मुम्बईसँग पराजित भयो दिल्ली, सन्दीप लामिछाने बेञ्चमै

नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत गएराति भएको खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई ४० रनले पराजित गरेको छ ।

जारी सिजनमा यी दुई टोलीबीच दोस्रो भेट भएको हो । अघिल्लो भेटमा दिल्लीले मुम्बईलाई उसकै घरेलु मैदानमा पराजित गरेको थियो भने गएराति मुम्बईले दिल्लीलाई उसकै घरेलु मैदानमा पराजित गरी बदला लिएको छ ।

टस जितेर पहिला ब्याटिङ गर्दै मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १६८ रन बनाएको थियो । १६९ रनको लक्ष्य पाएको दिल्लीले २० ओभरमा नौ विकेट गुमाएर १२८ रनमात्र बनाउन सक्यो । दिल्लीका लागि शिखर धवनले सर्वाधिक ३५ रन जोड्दा अक्षर पटेलले २६ रन बनाए । यस्तै पृथ्वी शाले २० तथा क्रिस मोरिसले ११ रन बनाए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रनको योगदान दिन सकेनन् ।

मुम्बईका राहुल चाहरले ३ तथा जसप्रित बुम्राहले २ विकेट लिए ।

यसअघि मुम्बईका लागि क्रुनाल पाण्ड्याले अविजित ३७ रन जोड्दा क्विन्टन डी ककले ३५ रन, हार्दिक पाण्ड्याले ३२, कप्तान रोहित शर्माले ३० र सूर्यकुमार यादवले २६ रन बनाएका थिए । दिल्लीका कागिसो राबडाले २ विकेट लिए ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेलाई भने हिजो पनि दिल्लीले मैदानमा उतारेको थिएन ।

दिल्लीलाई पराजित गरेसँगै मुम्बई लिगको दोस्रो स्थानमा उक्लिएको छ । मुम्बईले ९ खेलबाट १२ अंक जोडेको छ । पराजित दिल्ली ९ खेलबाट १० अंक जोडेर तेस्रो स्थानमा छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बहराइनसँग नेपाल पराजित

काठमाडौँ । नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनौटअन्तर्गत बहराइनसँग पराजित भएको छ । …

प्रतिकृया दिनुहॊस