सभामुखको अभिव्यक्ति आपत्तिजनक : नेपाल पत्रकार महासंघ

काठमाडौं – नेपाल पत्रकार महासंघले सभामुख देवराज घिमिरेले सञ्चार क्षेत्रमाथि लगाएको आक्षेप आपत्तिजनक भएको बताएका छन् । महासंघका महासचिव रोशन पुरीले एक विज्ञप्ती जारी गर्दै संसदको मुल नेतृत्वबाटै यस्तो अभिव्यक्ति आउनु दु:खद भएको बताएका हुन् ।

‘सार्वभौम संसद्को मूल नेतृत्वबाटै आफ्नो पदीय हैसियत र मर्यादाविपरित सञ्चार क्षेत्रप्रति आधारहीन र आपत्तिजनक अभिव्यक्ति प्रकट हुनु अत्यन्त दु:खद् छ,’ महासंघको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको राजनीतिक स्वतन्त्रता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको पक्षमा अनवरत संघर्ष गर्दै आएको नेपाली सञ्चार क्षेत्र क्रमश: व्यावसायिकतातर्फ उन्मुख भइरहेको बेला समग्र प्रेस जगतलाई लान्छित गर्ने अभिव्यक्ति आउँनुले यस क्षेत्रको विश्वसनीयता र व्यावसायिकतामा आँच आउन सक्नेतर्फ महासंघ गम्भीर चासो र चिन्ता प्रकट गर्दछ ।’

संघीय संसद्ले बनाउने सञ्चार क्षेत्रसँग सम्बन्धित कानूनका विषयमा छलफल गर्न र नव निर्वाचित सभामुखलाई बधाई ज्ञापन गर्न शुक्रवार नेपाल पत्रकार महासंघको प्रतिनिधि मण्डलले सभामुख देवराज घिमिरेसँग भेट गरेको थियो। उक्त भेटमा सभामुख घिमिरेले पत्रकारहरु बिक्रीमा भएको बताएका थिए । उक्त अभिव्यक्तिले समग्र सञ्चार क्षेत्रको आत्मसम्मानमा गम्भीर चोट पुगेको ठहर नेपाल पत्रकार महासंघले गरेको छ। महासंघले तत्कालै उक्त अभिव्यक्ति फिर्ता लिन आग्रह गरेकोसमेत जनाएको छ ।

‘सभामुखको अभिव्यक्तिप्रति तत्काल नै महासंघको नेतृत्वले सभामुखको सचिवालयमार्फत ध्यानाकर्षण गराएको र सभामुखबाटै उक्त आधारहीन अभिव्यक्ति फिर्ताका लागि आग्रह गरेको थियो । तर, सचिवालयवाट सामान्य प्रष्टीकरणबाहेक उहाँको आधिकारिक धारणा आउन सकेन,’ महासंघले भनेको छ ।

महासंघले यो आरोप फिर्ता लिनसमेत आग्रह गरेको छ । ‘आफ्ना आरोपहरू पुष्टि गर्न वा आधारहीन आरोप फिर्ता लिई सञ्चार क्षेत्रको संवैधानिक अधिकार र स्वतन्त्रताप्रति पूर्ण प्रतिवद्धता जनाउन सभामुख समक्ष महासंघ आग्रह गर्दछ,’ महासंघले भनेको छ, ‘सभामुखबाट आएको आधारहीन अभिव्यक्ति तत्काल फिर्ता नभएमा महासंघ कानूनीलगायतका अन्य दबाबमूलक कार्यक्रम अगाडि बढाउन बाध्य हुने जानकारी गराइन्छ ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई रिहा …

प्रतिकृया दिनुहॊस