कल्पना शर्मा

सार्वजनिक यातायातमा पशुवत व्यवहार !

कल्पना शर्मा

सार्वजनिक यातायात मध्यम र निम्न वर्गीयले नचढी सुखै छैन । यी नागरिकसँग यसको विकल्प पनि छैन । आर्थिक अवस्था उन्नत हुनेहरु प्राईभेट सवारी साधनमा यात्रा गर्छन भने सामान्य आय हुनेहरु सार्वजनिक यातायातमा यात्रा गर्छन् । सार्वजनिक यातायातमा भोग्नुपर्ने सास्तीको ताती भनी साध्य छैन । नेपाल यातायात लगायतका ठूला बसमा यात्रा गर्दा त सुविस्ता होईन, ज्यान नै जोखिममा राख्नुपर्छ । सहचालकले सिट भरिएपछि दुबै तर्फको सिटको वीचको खाली भागको लामो डण्डीमा सकीनसकीे यात्रुलाई कोचेर राख्छन् । १÷२ जना बाटोमा उभिएको देख्यो की बसचालकले ट्राफिक नियमको उल्लंघन गर्दै झ्याप्प रोक्छन् । त्यो बेला ती डण्डी समाएर यात्रा गर्ने पछाडि उभिएकाहरु सोहोरिएर एकैपल्ट अगाडिसम्म आइपुग्छन् । यस्तो दृष्य देख्दा लाग्छ मानिसलाई पशुलाई झैं कोचेर नर्कको यात्रा तय गरिंदैछ ।

सार्वजनिक यातायातको वास्तविकता यस्तो छ भने उता यातायात व्यवस्था विभागले जारी गरेको ‘यातायात व्यवस्थापन कायविधि निर्देशिका’मा माइक्रोबसको ‘सिटिङ क्यापासिटी’ चालकसहित १४ जना हुनुपर्छ, भन्ने छ । मिनीबसको ‘सिटिङ क्यापासिटी’ चालकसहित १५ देखि २५ जनासम्म हुनुपर्छ । त्यस्तै निर्देशिकाको अनुसूची २१ को बुँदा नम्बर १५ मा यात्रुको मनोरञ्जनका लागि म्युजिक सिस्टम तथा पत्रपत्रिकाको व्यवस्था हुनुपर्नेछ । अब प्रश्न गर्न मनलाग्यो, के हामीले यात्रा गर्ने सार्वजनिक यातायातमा यी सुविधाहरु राखिएका छन् त ? कतिजना यात्रुले सार्वजनिक यातायातमा आनन्दले यात्रा गर्न पाएका छन् त ? अँझ अर्कोे डरलाग्दो दुव्र्यबहार महिलाले भोग्न बाध्य छन् । ठुला बसहरुमा पुरुष सहचालक हुने गर्छन् । उनीहरुले महिला यात्रुलाई बसभित्र चढाउने क्रममा ढाडमा धकेल्दै सिटमा बसाउँछन् । काठमाण्डौमा सार्वजनिक यातायातमा सवार गर्नेहरुले प्रायले भोगेको पीडा हो यो ।

हामीकहाँ ‘यातायात व्यबस्थापन कार्यविधि निर्देशिका’ अनुसार कुनैपनि सार्वजनिक यातायात सञ्चालित छैनन् । वर्षातको समयमा बसका झ्याल यात्रु नै भिज्नेगरी पानी छिर्ने खालका हुन्छन् । कुनै सिट भासिएका, प्वाँल परेका हुन्छन । कति झ्यालमा सिसासमेत हुँदैन । कार्यालय समय भईसकेको हुन्छ, उता गाडी कुर्दा कुर्दा ठूलै हैरानी बेहोर्नुपर्छ । यो सास्ती दिनभर हुने भएपनि कार्यालय समयमा असह्यै नै हुन्छ । गाडीभित्र उभिएर डण्डी समातेर बस्ने ठाउँ पनि हुँदैन । माईक्रोमा टाउको ठोकिएर अर्र्को सास्ती ।

सार्वजनिक यातायातमा सबैभन्दा पीडित महिला, वृद्धवृद्धा, बालबालिका तथा अपांगता भएका व्यक्तिहरु नै हुन्छन् । आरक्षण सिट छुट्ट्याइएको त हुन्छ तर उनीहरूले बस्नै पाउँदैनन् । गाडीका सहचालकले त्यस्ता यात्रु देखे रोक्दैनन् । यति मात्रै होईन अन्य थुप्रै सास्ती सार्वजनिक यातायातका नाममा हुने गर्छन् । महिलामाथी हुने हिंसा तथा दुव्र्यबहार पनि यसका उदाहरण हुन् ।
ट्राफिक व्यवस्थापन राम्रो हुने हो भने यस्ता समस्या आउँदैनन् । हिंसा, दुव्र्यवहार हुने प्रमुख कारणमा नीति र नियमको पालना नभएर नै हो । यातायात व्यवसायी यात्रुलाई गाईबस्तु जसरी गाडीमा कोच्छन् । चालक र सहचालकको व्यवहार अत्यन्तै निम्न स्तरको हुन्छ । उनीहरुलाई यात्रु कोच्न मात्रै भए पुग्छ । हक, अधिकारका बारेमा सचेत हुँदैनन् ।

ट्राफिक प्रहरीले नियम मिच्ने सवारीलाई जरिवाना गर्दै आएको छ । यो प्रसंशनीय छ । निम्न स्तरको व्यवहार देखाउने चालक तथा सहचालकलाई उचित जरिवाना दिने व्यवस्था तुरुन्तै लागू गरिनुपर्छ । सार्वजनिक यातायात प्रयोग गर्ने सर्वसाधारणलाई सम्मानजनक व्यवहार गर्नुपर्छ । गाईभैंसीलाई जसरी कोचेर यात्रा गराउनु हुँदैन । यसतर्फ राज्यको ध्यान जानु जरुरी छ । ताकि आगामी दिनमा नागरिकले सम्मानपूर्वक ढूक्कसँग यात्रा गर्न सकून् ।

यॊ पनि हेर्नुहॊस

न्युजिल्यान्डका स्टार क्रिकेटर ब्रेन्डम म्याकुलमले लिए सन्यास

काठमाडाैँ । न्युजिल्यान्डका स्टार क्रिकेटर ब्रेन्डम म्याकुलमले अन्तराष्ट्रिय क्रिकेटबाट औपचारीक रुपमा सन्यास लिएकाे घोषणा गरेका …

प्रतिकृया दिनुहॊस