ओडिशामा कसरी भयो यस शताब्दीकै सबैभन्दा खराब रेल दुर्घटना ?

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ओडिशामा भएको घातक रेल दुर्घटनाका दोषीलाई कडा सजाय दिइने बताएका छन् । देशको पूर्वी राज्य ओडिशामा शुक्रवार साँझ रेलहरू एकआपसमा ठोकिँदा कम्तीमा २८८ जनाको मृत्यु र १,००० जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।

उक्त राज्यको बालासोर जिल्लामा दुर्घटना भएको हो । एउटा यात्रुवाहक रेल शुक्रवार अबेर पटरीबाट बाहिर खसेको र त्यो अरू रेलहरूमा ठोकिन पुगेको ठानिएको छ । यो भारतमा भएको विगत चार दशकयताकै सबैभन्दा खराब रेल दुर्घटना हो ।

उक्त दुर्घटनाको कारण हालसम्म स्पष्ट हुन सकेको छैन । यद्यपि भारतका एकजना केन्द्रीय मन्त्रीले दुर्घटनाको कारण प्राविधिक भएको बताएका छन् । ओडिशाका मुख्यसचिव प्रदीप जेनाले घटनास्थलमा २०० वटाभन्दा बढी एम्बुलेन्स, दर्जनौँ चिकित्सक र नर्सहरूलाई घटनास्थल पठाइएको जनाएका छन् ।

मृतकको सङ्ख्या बढ्न सक्ने
मृतकको सङ्ख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन् । भारतीय रेलवेका अनुसार कोरोमण्डल एक्सप्रेस र हावडा सुपरफास्ट एक्सप्रेस आपसमा जुध्न पुगेका थिए । शनिवार दिउसो घटनास्थल पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाबाट आफू अत्यन्त दुःखी भएको बताएका छन् ।

उनले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । उनले ट्विटरमा लेखेका छन्, ‘दुर्घटना स्थलमा उद्धारकार्य जारी छ र प्रभावितहरूलाई सम्भव भएसम्म सहयोग गरिँदै छ ।’ गृहमन्त्री अमित शाहले घटना अत्यन्त पीडादायी भनेका छन् ।

दुर्घटनाका बेलाको अवस्था
उक्त घटनामा बाँचेका एक पुरुष यात्रुले भने, ‘दुर्घटना हुँदा १०-१५ जना ममाथि खसेका थिए। कोलाहल मच्चियो । म मानिसहरूको थुप्रोमा सबैभन्दा तल थिएँ। मेरो हात र घाँटीको पछाडिपट्टि चोट लागेको छ । रेलको डिब्बाबाट बाहिर निस्किँदा मैले कसैले हात अनि कसैको खुट्टा गुमाएका र कसैको अनुहार विकृत भएको देखेँ,’ उनले भारतको एएनआई समाचार संस्थालाई भने ।

दुर्घटनापछि ओडिशा राज्यमा एक दिनको शोकको घोषणा गरिएको छ । घटनापछि केही जीवित यात्रुहरू दुर्घटनास्थलमा फसेका मानिसलाई उद्धार गर्न दौडिएको देखिएको थियो । स्थानीय बस कम्पनीहरूले पनि यात्रुलाई ओसारपसार गर्न मद्दत गरिरहेका छन् ।

कसरी भयो दुर्घटना ?
शालिमार-चेन्नई कोरोमण्डल एक्सप्रेसका धेरै डिब्बाहरू भारतीय समयानुसार शुक्रवार साँझ ७ बजे पटरीबाट बाहिर खसेका थिए । तीमध्ये केही विपरीत ट्र्याकमा पुगेका थिए भन्ने अनुमान गरिएको छ ।

अर्को रेल हावडा सुपरफास्ट एक्सप्रेस यशवन्तपुरबाट हावडा जाँदै थियो र त्यो पल्टिएका डिब्बामा ठोक्किन पुग्यो भनिएको छ । भारतीय अधिकारीहरूका अनुसार घटनास्थलमा रोकिएको अवस्थामा भएको अर्को सामानवाहक रेलमा पनि ती दुई रेलका डिब्बाहरू ठोकिन पुगेको बताएका छन् ।

बीबीसी दक्षिण एशियाका क्षेत्रीय सम्पादक अनबरसन इथिराजनका अनुसार भारतमा विश्वको सबैभन्दा ठूलो रेल नेटवर्क छ र क्रमशः सरकारले पूर्वाधार सुधार गर्न अर्बौँ लगानी गरिरहेको छ । तर भारतमा रेल दुर्घटनाहरू सामान्य जस्तै बनेका छन् ।

यसअघि भारतको सबैभन्दा खराब रेल दुर्घटना सन् १९८१ मा भएको थियो । त्यस बेला बिहार राज्यमा एउटा चक्रवातको समयमा यात्रुहरूको भिड भएको रेल ट्र्याकबाट नदीमा खसेको थियो । त्यस बेला कम्तीमा ८०० जनाको ज्यान गएको थियो । –बीबीसीबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फोनपे र जीएलएन इन्टरनेसनलबीच क्रस-बोर्डर क्यूआर भुक्तानी गर्नेसम्बन्धी समझदारी

काठमाडौं । फोनपे र जीएलएन इन्टरनेसनलबीच क्रस-बोर्डर क्यूआर भुक्तानी प्रदान गर्नेसम्बन्धमा समझदारी भएको छ । …

प्रतिकृया दिनुहॊस