स्वास्थ्य बीमा कार्यक्रमको ३ वर्ष : ४२ जिल्लामा सेवा विस्तार

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रम शुरू भएको ३ वर्षमा १५ लाख ७१ हजार ४८८ जना नेपाली यसबाट लाभान्वित भएका छन् । साथै, ५ लाख १२ हजार ८१७ बीमितले सेवा उपभोग गरेका छन् । सरकारले नागरिकको स्वास्थ्योपचार सहज बनाउन २०७२ चैत २५ देखि स्वास्थ्य बीमा कार्यक्रम शुरू गरेको थियो । गत चैत २५ सम्म आउँदा ५ दशमलव ३३ प्रतिशत नेपाली यसबाट लाभान्वित भएको स्वास्थ्य बीमा बोर्डको तथ्यांकले देखाउँछ ।

पहिलो चरणमा कैलाली, बागलुङ र इलाममा यो कार्यक्रम शुरू गरिएको थियो । ३ वर्षमा पश्चिममा बैतडीदेखि पूर्वमा मोरङसम्म ४२ जिल्लामा यो सेवा विस्तार भइसकेको छ । बाँकी सबै जिल्लामा १ वर्षभित्र सेवा विस्तार गर्ने योजना रहेको बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले बताए । ‘सरकारले बजेट मार्फत आगामी असारभित्र सबै जिल्लामा स्वास्थ्य बीमा विस्तार गर्ने लक्ष्य लिएको छ । तर, आवश्यक पूर्वाधार र प्राविधिक समस्याका कारण सम्भव देखिएन,’ उनले भने ।

स्वास्थ्य बीमामा महिलाको अंश बढी देखिएको छ । यस अवधिसम्म ८ लाख ३२ हजारभन्दा बढी महिलाले स्वास्थ्य बीमा गराएका छन्, जसअनुसार कुल बीमितमा महिलाको अंश ५३ प्रतिशत देखिन्छ । यस्तै, ७ लाख ३९ हजारभन्दा बढी पुरुष यस सेवाबाट लाभान्वित भएका छन् । यस कार्यक्रम अन्तर्गत परिवारको सामूहिक स्वास्थ्य बीमा हुने गर्छ । नेपालको कुल जनसंख्यामा महिलाको संख्या बढी छ । सोही कारण स्वास्थ्य बीमामा महिला सहभागिता बढी देखिएको हो ।

स्वास्थ्य बीमामा आबद्ध अति गरीब तथा विपन्न नागरिकको अंश २० दशमलव ४९ प्रतिशत छ । त्यस्ता परिवारको निःशुल्क स्वास्थ्य बीमा हुन्छ । सोही सुविधा लिएर ३ लाख २२ हजार १३४ जनाले स्वास्थ्य बीमा गराएका छन् । ‘स्वास्थ्य बीमा नियमावली, २०७५’ अनुसार यस सेवामा सहभागी हुन पाँच सदस्यीय परिवारले वार्षिक रू. ३ हजार ५०० बीमाशुल्क तिर्नुपर्छ । यस बापत उनीहरू रू. १ लाखसम्मको सुविधा उपभोग गर्न पाउँछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कसरी रहने स्वास्थ्य ? सिकाउँदै ‘भान्साघर औषधालय’ कार्यक्रम (तस्वीरहरु)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले स्वास्थ्य रहन अपनाउनुपर्ने उपायबारे जनचेतना प्रदान गरिरहेको छ …

प्रतिकृया दिनुहॊस