राति ९ बजे १०० नम्बरमा एक युवतीले फोन गरिन्- ‘म तनावमा छु, यो नै मेरो अन्तिम फोन पनि हुन सक्छ’

काठमाडाैँ । प्रहरीहरू क्लोज सर्किट (सीसी) क्यामेराले खिचेका दृश्यहरू दर्जनौं स्क्रिनमा एक टकले नियालिरहेका छन्। चारवटा फोन सेट अनवरत बजिरहेका छन्। महानगरीय प्रहरी कार्यालयको मेट्रो कन्ट्रोल शाखाभित्रको दृश्य हो यो।

मेट्रो कन्ट्रोल शाखामा चौबीसै घण्टा गरी एक सय १९ प्रहरी अधिकारी खटिएका छन्। ठाउँठाउँबाट विभिन्न माध्यममार्फत अनेकन कथा र उपकथा यही कोठाभित्र ठोक्किन आइपुग्छन्।

उपत्यकाका तीनै जिल्लास्थित प्रहरी परिसरको समन्वय गरिरहेको प्रहरी निःशुल्क फोन गर्न मिल्ने एक सय नम्बर, फेसबुक, ट्वीटर र एप्समार्फत जनतासँग जोडिएको छ। यही माध्यमबाट अनेकन सूचना, जानकारी र हारगुहार उसले सुनिरहेको हुन्छ।

सचिवालयका डीएसपी सन्तोष चौधरीले तीन महिनाअघिको एउटा घटना सुनाए, ‘राति ९ बजेतिर सय नम्बरमा एक महिलाले फोन गरेर म तनावमा छु, यो नै मेरो अन्तिम फोन पनि हुन सक्छ, अब मलाई कल नगर्नुस् भनिन्।’ यो सूचना तुरुन्तै कार्यालयका प्रमुख एआईजी शैलेश थापा क्षत्रीसमक्ष पुग्यो ।

एआईजी शैलेशले सूचना महानगरीय प्रहरी अपराध महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरलाई फरवार्ड गर्दै फोन गर्ने महिलाको लोकेसन पत्ता लगाएर उद्धार गर्न निर्देशन दिए। अनेकन सूत्र लगाएपछि ती महिलाको लोकेसन पत्ता लाग्यो र घर पहिचान भयो।

ललितपुरको जावलाखेल क्षेत्रको उक्त घरमा पुगेर ढोका ढकढक्याएपछि एक अधबैंसे बाहिर निस्के।

ती व्यक्ति तिनै महिलाका श्रीमान् थिए। सोधखोजपछि थाहा भयो, डिप्रेसनको औषधि खाइरहेकी महिलाले जीवनको भीख मागेजसरी प्रहरीमा फोन गरेकी रहिछन्। ‘श्रीमान्लाई सम्झाएर चिसो रातमा हामी कार्यालय फर्कियौं,’ महिलाको घर पुगेका एक प्रहरीले भने।

सय नम्बर फोनमा दैनिक औसतमा १२ सय फोन आउँछन् । एकै दिनमा २७ सय फोनसम्म रिसिभ भएको रेकर्ड छ। याे खबर आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका हुन्।

प्रहरी कार्यालयको नम्बर माग्ने, घटना र दुर्घटनाको सूचना दिनेदेखि हारगुहार गर्ने र समस्याको पोको बिसाउनेसम्मका फोन आउँछन् । गत महिना कलंकीबाट फोन गरेको बताउने एक महिलाले आफू अपहरणमा परेको सुनाउँदै उद्धारका लागि फोन गरेको बताइन्।

उक्त सूचना तुरुन्तै महानगरीय प्रहरी अपराध महाशाखा पुग्यो। महाशाखाका एक डीएसपीसहित पाँच जनाको टोली कलंकी पुगेपछि थाहा भयो, उनी श्रीमान् र बच्चा छाडेर विवाहेतर सम्बन्धको धागोमा उनिएर काठमाडौं आइपुगेकी रहिछन्।

ती महिलासँग फोनमार्फत सशस्त्र प्रहरीको हलचोकस्थित मुख्यालयमा कार्यरत एक हवल्दारले प्रेमसम्बन्ध गाँसेका रहेछन्।

काठमाडौं आएकी महिला हवल्दारले फोन नउठाएपछि र लिन नआएपछि समस्यामा परेकी रहिछन् । ती महिलालाई अभिभावकको जिम्मा लगाएर टोली फर्कियो।

