गर्भवतीसहित दुई जनाको हत्या गरेर फरार व्यक्ति १० वर्षपछि पक्राउ

काठमाडाैँ । गर्भवती र उनका श्रीमान्‌को हत्या आरोप लागेका व्यक्तिलाई प्रहरीले घटनाको १० वर्षपछि पक्राउ गरेको छ। शनिबार बिहान पक्राउ पर्नेमा सामा गाउँपालिका-९ ताप्लेजुङ घर भइ पोखरा १६ बाटुलेचौरमा बस्दै आएका हातु र सामा माइला भनिने ३७ वर्षीय चतुर्मान लिम्बू हुन्।

कास्कीका प्रहरी उपरीक्षक ओमबहादुर रानाका अनुसार २०६६ वैशाख ५ मा कोप्चेबजारस्थित होटल सञ्चालक दिलकुमार राई र उनकी गर्भवती श्रीमतीको हत्या गरेर लिम्बू फरार भएका थिए।

ताप्लेजुङ प्रहरीले हालैमात्र चतुर्मान पोखरामा रहेको सुराकीका आधारमा कास्की प्रहरीलाई खोजिदिन आग्रह गर्दै पत्राचार गरेपछि शनिबार उनलाई पक्राउ गरिएको हो। यो खबर आजको कान्तिपुर दैनिकमा पाेखराबाट लालप्रसाद शर्माले लेखेका हुन्। चतुर्मान घरमा रंग लगाउने काम गर्दै आएका थिए।

यसरी भएको थियो हत्या
घटना विवरणअनुसार चतुर्मान र बम फक्के भन्ने चन्द्र कामीले घटनाको दिन साबिकको खोप्लिङ गाविसमा लागेको मेलामा पुगेर मादकपदार्थ सेवन गरेका थिए।

साँझ कोप्चेबजार पुगेर दिलबहादुर राईको होटलमा फेरि रक्सी मागेका थिए। राईले ‘दोकान बन्द गर्ने बेला भयो, बाहिर बसेर खानु’ भनेपछि चतुर्मानले ‘म कामी जस्तो छु र बाहिर बस्न भनियो’ भन्दै निहुँ खोजेका थिए।

प्रत्युत्तरमा राईले ‘के दादा देखाएको’ भनेपछि चतुर्मानले आफ्नो गोजीबाट चक्कु निकालेर राईको भुँडी र घाँटीमा हानेका थिए। राईकी गर्भवती श्रीमती आक्रमणबाट जोगाउन आउने क्रममा उनको पनि भुँडीमा चक्कु हानेर चतुर्मान फरार भएका थिए।

घाइते राई दम्पती ढलेपछि भागेर धरान पुगेका चतुर्मान दुई दिनपछि भारतको सिक्किम पुगेका थिए। सिक्किममा दुई महिना अलैंची टिप्ने काम गरेर पोखरा आएका चतुर्मानले ५ महिनापछि श्रीमती र छोरालाई पनि बोलाएका थिए।

श्रीमती वैदेशिक रोजगारीका लागि कुवेत गएकी छन्। चतुर्मानका साथमा १२ र ४ वर्षका छोराछोरी छन्। एसपी रानाले चतुर्मानलाई कारबाहीका लागि ताप्लेजुङ पठाइने बताए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महिला स्वास्थ्य स्वयंसेविकालाई दिइयो आयुर्वेद सम्बन्धी सचेतना (तस्वीरहरुसहित)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले महिला स्वास्थ्य स्वयंसेविकाका लागि आयुर्वेद सम्बन्धी सचेतना कार्यक्रम …

प्रतिकृया दिनुहॊस