सौर्य ऊर्जाका लागि ५७ आयोजनाले लिए सर्वेक्षणको अनुमति

काठमाडाैँ । पछिल्लो दिनमा सौर्य ऊर्जामा लगानी गर्न चाहनेको संख्या बढ्दै गएको पाइएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले हालसम्म विभिन्न ५७ वटा आयोजनाका लागि सर्वेक्षणको अनुमति जारी गरेको छ। ती आयोजनाको क्षमता ४६८ मेगावाट रहेको छ। सरकारले ऊर्जा मिश्रणको अवधारणा अगाडि सारेपछि सौर्य ऊर्जामा लगानी गर्न चाहनेको सङ्ख्यामा समेत वृद्धि भएको हो।

विगतमा साना र घरेलु उपयोगका लागि मात्रै प्रयोग हुँदै आएको सौर्य ऊर्जा पछिल्लो समयमा व्यावसायिक रुपमा समेत अगाडि बढाउन थालिएको छ। नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा २५ मेगावाट क्षमताको सौर्य परियोजनाको काम शुरु गरिसकेको छ। सो आयोजनाको हाल निर्माण कार्य जारी छ।

प्राधिकरणले निजी क्षेत्रबाट उत्पादन हुने कूल ६१ मेगावाट क्षमताका सौर्य पयिरयोजनासँग विद्युत् खरिद सम्झौतासमेत गरेको छ। अमेरिकाको एक कम्पनीले ६०० मेगावाट क्षमताको सौर्य परियोजना सञ्चालनका लागि इच्छा व्यक्त गरेको छ। अमेरिकी कम्पनी स्काइ पावरले सौर्य ऊर्जाका लगानी गर्न चाहेको भन्दै ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन समक्ष प्रस्ताव नै पेश गरेको छ।

विभागले चौधरी समूहलाई समेत १२० मेगावाट क्षमताको सौर्य परियोजना सञ्चालनका लागि सर्वेक्षणको अनुमति दिएको छ। महोत्तरीको ढल्केबरमा सौर्य परियोजना निर्माणका लागि सर्वेक्षणको अनुमति दिएको छ।

यस्तै सोही समूहलाई विभागले बाजुरामा ५० मेगावाट र पर्साको परवानीपुरमा ३० मेगावाट क्षमताको सौर्य परियोजना निर्माणका लागि सर्वेक्षणको अनुमति पाएको छ। ग्रीड कनेक्टेड सोलार परियोजना सञ्चालन गर्ने गरी १० मेगावाट क्षमताको सौर्य परियोजना सञ्चालन गर्न लागेको छ। देशका विभिन्न नौ स्थानमा सौर्य परियोजना सञ्चालनका लागि अपि पावर कम्पनीले सर्वेक्षणको अनुमति प्राप्त गरेको छ।

झापामा झापा इनर्जीले १० मेगावाट क्षमताको सौर्य परियोजना सञ्चालन गर्न लागेको भन्दै विभागबाट सर्वेक्षणको अनुमति प्राप्त गरेको छ। विश्वव्यापी रुपमा वैकल्पिक स्वच्छ ऊर्जा प्रयोग गर्ने र त्यसलाई अगाडि बढाउने योजना अगाडि सारेका छन्।

भारतमा मात्रै सन् २०१९ भित्रैमा १४ गिगावाट सौर्य ऊर्जा उत्पादन भएको छ। यसै वर्षको अन्त्यसम्म सो क्षमता बढेर ३८ गिगावाट पुग्नेछ। यस्तै चीनमा १३० गिगावाट सौर्य ऊर्जा उत्पादन भइसकेको छ । सन् २०२० सम्म २०० गिगावाट पुग्नेछ। अमेरिकामा ६० गिगावाट, जापानमा ४६ गिगावाट बराबरको सौर्य ऊर्जा उत्पादन गरेका छन्।

सरकारले गत वैशाखमा सार्वजनिक गरेको श्वेतपत्रमा समेत सौर्य तथा वायु ऊर्जालाई समेत ऊर्जाको स्रोतको रुपमा प्रयोग गर्दै ऊर्जा मिश्रणको अवधारणा अगाडि बढाएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जलविद्युत् जस्तै सौर्य, वायु ऊर्जालाई समेत सरकारले उच्च प्राथमिकतामा राखेको बताए। उनले पछिल्लो समय नवीकरणीय र स्वच्छ ऊर्जाको क्षेत्रमा संसारभर नै अभियान चलेकाले त्यसलाई नेपालले पनि अवलम्बन गरेको जानकारी दिए।

सौर्यसँगै पछिल्लो समयमा वायु ऊर्जाको क्षेत्रमा समेत लगानीकर्ता आकर्षित भएको पाइएको छ। विभागले मात्रै हालसम्म विभिन्न चार परियोजनालाई छ मेगावाट क्षमताको वायु ऊर्जा उत्पादनका लागि सर्वेक्षणको अनुमति दिएको छ।

यस्तै रिलायन्स सुगर मिलले पनि ऊखुको खोस्टाबाट १५ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने अनुमतिपत्र विभागबाट लिएको छ। ऊर्जा मिश्रणको अवधारणालाई प्रभावकारी रुपमा अगाडि बढाउने सरकारको योजनालाई साथ दिँदै निजी क्षेत्रले समेत लगानीका थप आयामको खोजी गरेको पाइएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढी प्रभावित आयोजनाले १० महिनासम्म राहत नपाएकाे गुनासाे

काठमाडौं । पूर्वका बाढी प्रभावित जलविद्युत आयोजनाले लामोसमयसम्म राहत नपाएपछि संसदीय समितिमा छलफल भएको छ । बुधवार संघीय संसदको अर्थसमितिमा बाढी प्रभावित आयोजनाका प्रतिनिधि, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान), ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री, राष्ट्र बैंकका गभर्नर, ऊर्जा सचिव र राजस्व सचिवसहित छलफल भएको हो ।

प्रतिकृया दिनुहॊस