चैत दोस्रो साता आयोजना हुने लगानी सम्मेलनको तयारी तीव्र

काठमाडौँ । लगानी प्रवद्र्धनका लागि चैतको दोस्रो साता आयोजना गर्न लागिएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनको तयारी तीव्र पारिएको छ । सम्मेलनमा अहिले विभिन्न देशबाट लगानीकर्ता, विकास साझेदार, कूटनीतिक प्रतिनिधि, विज्ञलगायत पाँचसय जनाभन्दा बढी विशिष्ट व्यक्तित्व आउने निश्चित भएको लगानी बोर्डले जानकारी दिएको छ ।

विश्व बैङ्कका उपाध्यक्ष हार्टविङ सेफर, फ्रान्सका विदेश राज्यमन्त्री जीन ब्यापटिस्ट लिमोइन, म्यानमारका लगानी तथा वित्तसम्बन्धी मन्त्री ऊ थाङ चुन लगायत मुख्य वक्ताका रुपमा सम्मेलनमा सहभागी हुनेछन् ।

चैत १५ र १६ गते काठमाडौँमा हुने सम्मेलनमा दुईसय स्वदेशी र ३२८ विदेशी संस्थाले सहभागिता जनाउने निश्चित भइसकेको बोर्डले जनाएको छ । सम्मेलनमा नेपालमा लगानीका सम्भाव्य आयोजनाहरूको विस्तृत विवरण देखाउने तयारी बोर्डको छ ।
बोर्डका कार्यकारी निर्देशक महाप्रसाद अधिकारीका अनुसार लगानी बोर्डले तयार गरेका ३५ र निजीक्षेत्रले तयार गरेका ११ वटा परियोजनाका विस्तृत खाका बनाएको छ । लगानीकर्ताले सम्मेलनकै क्रममा आफूले चाहेको परियोजनामा प्रस्ताव पेश गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

सम्मेलनमा नेपालमा लगानीका मुख्य क्षेत्रहरूबारे विशेष छलफल गर्ने गरी विभिन्न क्षेत्रगत छलफल सत्र निर्धारण गरिएको छ । यसमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवसहित चीनको पावर चाइना कम्पनीका महाप्रवन्धक सङडोङसेङ लगायतको सहभागिता रहने गरी आर्थिक रुपान्तरणका लागि ऊर्जा उत्पादन सत्र चल्नेछ । त्यस्तै, ह्वासिन सिमेन्टका अध्यक्ष चिनियाँ लगानीकर्ता शु ग्याङलगायत सम्मिलित उद्योगको आधार निर्माण र रोजगारी सिर्जना सत्र सञ्चालन हुनेछ ।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसहित चाइना रेल्वे इन्टरनेसनल ग्रुपका उपाध्यक्ष वाङ लिजी, विश्व बैङ्कका मुख्य यातायात विज्ञ अर्नब बान्धोपाध्याय लगायतको सहभागितामा दिगो यातायात पूर्वाधार निर्माणसम्बन्धी सत्र सञ्चालन गर्ने बोर्डले सुनिश्चित गरेको छ ।

यी बाहेक नेपाली व्यवसायी र अन्तर्राष्ट्रिय लगानीकर्ताबीच अनुभव आदानप्रदान गर्ने गरी पनि छुट्टै अन्तरक्रिया सत्र गर्ने तयारी बोर्डको छ । एसियाली विकास बैङ्कका उपाध्यक्ष सिक्सिन चेन, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्मालगायतका लगानीकर्ताबीच एउटा छलफल हुनेछ । त्यस्तै, अन्तर्राष्ट्रिय अभ्यास र अनुभवबारे छलफलका लागि एमआईजीएकी प्रमुख कार्यकारी अधिकृत केइको होन्डा, भारतीय एक्जिम बैङ्कका प्रमुख महाप्रबन्धक स्यमुयल जोसेफ, एआईआईबीका प्रमुख लगानी अधिकृत डा। डिजे पाण्डियन सहभागी हुने बताइएको छ ।

नेपालमा रहेका लगानीका क्षेत्रको खाका देखाउने गरी स्वदेशी सरोकारवालासमेत राखेर सम्भावित सबै लगानीकर्तासँग वृहत् अन्तरक्रिया गराउने उद्देश्य रहेको अधिकारीले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने उक्त सम्मेलनका लागि करिब तीन करोड रुपियाँ खर्च हुने लगानी बोर्डको कार्यालयले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुजल डेरीले ल्यायो ‘सफल ह्याप्पी काउ मिल्क’

काठमाडौँ । सुजल डेरीको सफल ह्याप्पी काउ मिल्क अब काठमाडौँ बजारमा उपलब्ध भएको छ । …

प्रतिकृया दिनुहॊस