विश्वबजारमा १-२ बैंक डुब्दैमा अर्थतन्त्रमा असर गर्दैन : डेपुटी सिइओ ज्ञवाली (अन्तर्वार्ता)

  • प्रस्तुति : कल्पना शर्मा

पछिल्ला समय बैंकहरु धमाधम मर्जरमा जाँदैछन्, मर्जर आवश्यकता हो की बाध्यता ? 
बैंकहरुका बिचमा नाफा देखाउनका लागि अस्वस्थ प्रतिस्पर्धा भएको छ । आवश्यकतामा जानुपर्दा बैंकहरुको संख्यामा वृद्धि भयो । अहिले एउटै घरमा विभिन्न बैंक तथा वित्तीय संस्थाका ४-५ वटा होर्डिङ बोर्डहरू देख्न सकिन्छ । जसका कारण कम्पनीको सञ्चालन खर्च बढ्दै गएको छ । लघुवित्त कम्पनीहरूमा आएको समस्या पनि डरलाग्दो रूपमा देखा परेको छ । एकजना व्यक्तिले धेरै कम्पनीबाट ऋण लिने तर नतिर्ने अवस्था आयो । एग्रेसिभ ग्रोथको टार्गेटमा अगाडि बढ्दा बैंक तथा वित्तीय संस्था लक्ष्यभन्दा फरक हुने अवस्था आएकाले पद्धतिमा ल्याउनका लागि नियन्त्रण गर्नुपर्ने भएकाले मर्जरको आवश्यकता देखिएको हो ।

नियमनकारी निकायलाई नियमन गर्नका लागि मात्रै होइन, बजारमा सन्तुलन कायम राख्न पनि यसको आवश्यकता भएको हो । साना संस्था तर कम क्षमता भन्दा ठूला संस्था अनि ठूला क्षमताका भए भने बजारमा संस्थाको विश्वसनीयता बढी हुने भएकाले सरकार, केन्द्रीय बैंक र बैंकहरुले पनि आवश्यकता महसुस गर्ने अवस्था आयो, जुन सकारात्मक छ ।

अब बिस्तारै आवश्यकतासँगै बाध्यता पनि बन्न थाल्यो । आइटीमा सञ्चालन खर्च बढ्दै गएको छ । एकातिर राष्ट्र बैंकले स्प्रेडदर घटाउने, बजारमा अस्वस्थ प्रतिस्पर्धाका कारण बैंकमा समस्या आउने भइराखेको छ । यस्तो अप्ठेरो अवस्थामा च्याउझैँ उम्रिएका बैंक तथा वित्तीय संस्थाहरूले स्टक होल्डरहरुलाई नाफा दिन नसक्ने अवस्था सिर्जना भयो । यसरी टनाटन संस्थाहरू भन्दा एकआपसमा गाभिएर जाँदा गुणस्तरमा पनि वृद्धि हुन्छ ।

निश्चित समयावधिमा मर्जर वा एक्वीजिसनमा जाँदा सरकारबाट पाउने सहुलियत र छुटहरूको सुविधा पनि हुन्छ । सोही अनुरूप पुस मसान्तसम्म मर्जर वा एक्वीजिसनमा गएकाहरूले सरकार तथा नियमनकारी निकायबाट लाभ र छुट पाएकोले बैंक मर्जर आवश्यकता बन्यो । नेपाल राष्ट्र बैंकले समयसीमा तोकेरै मर्जर वा एक्वीजिसनका लागि नीति ल्याएको हो । यदि समयसीमा भित्र नगर्ने हो भने स्टक होल्डरलाई लाभ दिन नसक्ने र बजारमा उपस्थिति मात्रै जनाउनेजस्ता धेरै संस्था भएको अवस्थामा राष्ट्र बैंकले बाध्यात्मक रुपमै मर्जर वा एक्वीजिसन गराउँछ । त्यसैले बैंक मर्जर आवश्यकता पनि हो र बजारमा प्रतिस्पर्धामा संस्था कमजोर बन्ने अवस्था आएमा यो बाध्यता पनि हो ।

बीग मर्जरका चुनौती र अवसरहरू के-के हुन् ? 
खर्च कटौतीका हिसाबमा लिने हो भने यो अवसर हुनसक्छ । प्रविधि र कोर बैकिङका सफ्टवेयरहरु घटेर जान्छ । सञ्चालन खर्चमा कमी आउँछ । अन्य प्रकारका खर्चमा कटौती गर्न सक्ने हो भने संस्थाको अवस्था राम्रो भएर जान्छ । यदि हामीले एनबी बैंकलाई अक्वाएर नगरेको भए अघिल्लो आवको लाभांश सन्तुलन हुने अवस्था थिएन । प्रतिफल सन्तुलन राख्नका लागि पनि मर्जर वा एक्वीजिसन राम्रो हो । यसलाई अवसरका रुपमा लिन सकिन्छ । अब योसँगै चुनौतीहरु नभएका होइनन् । दुईवटा फरक संस्थालाई एकत्रित गर्नुपर्ने हुन्छ । डाटा माइग्रेसनमा समस्या हुनसक्छ । मर्जर/एक्वीजिसनमा पहिले अभ्यास कम गर्दा प्रक्रिया पश्चात् अनेक समस्याहरु आउन सक्छन् ।

