युनिभर्सलले थप्यो आइपीओ भर्ने समय, अब कहिलेसम्म पाइन्छ आवेदन दिन ?

काठमाडौं । युनिभर्सल पावर कम्पनीको आइपीओ भर्ने समय थप भएको छ । पहिलो चरणको तोकिएको समय (माघ २९ गते) सम्म आवश्यक मात्रमा आवेदन नपरेपछि कम्पनीले अब ढिलोमा फागुन २६ गतेसम्म आइपीओ बिक्री खुला गर्ने जनाएको छ । तर, त्यो समयभन्दा अगावै सबै सेयर बिक्री भएमा भने सोही बेला सूचना जारी गरेर आइपीओ बिक्री बन्द गरिनेछ । अर्थात् मंगलबार नै आवश्यक मात्रामा आवेदन परेमा यो सेयर बुधबारसम्म मात्र भर्न पाइने हुन सक्छ ।

यो आइपीओमा सोमबार सम्म ५३ करोड ९९ लाख १० हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार सोमबार साँझ सम्ममा ५८ हजार ५९ जनाले ५३ लाख ९९ हजार १०० कित्ताका लागि आवेदन दिएका छन् ।

युनिभर्सलले पहिलो चरणमा शुक्रबार माघ २५ गतेदेखि सर्वसाधारणका लागि ८६ लाख ७४ हजार ४९२ कित्ता आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको १७ लाख ६६ हजार १५० कित्तासमेत गरी कुल ९३ लाख २७ हजार ४१० कित्ता आइपीओ निष्कासन गरेको हो ।

यसमध्ये १ लाख ८६ हजार ५४८ कित्ता सेयर कर्मचारी र ४ लाख ६६ हजार ३७० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । यसमा न्यूनतम ५० देखि अधिकतम ५० लाख कित्ताका लागि आवेदन दिन पाइनेछ । लगानीकर्ताले सी–आस्वाबाट आवेदन दिनुपर्नेछ ।

कस्तो छ कम्पनी ?
युनिभर्सलले दोलखा जिल्लामा ११ मेगावाटको तल्लो खारे खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यसको अनुमानित लागत २ अर्ब ४ करोड ६० लाख रुपैयाँ छ । विद्युत उत्पादन अनुमतिको बाँकी अवधि २९ वर्ष रहेको छ ।
युनिभर्सलको आइपीओलाई इक्रा नेपालले ‘ग्रेड ४’ रेटिङ दिएको छ । यसको जारी पुँजी २ अर्ब १० करोड ३ लाख ५० हजार रुपैयाँ छ । कम्पनीले आगामी आर्थिक वर्षमा १९ करोड ५३ लाख र आव २०७७।७८ मा २१ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस