आज फूलपाती: घरघरमा फूलपाती भित्र्याएर मनाइँदै

काठमाडौं । बडादशैँको आज सातौँ दिन मंगलबार फूलपाती भित्र्याउने दिनका रुपमा मनाइन्छ ।

आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजाकोठामा फूलपाती स्वरूप केरा, दाडिम, धान, हलेदो, मानवृक्ष, कवि, बेल, अशोक र जयन्ती नामका नवपत्रलाई भित्र्याउँने प्रचलन छ ।

घटस्थापनादेखि दसैं सुरु भएको मानिने भए पनि चहलपहल र रौनक भने आजैका दिनदेखि सुरु हुने गर्छ ।

आज पनि बिहानैदेखि देशका विभिन्न शक्तिपीठमा भक्तजनको भीड लागेको छ । उपत्यकाको गुह्येश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती, भद्रकालीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना गरिँदै छ ।

यसैगरी आजै हनुमानढोका दरबारको दसैँ घरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । घटस्थापनाका दिन जमरा राखिएको पूजाकोठामा आज कालरात्रिको विशेष पूजा गरिन्छ ।

गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म गोरखा दरबारको दसैँ घरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरदेखि जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथ फूलपाती ल्याउने गरिन्छ ।

यस वर्षको फूलपाती मङ्गलबार दिउँसो साढे चार बजे भित्र्याइने कार्यक्रम छ ।

आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर भवानीको प्रसादका रूपमा टीका थाप्न आआफ्नो घर फर्कने क्रम अझ तीव्र हुन्छ ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

रास्वपाबाट इलाम-२ मा मिलन लिम्बु उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ …

प्रतिकृया दिनुहॊस