यू–१९ विश्वकप एसिया छनोट : मलेसियामाथि नेपालकाे सानदार जित

काठमाडौं । आईसीसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेटको एसिया छनोटको तेस्रो खेलमा नेपालले आयोजक मलेसियालाई पराजित गरेको छ । सोमबार भएको खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको हो ।

क्वालाम्पुरस्थित बायुमास ओभलमा मलेसियाले दिएको ९३ रनको सामान्य लक्ष्य नेपालले १३ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।

नेपालको जितमा ओपनर रित गौतमले अविजित ३९ रन बनाए  । यस्तै आसिफ शेखले २६ तथा पवन सर्राफले १९ रन जोडे । कप्तान रोहित पौडेल ६ रनमा अविजित रहे ।

मलेसियाका साफीक स्याकिर र सुक्री मादेलीले १/१ विकेट लिए  ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ३३ ओभर ५ बलमा अलआउट हुँदै ९२ रन बनाएको थियो ।

नेपाली बलर चम्किएपछि मलेसियाका ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् ।

मलेसियाका लेजाड ड्यानियल बिन अहमेदले सर्वाधिक ३७ रन बनाए । यस्तै कप्तान मोहमद अमिरले १३ तथा हाकिम हरिसनले १० रन बनाए ।

नेपालका पवन सर्राफ र कुशल मल्लले ३/३ विकेट लिए । कमल सिंह ऐरीले २ विकेट हात पारे ।

जितसंगै नेपालले ३ खेलबाट ४ अंक जोडेको छ । र, नेपाल दोस्रो स्थानमा उक्लिएको छ । अंकविहीन मलेसिया पुछारबाट दोस्रो स्थानमा छ ।

खेलमा म्यान अफ दि म्याच नेपालका पवन सर्राफ चुनिए ।

अब नेपालले मंगलबार ओमानसंग खेल्ने छ ।

यसअघि छनोटको पहिलो खेलमा नेपालले सिंगापुरलाई २१७ रनले पराजित गरेको थियो । तर, दोस्रो खेलमा बर्षा बाधक बन्दा नेपाल युनाईटेड अरब इमिरेट्स (युएई) संग डकवर्थ लेविस (डिएल) पद्दतिको आधारमा १ रनले पराजित भएको थियो ।

सिंगल राउण्ड रोबिनका आधारमा हुने छनोटको विजेताले सन् २०२० मा दक्षिण अफ्रीकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दीपेन्द्रसिंह ऐरीको जर्सी १ हजार ५० डलरमा बिक्री

काठमाडौं । अमेरिकाका नेपाली क्रिकेट टीमका खेलाडी दीपेन्द्रसिंह ऐरीको जर्सी सबैभन्दा बढी मुल्यमा विक्री भएको …

प्रतिकृया दिनुहॊस