महेश खरेलको उपन्यास ‘यात्रा जिन्दगीको’ लोकार्पण

काठमाडौँ । साहित्यकार महेशराज खरेलको उपन्यास ‘यात्रा जिन्दगीको’ सार्वजनिक गरिएको छ । मंगलबार नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनाथ कक्षमा आयोजित एक समारोहकाबीच प्रतिनिधिसभाका सभामुख देवराज अधिकारीले उपन्यास ‘यात्रा जिन्दगीको’ सार्वजनिक गरेका हुन् ।

लोकार्पण तथा परिचर्चा कार्यक्रममा पूर्व मन्त्री एवम् सामाजिक रूपान्तरण अभियानकी अभियन्ता तथा साहित्यकार शान्ता मानवी, उपन्यासकारकी आमा अयुद्धा खरेल विशिष्ट अतिथि थिए । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा. यादवप्रकाश लामिछाने, प्राडा. गोविन्दराज भट्टराई विशेष अतिथि रहेको उक्त समारोहमा युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष डा. फणीन्द्रराज निरौला, डा.रजनी ढकाल, साहित्य सन्ध्याका अध्यक्ष राम विनय, कोषाध्यक्ष गोपालकुमार मैनाली, उपन्यासकारकी जीवनसङ्गिनी सरोजा आचार्य खरेल, छोरी आर्या खरेल, छोरा अगृमराज खरेल, प्राडा. रमेशप्रसाद भट्टराई, डा. मधुशूदन लामिछाने सहभागी थिए ।

मुकुन्द आर्याल, गायत्रीकुमार चापागाईँ, वरिष्ठ इन्जिनियरहरू खड्गबहादुर बस्नेत र द्रोण कोइराला, मधेसी आयोगकी सदस्य माननीय आभा सेतु सिंह, वरिष्ठ पत्रकार तीर्थ कोइराला, उमेश उपाध्याय, डा.बुनु दाहाल, कृष्णप्रसाद दाहाल, मित्रलाल पंज्ञानी, चिन्तामणि सिवाकोटी, कृष्णदेव रिमाल, हरिकला उप्रेती, शार्दूल भट्टराई, पोषरमण चापागाईँ, विन्दु अधिकारी ढकाल, चन्दा खतिवडा, मणिराज सिंह, लक्ष्मीप्रसाद खरेल, राष्ट्रिय वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, कृषि विकास बैङ्कका अध्यक्ष लक्ष्मीप्रपन्न निरौला, परिवारका सदस्यहरू, बैङ्क तथा वित्तीय संस्थाका व्यक्तित्वहरू पनि अतिथिका रूपमा उपस्थित रहेको थिए ।

शब्द संयोजन साहित्यिक मासिकद्वारा आयोजना गरिएको उक्त विशेष समारोहको अध्यक्षता शब्द संयोजनका प्रकाशक एवम् वरिष्ठ कवि वासुदेव अधिकारीले गरेका थिए । शब्द संयोजनका प्रधान समपादक रमेश पोखरेलले सञ्चालन गर्नुभएको उक्त विशेष समारोहमा निमन्त्रणा स्वीकार गरी सभाकक्षमा खचाखच उपस्थित भइदिने प्रमुख अतिथि, विशिष्ट अतिथिलगायत सम्पूर्ण आदरणीय व्यक्तित्वलाई शब्द संयोजनकी कार्यकारी सम्पादक सुमी लोहनीले स्वागत गरे ।

प्रमुख अतिथिले पानसमा बत्ती बालेर विशेष समारोहको उद्घाटन गर्नुभएपछि उपन्यासकारकी आमा अयुद्धा खरेल आजैका दिनमा नब्बे वर्ष पूरा गरी एकानब्बे वर्षमा प्रवेश गरेको सुखद उपलक्षमा उहाँलाई दोसल्ला ओढाएर प्रमुख अतिथिले सम्मान गरिएको थियो । प्रमुख अतिथि तथा विशिष्ट अतिथिलाई मञ्चमा आउँदै गर्दा सभाध्यक्षले माल्यार्पण गरी स्वागत गर्नुभएको थियो भने उपस्थित अतिथिहरूलाई साहित्यकार डम्बर पहाडीले खादा लगाएर सम्मान गरेकन हुन् ।

