउनु पर्ने छ । शारीरिक एवं व्यवहारिक पुरुषार्थ गर्ने जमर्को हुनेछ । व्यवसायबाट आर्थिक उन्नति हुनेछ । रोकिएर रहेका केही कामलाई फत्ते गर्न सकिने छ । प्रतिस्पर्धा आदि कार्यमा अग्रता मिल्नसक्ने छ । तथापि बुध र बिहीवार अल्लि चनाखो हुन र बुद्धिले कामलिन पर्ने समय छ । आलोचनाको सामना गर्न पर्ने देखिएको छ । रपनि नसोँचेको ठाऊँ वा व्यक्तिबाट आकस्मिक रुपमा साथ सहयोग मिलेर लाभ एवं उपलब्धि प्राप्त हुनेछ । शुक्र र शनिवार ज्ञानविज्ञान बढ्ने, अध्ययनमा मन जाने छ । तर बढी चतुर्याई गर्न खोज्दा आफ्नै गोपनीयता खुस्कने र पछि पछुतो पर्नसक्ने सम्भावना पनि छ ख्याल गर्नुहोला । बढी इच्छाएको काममा अबरोध आउनसक्ने छ । यो साता तपाईले भगवान महावीर हनुमान एवं भैरवदेव र साथमा भगवान सूर्यनारायणको श्रद्धाभक्ति एवं उपाशना आराधना गर्नु शुभदायक हुनेछ ।

पुनश्चः
जन्मकालमा सम्बन्धित ग्रह अनुकूल हुनेहरूलाई राशिफलमा बताइएको शुभफल बढी घट्ने र अशुभफल कम घट्ने हुन्छ । भने जन्मकालमा सम्बन्धित ग्रह प्रतिकूल हुनेहरूलाई राशिफलमा बताइएको अशुभजन्य फल बढी घट्ने र शुभफल कम घट्ने हुन्छ ।
साथै, विदेशमा हुनेहरूलाई नेपालसँग हुने समयान्तर बमोजिम पश्चिममा भए अघि र पूर्वमा भए पछि फल लाग्ने हुन्छ ।

– ज्यो.दीपक गुरु (डबल गोल्डमेडलिष्ट) ९८४१२२३१२६, ९८०३८७९९७८, ०१४४३१७४७

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

अभिनेत्री कंगनालाई भाजपाले दियो लोकसभाको टिकट

काठमाडौँ । बलिवुड अभिनेत्री कंगना रनावत भारतको लोकसभा निर्वाचनमा उम्मेदवार बनेकी छन् । अभिनेत्री कंगनालाई …

प्रतिकृया दिनुहॊस