दुई संस्थाको व्यवस्थापन गर्न सहज हुँदैन । चाहना र आकांक्षाहरुलाई पनि सम्बोधन गर्नुपर्ने हुन्छ । मानव संसाधनको पक्षमा पनि समस्या हुनसक्छ । संस्था एकआपसमा मिल्ने तर संलग्न व्यक्तिहरूको मन नमिल्न सक्छ । म आफैपनि १२-१३ वटा संस्थाको मर्जर र एक्वीजिसनमा आबद्ध भएको छु । मेरो अनुभवले पनि यो देखाउँछ की, संस्थाहरुबीचका सबै विषयहरू मर्जर हुनुभन्दा पहिलेनै टुंग्याउनुपर्छ । बीग मर्जरमा चुनौती र अवसर दुवै छन् ।

पछिल्लो समयमा बैंक, वित्तीय संस्था र कार्यरत कर्मचारीमाथि ऋणीहरूको टार्गेट भइरहेको छ, ऋणको ब्याज सर्वसाधारणले धान्नै नसक्ने अवस्थामा पुगेको छ, बैंक तथा वित्तीय संस्थामाथि भएका गतिविधि समयको माग हो वा के हो ? प्रष्ट पारिदिनुस् न ? 
आजभोलि बैंक र वित्तीय संस्थालाई मात्रै होइन, कसैलाई चित्त नबुझेकै भरमा पनि टार्गेट गर्ने प्रवृत्ति बढेको छ । मेहनत गर्ने, काम गर्ने, नतिजामुखी हुने भन्दा पनि अरूका विषयमा ध्यान केन्द्रित गर्ने प्रचलन छ । अरूलाई गाली गरेर हिरो हुन खोज्ने भएका कारण नकारात्मक विचार र धारणाहरू समाजमा फैलिरहेका छन् । काम गर्न गाह्रो छ । गाली गर्न सजिलो छ । मिडियाले पनि नचाहिँदा विषयवस्तु र अनुचित मागलाई निरुत्साहित गर्नुपर्छ । ‘नेगेटिभिटी सेल’ हुने समाज बन्दै गएकाले हरेक क्षेत्रलाई बदनाम गराउने प्रयास भइरहेको छ ।

बैंक, बैंकर र वित्तीय संस्थामाथि पछिल्लो चरणमा भएका आक्रमणहरू निन्दनीय छन् । ऋणीहरूले अहिले लघुवित्त कम्पनीहरूलाई गाली गरिरहेका छन् । १५ लघुवित्तले सेवा दिनुभन्दा पहिले स्थानीयले घर-जग्गा धितोमा राखेर कति प्रतिशतमा ऋण लिइरहेका थिए ? उद्योगी व्यसायीले बैंकमा तरलताको अभाव भएको समयमा बैंकभन्दा बाहिरबाट कति प्रतिशतमा ऋण लिएका थिए ? मिडियाले यसका विषयमा गहन अध्ययन गर्न जरुरी छ ।

बैंक पारदर्शी हुन्छ । नियमन गर्ने निकाय हुन्छ । सबै विषयमा प्रष्ट भइसक्दा पनि बैंकले यति बढायो, उति बढायो भन्ने कुनै तुकको विषय होइन । ४ करोड ८७ लाख खाताहरूबाट लगभग ५४ खर्ब रुपैयाँ बैंकहरुले जम्मा गरेका छौं । त्यसमध्ये १८ लाखभन्दा बढीलाई ऋण दिइरहेका छौं । यो भ्रममा पर्नु हुँदैन की, हामीले हाम्रो होइन, आमसर्वसाधारणको पैसा ऋणका रुपमा चलाउन दिएका हौं । दुःख गरेर कमाएको पैसा बैंकले सुरक्षित गरिदिने मात्रै हो ।

१८ दशमलव ३६ लाख व्यक्तिहरुले पैसा तिर्दैनौं भन्दै गर्दा ‘मामाको धन फुपूको श्राद्ध’ जस्तो गर्न सकिँदैन । कर्जा लिएर दुरुपयोग बैंकले गरेको होइन । यस्तै अराजक काम गर्ने हो भने जत्था लिएर बैंकको पैसा लुटेर लाँदा पनि भयो । नयाँ बसपार्कमा करोड बढीका मोबाइल लुटेर लानेहरु पनि हामीकहाँ छन् । लुट्ने नै हो भने जे गर्दा पनि भयो । लिएको ऋण तिर्दैन । अरुको घरजग्गा कब्जा गर्छु जस्ता अराजक गतिविधिमा लाग्नेलाई के गर्न सकिन्छ ? यदि आर्थिक सुशासन भएन भने सर्वसाधारणले बडो मेहनत, परिश्रम र दुःख गरेर कमाएको पैसा पनि बैंकले फिर्ता गर्न सक्दैन । अहिले गाली गर्ने प्रचलन बढेका बेलामा २० लाखभन्दा तलको ऋण मिनाहा हुनुपर्छ, ७ प्रतिशतमा ऋण पाउनुपर्छ भनेर अराजक गतिविधिमा संलग्न हुनेहरूलाई के जवाफ दिने ? ऋण मिनाहा कसले गर्छ ? सरकारले ? सरकार आफै कर्मचारीलाई तलबभत्ता बुझाउन नसकेर ट्रेजरी बिल जारी गरेर तलबभत्ता खुवाइरहेको छ । पत्रकार साथीहरुले पनि गलतलाई प्रमोसन गर्ने होइन । सही समाचारलाई स्थान दिनुपर्छ ।

