ओलम्पिक छनोटको दोस्रो चरण पुग्न आज नेपालले बंगलादेश खेल्दै

काठमाडाैं । आगामी सन् २०२० मा जापानमा हुने ‘टोकियो ओलम्पिक २०२०’ महिला फुटबल अन्तर्गत एएफसीको प्रारम्भिक छनोटमा मंगलबार नेपालले बंगलादेशको सामना गर्दैछ । पहिलो सहभागितामै समूह चरणमा यसअघिका दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले आज बंगलादेशलाई पराजित गरे छनोटको दोस्रो चरणमा प्रवेश पाउनेछ ।

यसअघि समूहका दुबै खेलमा नेपालले भारत र म्यानमारसँग बराबरी खेल्दै उत्कृष्ट सुरूवात गरेको थियो । यस्तै बंगलादेशले पहिलो खेलमा म्यानमारसँग ५-० र भारतसँग ७-१ को भारी अन्तरले हार बेहोरेको छ । यो नतिजासँगै समूहको दुई खेलबाट म्यानमार ४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । समान अंक जोडेको भारत गोलअन्तरमा पछाडि परेको छ । २ अंक भएको नेपाल तेस्रो स्थानमा छ । अंकविहिन बंगलादेश पुछारमा छ ।

सुरूवाती दुबै खेलमा नेपालले अग्रता लिए पनि त्यसलाई बचाउन नसक्दा जित दर्ता गर्न सकेको छैन । तर भारत र म्यानमारजस्ता बलिया टोलीलाई बराबरीमा रोक्नुनै नेपालको सम्भावना बलियो हुनु हो । अन्तिम खेलमा नेपालले बंगलादेशलाई पराजित गरेमात्र पनि दोस्रो चरणमा पुग्नेछ ।प्रत्येक समूहको शीर्ष २ टोली र तेस्रो हुने उत्कृष्ट दुई टोली दोस्रो चरणमा छनोट हुने प्रावधान अनुसार नेपालले बंगालदेशलाई पराजित  गरेमा शीर्ष दुई अथवा तेस्रो स्थानको उत्कृष्ट दुईमा पर्ने पक्का छ ।

बंगलादेशलाई फराकिलो अन्तरमा हराए नेपाललाई समूह उपविजेता/ विजेता बन्न म्यानमार र भारतको खेलमा जित-हारको नतिजा आउनुपर्ने हुन्छ । यदि नेपालले बंगलादेशलाई जितेमा भारत-म्यानमार गोलरहित बराबरी खेले नेपाल कम गोल गे पनि समूह विजेता हुनेछ । नेपाली महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक हरि खड्काले टोलीको मनोबल उच्च रहेको भन्दै आफ्नो योजना अनुसार खेल भइरहेको बताए ।

भारत र म्यानमारजस्ता बलिया टोलीलाई बराबरीमा रोक्न सफल भएको स्मरण गर्दै खड्काले आजको खेलमा बंगलादेशविरुद्ध टोलीको लक्ष्य ३ अंक रहने स्पष्ट पारे । हामीसँग बराबरी खेलेका भारत र म्यानमारले बंगलादेशबिरूद्ध फराकिलो जित निकालेको भन्दै आफूहरू पनि जित दर्ता गरे अर्को चरणमा पुग्ने बताए । टोकियो ओलम्पिक छनोटका लागि विभिन्न १८ देशलाई ४ समूहमा विभाजन गरिएको छ । भिएतनाम र उज्जेकिस्तान वरियताका आधारमा दोस्रो चरणका लागि छनोट भइसकेका छन् ।

हरेक समूहका शीर्ष दुई टोली र अन्य दुई उत्कृष्ट तेस्रो हुने टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । दोस्रो चरणका खेलहरु अप्रिलमा हुनेछ । दोस्रो चरण छनोटबाट तीन टोली तेस्रो चरणमा प्रवेश गर्नेछन्। तेस्रो चरणमा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो चरणका तीन विजेतासँगै अष्ट्रेलिया, चीन, थाइल्याण्ड, दक्षिण कोरिया र उत्तर कोरियाले तेस्रो चरणमा प्रतिस्पर्धा गर्नेछन् ।

दुई समूहका उत्कृष्ट दुई टोलीले चौथो चरणमा स्थान बनाउनेछन् । चौथो चरण प्रवेश गर्न सफल चार टोलीलाई दुई समूहमा विभाजन गरी होम एण्ड अवेको आधारमा प्रतिस्पर्धा गराइनेछ । जसबाट विजयी हुने दुई टिम ओलम्पिकका लागि छानिनेछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसिसी प्रिमियर कपमा नेपालको लगातार चौथो जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित दर्ता गरेको छ । …

प्रतिकृया दिनुहॊस