पूर्व–पश्चिम विद्युतीय रेल मार्ग : बाँकी रहेको सर्भे पुन: थालियो

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूर्व–पश्चिम विद्युतीय रेल मार्गको बाँकी रहेको सर्भेको काम अघि बढाएको जनाएको छ । रेल्वे विभागका प्रमुख बलराम मिश्रका अनुसार बाराको निजगढदेखि नवलपरासीको चमसरियासम्मको १ सय ३५ किमि रेल्वे लाइनको सर्भे अघि बढाएको हो । बीचमा पर्सा र चितवन राष्ट्रिय निकुञ्ज पर्ने भएकाले काम रोकिएको थियो । उनका अनुसार अब निकुञ्जबाट नभएर मानव बस्ती भएको स्थानबाट सर्भे गर्दै काम अघि बढिसकेको छ । जम्मा ९ सय ४५ किमिमध्ये ८ सय १० किमि लाइन सर्भे गरिसकिएको उनको भनाई छ ।

यसअघि पथलैयाबाट माडी क्षेत्रको जंगल हुँदै रेलमार्ग निर्माणका लागि प्रस्ताव गरिएको थियो । निकुञ्जले बीच भागबाट रेल कुदाउँदा दुर्लभ वन्यजन्तुहरूको संरक्षणमा चुनौती थपिने भन्दै अनुमति नदिने अडान लिएको थियो ।

८ सय १० किमिको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) काम पनि अघि बढिरहेको भन्दै उनले तीव्रताका साथ काम हुने बताए । ‘अब निजगढबाट नवलपरासीसम्म राजमार्गको पूर्व–पश्चिम भएर रेल चल्छ,’ उनले भने । बर्दिबास–सिमरा खण्डमा ३० किलोमिटरको रेल्वे ट्रयाक निर्माण भइरहेको विभागले जनायो ।

पहिलो चरणमा महोत्तरीको बर्दिबासदेखि सर्लाहीको लालबन्दीसम्मको खण्डमा ट्रयाक खोल्ने काम अघि बढाइनेछ । विभागले पूर्व–पश्चिम रेलमार्गको मूल रुटलाई नौ खण्डमा विभाजन गरेको छ । बुटवलदेखि गड्डाचौकीसम्म चार वटा खण्डमा अहिले डीपीआर तयार गर्ने काम धमाधम भइरहेको छ । ४ सय २१ किलोमिटरको बुटवल–लमही, लमही–कोहलपुर, कोहलपुर–सुक्खड, सुक्खड–गड्डाचौकी खण्डहरूमा विभिन्न कम्पनी संलग्न रहेको मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

रेलमार्ग निर्माणको प्रक्रिया सन् २००८ बाटै सुरु भएको थियो । रेलमार्ग निर्माण कार्यले अपेक्षा गरेअनुसार अझै पनि गति लिन भने सकेको छैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दुर्गा प्रसाईंबारे छानबिन गर्न गृह मन्त्रालयले बनायो समिति

काठमाडौं । गृह मन्त्रालयले व्यवसायी दुर्गा प्रसाईंको हतियारबारे छानबिन गर्न समिति बनाएको छ । गृह …

प्रतिकृया दिनुहॊस