मुम्बई सामू बैंगलोर निरीह, पाँच विकेटले पराजित

मुम्बई । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरको खराब लय जारी छ । गएराति सम्पन्न खेलमा बैंग्लोरलाई मुम्बई इन्डियन्सले ५ विकेटले हराएको छ ।

मुम्बईको वाङ्खडे रंगशालामा बैंगलोरले दिएको १७२ रनको लक्ष्य घरेलु टोली मुम्बईले १९ ओभरमा ५ विकेट गुमाएर पुरा गर्‍यो । उसका लागि क्विन्टन डी ककले ४० रन जोड्दा हार्दिक पाण्ड्याले अविजित ३७ रनको योगदान दिए । बलिङतर्फ बैंगलोरका युजभेन्द्र चाहल र मोइन अलीले २–२ विकेट लिए ।

मुम्बईका लागि अन्तिम दुई ओभरमा २२ रन बनाउनै पर्ने चुनौती थियो । बैंगलोरका कप्तान विराट कोहलीले बलिङको जिम्मा पवन नेगीलाई दिए ।

नेगीको सामना गर्दै मुम्बईका हार्दिक पाण्ड्याले विस्फोटक ब्याटिङ गर्दै सोही ओभरमा नतिजा आफ्नो पक्षमा पारिदिए । पहिलो बलमा कुनै रन लिन नसकेका उनले दोस्रो बलमा छक्का प्रहार गरे । तेस्रो बलमा चौका प्रहार गरेका उनले चौथो बलमा फेरि चौका प्रहार गरे । पाँचौ बलमा छक्का प्रहार गर्दै जित निकट पुगेको मुम्बईलाई नेगीले अन्तिम बल ‘वाइड’ दिए । अर्को बलमा एक रन लिँदै मुम्बईले जित हासिल गरेको हो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १७१ रन बनाएको थियो । उसका लागि एबी डे भिलायर्सले ७५ रन जोड्दा मोइन अलीले ५० रन बनाए । मुम्बईका लागि लसिथ मालिंगाले ४ विकेट लिए ।

यो जितसँगै मुम्बई ८ खेलबाट १० अंक जोडेर लिगको तेस्रो स्थानमा उक्लिएको छ । पराजित बैंगलोर भने ८ खेलबाट २ अंक जोडेर पुछारमा यथावत रहेको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसिसी प्रिमियर कपमा नेपालको लगातार चौथो जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित दर्ता गरेको छ । …

प्रतिकृया दिनुहॊस