महालक्ष्मी लाईफको कारोबार सुरु, यस्ता छन् बीमा योजना

काठमाडौं । नेपालको सबैभन्दा कान्छो तथा १९ औं जीवन बीमा कम्पनीको रुपमा महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले माघ २७ गते वसन्त पञ्चमीको दिनबाट आधिकारीक रुपमा कारोबार संचालन गर्ने भएको छ । कारोबार शुभारम्भसँगै कम्पनीले बीमा समितिबाट स्वीकृति लिए अनुरुप महालक्ष्मी डबल सावधिक बीमा, लगानी फिर्ता म्यादी बीमा तथा महालक्ष्मी सावधिक बीमा गरी तीन किसिमको बीमा योजना सार्वजनिक गरेको छ ।

महालक्ष्मी डबल सावधिक बीमा योजनामा बोनसको गणना गर्नै नपर्ने गरी तोकिएको अवधि समाप्ति पछि बीमाङ्कको दोब्बर रकम भुक्तानीको ग्यारेन्टी गरिएको छ । दोश्रो लगानी फिर्ता म्यादी बीमा योजनामा बीमाशुल्क भुक्तानी पश्चात तोकिएको अवधिमा कुनै घटना भएमा एकमुष्ट बीमाङ्क रकम भुक्तानी पाउने र घटना नभएमा अवधि समाप्ति पछि जम्मा गरेको बीमाशुल्क जस्ताको तस्तै फिर्ता भुक्तानी हुने कम्पनीले जनाएको छ ।

तेस्रो महालक्ष्मी सावधिक बीमा योजना अन्तर्गत न्युनतम बीमाशुल्कमा सुरक्षा पनि पाइने, बचत पनि हुने र कम्पनीको नाफामा समेत सरिक हुन पाइने छ । उपरोक्त तीनवटा बीमा योजना मध्ये महालक्ष्मी डबल बीमा योजना र लगानी फिर्ता बीमा योजना नेपालमा पहिलो पटक सार्वजनिक भएको एकदमै नौला बीमा योजना हुन् ।

कम्पनीले माघ भित्र काठमाडौं, वीरगंज, पोखराबाट कारोवार गर्दैछ भने इटहरी, सुर्खेत, धनगढी र कोहलपुरबाट फागुन दोस्रो साता भित्र कारोबार संचालनको तैयारीमा छ । कार्यालय सजावट सकिए लगत्तै प्रधान कार्यालय र सातै प्रदेशमा कार्यालयहरु एकैपटक औपचारिक समुद्घाटनको तैयारी भइरहेको छ ।

कम्पनीले बीमा समितिबाट १३ वटा शाखा कार्यालयको स्वीकृति लिए अनुसार फागुुन भित्र बाँकी विर्तामोड, इटहरी, लहान, नारायणगढ, बुटवल, दाङ्ग, सुर्खेत, कोहलपुर, धनगढी र जनकपुरमा शाखा कार्यालय खोलिसक्ने योेजना रहेको छ । २०७६ आषाढ भित्र मध्य पहाडी क्षेत्रका १२ वटा र काठमाण्डौं उपत्यका भित्र थप १० वटा समेत कूल ३५ वटा शाखा कार्यालय सञ्चालन गर्ने कम्पनीको योजना छ ।

कम्पनीकोे चुक्ता पूँजी २ सय करोड रहेको छ । संस्थापकहरुबाट १ सय ४० करोड चुक्ता भइसकेको छ भने ६० करोड सर्वसाधारणको लागि छुट्याइएको छ । कम्पनीले सञ्चालक समितिकाउ अध्यक्षमा मनोरञ्जन रमण शर्मालाई चयन गरेको छ ।

त्यसैगरी सञ्चालकहरुमा उमेश लाल श्रेष्ठ, मोहन राज जोशी र सुरेश सापकोटा चयन भएका छन् । यस कम्पनीकोे कारोबारको पूनर्बीमा विश्वकै अग्रणी म्युनिख री र अनिवार्य पूनर्बीमा नेपाल री सँग रहने कम्पनीले बताएको छ ।

कम्पनीले आगामी आषाढ मसान्त सम्म ५ महिनामा करीब ५० करोड बीमाशुल्क संकलन गर्ने लक्ष्य लिएर सम्पूर्ण कार्यक्रम सञ्चालन गरिरहेको छ । कम्पनी सञ्चालन भएको २ वर्ष भित्र १० वटा नयाँ बीमा कम्पनीहरु मध्ये पहिलो हुने र आगामी ५ वर्ष भित्र सम्पूर्ण जीवन बीमा कम्पनीहरु मध्ये उत्कृष्ट कम्पनी बन्ने कम्मनीको दावी छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रथम वार्षिकोत्सव सम्पन्न

काठमाडौँ । साबिकका सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स गाभिएर बनेको सानिमा रिलायन्स लाइफ …

प्रतिकृया दिनुहॊस