मेट्रो प्रहरीको एमपीओ रानीपोखरी काठमाडौं नामक फेसबुक पेज चलाइरहेका प्रहरी जवान वीरेन्द्र खत्रीको बुझाइमा अनेकन समस्या, गुनासो र छटपटी प्रहरीलाई सुनाएर मान्छे शान्त भइरहेका छन्।

उनका अनुसार प्रहरीको फेसबुक म्यासेन्जरमा दैनिक आठदेखि दस सन्देश आउँछन्। यस्तो सन्देशमा जानकारी माग्नेदेखि लिएर आफ्नो व्यक्तिगत र सामाजिक समस्या, प्रहरी काम कारबाहीको गुनासोसम्मका हुन्छन्।

प्रहरीको एमपीओ रानीपोखरी काठमाडौं फेसबुक पेजको म्यासेन्जरमा एक युवतीले गुनासो लेखिन्, ‘मेरा बा जेलमा छन् । आमा बिरामी छिन् । पाँच महिनादेखि घरभाडा तिर्न सकेको छैन। घरबेटीको निरन्तर किचकिचले आमा झनै बिरामी पर्ने भइन् । पैसा त कमाएर तिर्ने हो नि । लुट्न जानु भएन । अब म के गरौं ?’ प्रहरीको फेसबुक पेजमा पुलिस रिपोर्ट कहिले र कसरी बन्छ भन्नेसम्मको सोधीखोजी हुन्छ।

मेट्रो प्रहरीको एनपीमेट्रो ट्वीटर ह्यान्डललाई झन्डै दस हजार जनाले पछ्याइरहेका छन् । केही दिनअघि एक नागरिकले विदेशबाट आउँदा ताला काटिएको अवस्थामा आफ्नो लगेज विमानस्थलमा पाएको भन्दै गुनासो गरे । गुनासो मेट्रोको ट्वीटर अकाउन्टमा ट्याग भयो । लगत्तै प्रहरीले ती नागरिकलाई जवाफ लेख्यो,यसबारे थप अनुसन्धान गर्न विमानस्थलस्थित प्रहरी कार्यालयलाई पनि लिखित पत्राचार गर्‍यो।

प्रहरीले एपमार्फत पनि सूचना दिने र लिने गरिरहेको छ । एपको सूचना व्यवस्थापनमा खटिएका सइ वसन्तकुमार दाहालले भने, ‘यस्ता सूचना आउनेबित्तिकै हामी स्रोत गोप्य राखेर सम्बन्धित शाखालाई खबर गरिहाल्छौं। त्यसैका आधारमाकारबाही भइहाल्छ।’

प्रहरीका निम्ति सुराकीको काम गर्ने एक व्यक्तिलाई प्रहरीकै एक सइ रमेश नेपालले फसाउने धम्की दिएर पैसाको बार्गेनिङ गरेका रहेछन् । ती सुराकीले दिएकै सूचनाका आधारमा प्रहरीले यसअघि पोखराबाट एसएमजी पेस्तोल, चाबहिलबाट पेस्तोल र बालाजुबाट पचास ग्राम ब्राउन सुगरलगायत सामग्री बरामद गरेको रहेछ। प्रहरीले गरेको पछिल्लो बार्गेनिङबाट आफू तनावमा रहेको र आत्महत्या गर्न पर्ने परिस्थिति आएको ती व्यक्तिले उल्लेख गरेका थिए।

ती व्यक्तिले प्रहरीले आफूसँग पैसाका लागि बार्गेनिङ गरेको एसएमएसको स्क्रिन सट पनि पठाइदिएका थिए । ती प्रहरीले एसएमएसमा लागूऔषध राखेर फसाइदिने भन्दै लेखेका थिए- ‘डीएसपीलाई भनिस् भने म तँलाई पचास ग्राममा फसाइदिन्छु ।’ ती व्यक्तिले आफूले पैसा दिन नसक्ने बताएपछि प्रहरीले अर्को एसएमएस गरेर लेखे, ‘५० दे अनि म तेरो लाइफमा डिस्टर्ब गर्दिनँ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राति साढे ३ बजे बेहुली घरका लागि छुटेको बस सडक भासिएर भीरमा खसेको थियो

काठमाडौं । सिन्धुपाल्चोकमा भएकाे बस दुर्घटनामा परी मृत्यु भएका तीन जनाकाे पहिचान खुलेकाे छ । …

प्रतिकृया दिनुहॊस