सफा हिमाल अभियानद्वारा ३४ हजार १६६ किलो फोहोर सङ्कलन

काठमाडौँ । नेपाली सेनाको नेतृत्व र समन्वयमा चार हिमालहरू–सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरूणत्सेबाट फोहोर सङ्कलन गर्न प्रारम्भ भएको ‘सफा हिमाल अभियान’ले तीव्रता पाएको छ । विश्वको सबैभन्दा ठुलो हिमाल सरसफाइ कार्यक्रम मध्येको एक यो अभियानमा कोका–कोला फाउन्डेसनले प्रमुख दाताको रूपमा सहकार्य गरेको छ । २८ मार्चमा सुरु भएको यो अभियान ५ जुनमा सकिनेछ ।

९७ जनाको अभियान टिमले कठिन मौसमी अवस्थाबीच चार हिमालबाट ३४ हजार १६६ किलो फोहोर सङ्कलन गरेको छ । टोलीले खाली अक्सिजन क्यानिस्टर, यतिकै छोडिएका टेन्टहरू, खाना राखिने कन्टेनर, प्लास्टिक, गिलास, आल्मुनियम, इलेक्ट्रोनिक ग्याजेट लगायतका फोहोर सङ्कलन गरेको हो ।

सफा हिमाल अभियानका निर्देशक ब्रिगेडियर जनरल सुन्दर कुमार पाण्डेले विभिन्न हिमालहरूको स्वच्छता जोगाउनका लागि एउटा सबल कदम चालिएको बताए । ‘विगतका वर्षहरूको तुलनामा यस वर्ष हामीले अभियानको क्रममा कठिन मौसमी अवस्थाको सामना गर्‍यौँ । चुनौतीपूर्ण मौसम र उच्च जोखिमको अवस्थाका बाबजुद टिमको सराहनीय समर्पणले हामीलाई हाम्रो लक्ष्यतर्फ अगाडि बढ्न मद्दत गरेको छ’, उनले भने, ‘विज्ञहरू र नेपाली सेनाले सेर्पा, मेडिकल अफिसर, उद्धार अपरेटर, स्थानीय समुदाय तथा अन्य सहयोगी हातहरूसँग मिलेर हामीलाई बाटो र शिविरहरूबाट मात्र नभई, जम्मा भएका सबै क्षेत्रहरूबाट फोहोर सङ्कलन गरी फिर्ता ल्याउन समर्थ बनायो ।’

पहिलो संस्करणदेखि नै प्रमुख दाताका रूपमा कोका–कोला फाउन्डेसन आबद्ध रहेको सफा हिमाल अभियान हाल चौथो शृङ्खलामा छ । यस्तै यो नेपाली सेनाको नेतृत्वमा विभिन्न सरोकारवालाहरू संलग्न भई हिमाली क्षेत्रको वातावरण संरक्षण र जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्ने उद्देश्यले गरिएको पहल हो ।

जारी रहेको सफा हिमाल अभियानका बारेमा बोल्दै, सफा हिमाल अभियानका प्रमुख साझेदारहरूमध्ये एक क्रिएसनका संस्थापक र अध्यक्ष आनन्द मिश्रले भने, “हिमाली भेगको फोहोरले विशाल चुचुराहरूको महिमा र महत्त्वलाई ह्रास गर्दै नेपालमा एउटा महत्त्वपूर्ण चुनौती खडा गरेको छ । सफा हिमाल अभियान, यी प्राचीन प्राकृतिक सम्पत्तिहरूमा फोहोरको समस्यालाई प्रभावकारी ढङ्गले सम्बोधन गर्दै, यस विषयमा सचेतना जगाउने र नागरिकको रूपमा हाम्रो सामूहिक दायित्व सम्झाउने एक शक्तिशाली प्रयास हो भन्ने मेरो दृढ विश्वास छ । क्रिएसनले सङ्कलन गरिएको फोहोरलाई सह–प्रशोधन र पुनः प्रयोग गर्न, यसको उचित उपयोग सुनिश्चित गर्न र फोहोर व्यवस्थापनको लागि दिगो प्रक्रियालाई अग्रसरता दिन महत्त्वपूर्ण भूमिका खेलेको छ । यस अभियानमा संलग्न सबैले फोहोर सङ्कलनका लागि गरेको प्रयास साँच्चै प्रशंसनीय छ र यस असाधारण पहलको एक हिस्सा हुन पाउँदा म गर्व गर्दछु ।’

दिगो फोहोर व्यवस्थापन प्रवर्द्धन गर्ने प्रयासको रूपमा फोहोर सङ्कलन गरेपछि टिमले प्रशोधनका लागि अभियानको रिसाइक्लिङ्ग पार्टनरलाई हालसम्म अन्नपूर्ण हिमाल र बरूणत्से हिमालबाट सङ्कलन गरिएको फोहोर हस्तान्तरण गरिसकेको छ ।

जनचेतना बढाउन र सार्वजनिक संलग्नतालाई प्रोत्साहित गर्न सफा हिमाल अभियानले हिमाल सरसफाइमा आफ्नो निरन्तर प्रयासहरुलाई काठमाडौँ, ललितपुर, पोखरा र भरतपुर लगायतका सहरहरूमा डिजिटल स्क्रिन मार्फत दर्साउँदै आएको छ । ३५ टन फोहोर सङ्कलन गर्ने लक्ष्यमा पुगेपछि अभियानको सफलताको खुसीयालीमा काठमाडौँमा अन्तिम उत्सव मनाउनका लागि कार्यक्रम आयोजना गरिने भएको छ । जुन ५ तारिखमा अर्थात् विश्व वातावरण दिवसको अवसरमा भावी पुस्ताका लागि वातावरण संरक्षणमा सामूहिक पहलको महत्त्वलाई जोड दिँदै यो अभियान समापन गरिने जनाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

आज अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिकृया दिनुहॊस