कुनै बैंक, वित्तीय संस्था, बैंकर वा कर्मचारीले गलत गरेको छ भने त्यस्ता विषयलाई उजागर गर्नुपर्छ । तर सिंगो प्रणालीलाई नै असफल बनाउने प्रयास गर्नेहरुलाई निरुत्साहित गर्ने प्रकारका विषयस्तुलाई मिडियाले स्थान दिनुपर्छ । सर्वसाधारणका लागि इमानदार भएर काम गरिरहेका बैंक, वित्तीय संस्था अनि त्यसमा कार्यरत कर्मचारीलाई कालोमोसो दल्छु, बहिष्कार गर्छु भन्नुचाहिँ कुनै नियम कानून मान्दिन भनेर अराजकता फैलाउनु मात्र हो । सबैकुरा सहज हुने बेलामा बैंकले पनि ७-८ प्रतिशतमा ऋण दिएकै हो । अहिले सबै क्षेत्रमा समस्या परेका कारण यस्तो स्थिति देखा परेको हो । यस्तो अप्ठेरो समयमा धन सुरक्षित गरिदिने बैंक, फाइनान्स तथा वित्तीय संस्थालाई गाली गर्नु वा अराजकता देखाउनु भनेको समयको माग होइन, अत्यन्तै गलत र बदनियतपूर्ण कार्य हो ।

अमेरिकाको १६ औं ठूलो बैंक सिलिकन भ्याली (एसभीबी) र सिग्नेचर बैंक बन्द भएका छन्, अमेरिकाजस्तो देशमा बैंकहरु यसरी बन्द हुँदा यसले अर्थतन्त्रमा कस्तो असर गर्छ ? 
हामी विज्ञहरू धेरै भयौं । आधा-अधुरा ज्ञानलाई फैलाइरहेका छौं । नेपाल अब श्रीलंका हुन्छ भनेर हल्ला पिट्ने विज्ञहरू प्रशस्तै भेटिए । पाकिस्तानमा समस्या आयो । अब नेपाल पनि पाकिस्तानको बाटोमा गयो भन्नसम्म भ्याए । अमेरिकाका २ बैंक बन्द भए । यसबाट नेपालमा संकट आउँछ भनेर अर्को हल्ला फैलाईंदैछ । बैंकहरुले गरेको लगानी उठ्न नसकेका कारण ती बैंक बन्द भएका हुन् । सन् २००८/२००९ मा ठूला र साना गरेर १४० वटा बैंक तथा वित्तीय संस्था डुबे ।  लिमन ब्रदर्सजस्तो लामो इतिहास भएको संस्था पनि डुबेको हो । त्यो समयमा त अर्थतन्त्रमा केही असर भएन । अमेरिकाका बैंक बन्द हुँदा नेपालमा फिटिक्कै त्यसको असर पर्दैन । बरु रसिया र युक्रेनको युद्धले विश्वभरी समस्या निम्तियो । सर्ने र नसर्ने प्रकारको समस्या हुन्छ । अमेरिकामा डुबेका बैंक नसर्ने समस्या हो । आत्तिनुपर्ने अवस्था छैन । नेपालमा बैंकहरुले गरेको लगानी सुरक्षित छ । विश्वबजारमा १-२ बैंक डुब्दैमा अर्थतन्त्रमा अनि हाम्रोमा असर गर्दैन । अमेरिकामा समुन्द्रमा छाल आयो, एउटा मान्छेलाई छालले डुबायो भनेर नेपालमा पनि छालले डुबाउँछ भनेर आत्तिएर हुन्छ ?

  • नवीन सन्देशबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हामी यस्तो भूगोलमा छौँ की यहाँ जुनसुकै बेला पनि ठूलो भूकम्प जाने सम्भावना छ : वरिष्ठ भूकम्पविद् डा. अधिकारी (अन्तर्वार्ता)

खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारी नेपाल भूकम्पीय उच्च जोखिममा रहेको बताउँछन् । उनका अनुसार, नेपालमा एउटै भूकम्प पूर्वदेखि पश्चिमसम्म गएको छैन । पूर्वमा १९९० सालको भूकम्प गएपछि २०४५ सालमा एउटा छुट्टै प्रकृतिको भूकम्प गयो र त्यस क्षेत्रमा ठूलो भूकम्प गएको छैन । नेपालको मध्य क्षेत्रमा २०७२ वैशाखमा गयो र पश्चिम नेपालमा ठूलो भूकम्प सम्भावना छ ।

प्रतिकृया दिनुहॊस