वसन्त चौधरीको पहिलो बाल कविता संग्रह सार्वजनिक, नातिनीको नाममा ५६ कविता

काठमाडौँ । ‘प्रेमिल कवि’ को छवि बनाएका चर्चित कवि तथा गीतकार वसन्त चौधरीले आफ्नी नातिनी आहाना शाक्य (चौधरी)को जन्मदिनको दिन पारेर बाल कविता संग्रह ‘आहाना’ सार्वजनिक गरेका छन् । आइतवार ललितपुरको खुमलटारस्थित प्रिमियमर इन्टरनेशनल स्कूलको सभाहलमा आयोजित एक समारोहका बीच कवि चौधरीको बाल कविता संग्रह ‘आहाना’ विमोचन गरिएको हो ।

कवि चौधरीले आफ्नो साहित्यिक जीवनकै पहिलो बाल कविता संग्रह प्रकाशन गरेका हुन् । यसअघि उनका २० वटाभन्दा बढी कविता तथा गीतहरुका संग्रह प्रकाशित भइसकेका छन् । दर्जनौं चर्चित नेपाली गीतहरुका उनी सर्जक समेत हुन् । कवि चौधरी, उनकी पुत्री मेघा चौधरी, नातिनी आहाना शाक्य (चौधरी) तथा आहानाका पिता पारस शाक्य र बालबालिकाहरुले बालकविता संग्रह ‘आहाना’को सामूहिक लोकार्पण गरेका थिए । आकर्षक साज सज्जासहितको रंगीन कलेवरमा प्रकाशन गरिएको बाल कविता संग्रह नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध छ ।

‘कोपिला किताब’ले प्रकाशन गरेको आहानामा चौधरीका ५६ वटा बालकविताहरु समेटिएका छन् । प्रत्येक कवितासँगै कलाकार भानु भट्टराईले तयार पारेको आकर्षक चित्रांकन समेत समेटिएकाले बालकविता संग्रह निकै आकर्षक छ । समारोहमा बोल्दै कवि चौधरीले बाल कविता संग्रह विमोचन गर्दा आफू निकै खुशी भएको बताए । उनले भने, ‘यस्तो लागिरहेछ कि बसन्तको आगमन फेरि भएको छ । मन प्रफूल्लित छ ।’

उनले आफ्नी नातिनीलाई सानैदेखि हेरेको र उनको उमेर बढेसँगै आफूले देखेको, भोगेका र नातिनीसँग बिताएका क्षण तथा नातिनीजस्तै भएर लेखिएका कविताहरुलाई संग्रहको रुप दिएको बताए । कविता संग्रह आहाना आफ्नी नातिनीको प्रतिबिम्ब समेत भएको उनको भनाई थियो । उनले बालसाहित्यको महत्वको विषयमा समेत आफ्ना धारणा राखेका थिए । ‘बाल साहित्य मेरो नियमित विधा होइन । यो मेरो पहिलो प्रयास हो ।’ उनले भने, ‘मैले विभिन्न देशको भ्रमण गर्दा त्यहाँ बाल साहित्यले हासिल गरेको उचाई देख्दा डाह लाग्थ्यो । नेपालमा के कारणले बाल साहित्य पछाडि परेको छ, त्यो बुझ्न सकिरहेको छैन ।’

कवि चौधरीले बाल साहित्यले नेपालमा उचाई हासिल नगरे पनि बाल साहित्यको विषयमा संस्थागत कामहरु भएका भन्दै त्यस्तो काम गर्ने सबै सर्जकप्रति आभार व्यक्त गरे । कार्यक्रममा बोल्दै स्कूलकी डाइरेक्टर पवित्रा लिम्बूले कवि बसन्त चौधरीले आफ्नी नातिनीलाई जन्मदिनको दिन विशेष गिफ्ट दिएको उल्लेख गरिन् ।

उनले भनिन्, ‘हजूरबुबाबाट यस्तो गिफ्ट आयो कि सबैलाई बाँड्न मिल्ने ! अब आजदेखि वसन्त चौधरी आहानाको मात्र होइन, देशभरका बालबालिकाहरुको पनि हजूरबुबा बन्नुभयो ।’ उनले चौधरीले नेपालको बालसाहित्यको उन्नयनका लागि निकै ठूलो गिफ्ट गरेको समेत सो क्रममा बताइन् । उनले अनाथ बालगृहका बालबालिकाहरुलाई बोलाएर सकेको सहयोग समेत गरी जन्मदिन मनाउनु अनुकरणीय रहेको बताइन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कविता : बादल लागेपछि

(२०७८ सालमा पार्टी फुटकाे प्रभाव)

प्रतिकृया दिनुहॊस