उपन्यासकारकी छोरी आर्या खरेलले उपन्यासकार पक्षाघात भएर थला परेपछि बिरामी भुल्न र लेखनकार्यमा सहजता थपिदिन दाहिने हातको चल्ने चोर औँलाले टाइप गर्न मिल्नेगरी मोबाइलमा युनिकोड फन्ट डाउनलोड गरेर बुबालाई साहित्यसिर्जनामा समर्पित हुने प्रेरणा प्रदान गरेकी हुँदा सभाध्यक्षले माल्यार्पण गरी आर्यालाई सम्मान गरे । प्रमुख अतिथि, विशिष्ट अतिथि, उपन्यासकार, टिप्पणीकार द्वय र उपन्यासकारकी जीवन सङगिनीले संयुक्तरूपमा उपन्यास ‘यात्रा जिन्दगीको’को लोकार्पण गरेका थिए ।

लोकार्पित उपन्यास ‘यात्रा जिन्दगीको’माथि डा. फणीन्द्रराज निरौलाले उपन्यासकारको विगतदेखि वर्तमानसम्मको व्यक्तित्व, हुनेखाने परिवार कसरी आफन्त तथा इष्टमित्रबाटै तिरस्कृत हुनेसम्मको अवस्थामा पुग्यो भन्नेसम्मको यथार्थलाई उपन्यासकारले इमानका साथ प्रस्तुत गरेकोलगायत सबै पक्षबाट विशद चर्चा गरे । डा. रजनी ढकालले पुनरावृत्ति नगरी उपन्यासकार तथा परिवारले भोगेको विगतदेखि वर्तमानसम्मको जीवनका साथै कोरोनाकहरको सन्दर्भसमेत जोडेर उनकी अत्यन्त साहसी आमालाई विम्ब बनाएर यो उपन्यास लेखिएको बताए ।

उपन्यासको भूमिका लेख्ने उपन्यासकारका गुरु प्राडा. गोविन्दराज भट्टराईले भने, ‘लेखेको कुरा मात्र जीवनपछि पनि रहिरहन्छ त्यसैले महेशलाई मैले लेख्ने प्रेरणा दिएको हुँ र आज यति ठुलो आकारमा उपन्यास लोकार्पण भएको छ ।’

उपन्यासकार महेशराज खरेलले सबैलाई धन्यवाद दिए । ‘आफूले लेखेको उपन्यासमा दुईजना विद्वानले भूमिका मात्र लेखिदिनुभएको छैन, उपन्यासको विश्लेषण पनि गरिदिनुभएको छ । त्यसैगरी दुईजना विद्वान समीक्षकले चिरफार गरिदिनुभएको छ । यहाँ निमन्त्रणा स्वीकार गरी उपस्थित भइदिनुहुने सबै आदरणीय व्यक्तित्वले मलाई हौसल्याइदिने काम गरिदिनुभएको छ,’ उनले भने, ‘बिरामी परेको समयमा लेख्न प्रोत्साहन गर्ने छोरी आर्या, डाक्टरको सल्लाहबमोजिम घरैमा थेराफी गरिदिने छोरा अगृम, हरतरहले साथसहयोग गर्ने जीवनसङ्गिनी सरोजा, आजको यो समारोह आयोजना गरिदिने शब्द संयोजन साहित्यिक मासिक, अध्यक्षता गरिदिने वरिष्ठ साहित्यकार वासुदेव अधिकारी, उपन्यासको सम्पादन गरिदिने रमेश पोखरेल, आजको यो विशेष समारोह सम्पन्न गर्न सभाकक्ष उपलब्ध गराइदिएर सहयोग गर्ने नेपाल प्रज्ञाप्रतिष्ठानसमेत सबै सबैलाई हार्दिक धन्यवाद अर्पण गर्दछु र उपन्यास पढेर लिखित वा मौखिक प्रतिक्रिया जनाइदिन विद्वत्जनमा हार्दिक आग्रह गर्दछु ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बेलायतको नयाँ कम्प्युटर पाठ्यक्रम सञ्चालन गर्दै मनास्लु स्कुल

काठमाडौं । काठमाडौंको नयाँ बजारमा स्थित मनास्लु स्कुलले डिजीस्कुल नेपालसँग साझेदारी गरेको छ । साझेदारी …

प्रतिकृया दिनुहॊस