शेयर बजार: हचुवाका भरमा लगानी गरे डुबिन्छ

नेपाल इन्भेष्टर्स फोरका सचिव तथा शेयर लगानीकर्ता विश्वेश्वर सुवेदीसँग सम्पादक कल्पना शर्माले गरेको कुराकानी :-

शेयर बजार भनेको के हो ? प्रष्ट पारिदिनुस् न ?
तपाई हामीले कुनैपनि ब्यापार व्यवसाय सुरु गर्दा सबैभन्दा पहिले भिजन, योजना आवश्यक हुन्छ । व्यवसाय सुरु गर्दाको सबैभन्दा मुख्य पाटो भनेको पूँजी हो । त्यो पूँजी कसरी एउटा शेयरको माध्यम र अर्को ऋणको माध्यमबाट जुट्छ ? यो जान्नुपर्छ । ऋण पूँजी आफ्नो संस्थाको व्यवसायको विवरण पेश गरेर बैंक, वित्तीय संस्था, व्यक्तिबाट लिन सकिन्छ । शेयर पूँजी २ तरीकाबाट उठ्छ । व्यवसाय सुरु गर्दाखेरी आवद्ध ब्यक्तिहरु, जजसले आफ्नो पैसा लगानी गर्छन् त्यसलाई संस्थापक पूँजी भनिन्छ र त्यो समयमा उनीहरुले लगानी गरेको पैसाको अतिरिक्त भविष्यमा थप पूँजीको आवश्यकता पर्यो भने आमसर्वसाधारणबाट थप पूँजी संकलन गर्नलाई साधारण शेयर सर्वसाधारणमा जारी गरिन्छ । त्यो साधारण शेयर सर्वसाधारणमा जारी गरेर संकलित पूँजीलाई साधारण शेयर भनिन्छ ।

कम्पनी स्थापना गर्दाखेरी जजसले लगानी गरेका हुन्छन्, उनीहरुले लगाएको शेयरलाई हामी संस्थापक शेयर भन्छौं । आमसर्वसाधारणबाट थप पूँजी संकलन गर्नलाई साधारण शेयर सर्वसाधारणमा जारी गरिन्छ, त्यसलाई साधारण शेयर भनिन्छ । त्यसवाहेकको अर्को शेयर भनेको परीवर्तनीय शेयर हो । यो शेयर एभरेष्ट बैंकले जारी गरेको थियो । यसको धेरै कारोवार पनि भएन । सर्वसाधारणलाई शेयर जारी गरेको शेयर बजारमा सूचीकरण गरेर सजिलै जुनसुकै बेला आफूलाई चाहिएको परिणाममा थप किन्न पनि पाउने, आफूले लगानी गरेको शेयर बजारमा बेच्न पनि पाउने बजारको व्यवस्था छ ।

नेपालमा एउटा मात्रै शेयर बजार छ । त्यसलाई नेपाल स्टक एक्सचेन्ज भनिन्छ । बजारमा त्यो नेपाल स्टक एकसचेन्जबाट कारोवार हुने शेयरहरुलाई मनिटरिङ गर्न, त्यसलाई नियम कानूनको परिधिमा राखेर रेगुलेसन गर्नका लागि सूचीकृत कम्पनीहरु छन् । ती कम्पनीहरुको नियमनका लागि धितोपत्र बोर्ड भन्ने संस्था छ । धितोपत्र बोर्डले नियमनको अभिभावकीय जिम्मेवारी पूरा गर्छ । स्टक एक्सचेन्जले रेफ्रीको काम गर्छ । यसले नियम अनुसारको खेल खेलाउँछ । ब्रोकरहरुले कारोबारमा सहजीकरण गर्छन् । कारोबारका लागि हाल बजारमा ५० वटा ब्रोकर छन् । संस्थापक शेयर बजारमा त्यतिधेरै कारोबार हुँदैन । यो शेयरमा सर्वसाधारणलाई कारोबार गर्नका लागि जटिलताहरु छन् । त्यो भनेको धेरै प्रकारका कानूनी झन्झटहरु छन् । संस्थापकको तुलनामा सर्वसाधारण शेयरको मूल्य पनि लगभग डबल नै देखिन्छ ।

संस्थापक शेयर पनि बजारमा सूचीकरण गरिसकेपछि संस्थापकले लिन नचाहेपछि नयाँ शेयर होल्डरले पनि खरिद/बिक्री गर्न पाउँछन् । साधारण भाषामा भन्नुपर्दा शेयर भनेको कुनैपनि व्यापार व्यवसायमा तपाईं हामीले लगाएको पूँजी हो । त्यो संस्थापक शेयर हो र हामीलाई नपुगेको पूँजी हामीले अरुलाई शेयर बेचेर सर्वसाधारणमा आह्वानपत्र मार्फत् जारी गरेको शेयर सर्वसाधारण शेयर हुन्छ । यो सर्वसाधारणलाई जारी गरेको शेयर दोस्रो बजारमा प्रवेश गराएर कारोबार गर्छौं । शेयर खरिद बिक्री हाटवजार भन्याजस्तै हो । सबैले बुझ्नेगरी भन्दा शेयरको कारोवार हुने बजार भनेको नै शेयर बजार हो ।

यसको कारोबार कसरी हुन्छ ?
यसको कारोबार गर्नका लागि बैधानिक दलालहरु हुन्छन् । जग्गाको कारोबारजस्तो असंगठित दलालहरु हुँदैनन् । अव्यबस्थित कमिसन हुँदैन । यो बजारमा ब्रोकरले खाने कमिसन राज्यले तोकिदिएको हुन्छ । दलाल बिना कारोबार गर्न पाईंदैन । म आफ्नो कारोबार आफै गर्छु । उदाहरणका लागि तपाईं र मेरो भेट भयो, म दलालसँग कारोबार गर्दिनँ, भन्ने हुँदैन । कारोबार गर्न बजारभित्रैको संयन्त्रमा जानुपर्छ । त्यो भन्दा बाहिर जान मिल्दैन । महत्वपूर्ण र हामीले जान्नैपर्ने विषय भनेको शेयरको किनबेच गर्न दलालको प्रयोग गर्नैपर्छ । दलाललाई कमिसन खुवाउनैपर्छ । स्टक एकसचेन्जले दिएको windows बाट कारोबार हुन्छ । यो बजारको कारोबार पारदर्शी हुन्छ । यसमा कसले बेच्यो ? कसले किन्यो ? किन्ने र बेच्नेका बिचमा चिनचान हुन जरुरी पनि छैन । बेच्नेले कम्प्युटरका माध्यमबाट बिक्रीको अर्डर राख्ने गर्छ । किन्नेले किन्ने अर्डर राख्छ । किन्ने र बेच्नेबिच price match भएपछि कारोबार हुन्छ । त्यसको कमिसन, जुन ब्रोकरकोमा TMS खोलेको छ, त्यो ब्रोकरकोमा जान्छ । केहि प्रतिशत धितोपत्र बोर्डमा जान्छ भने केहि प्रतिशत तोकिएको मापदण्ड अनुसार स्टक एक्सचेन्जमा जान्छ ।

जुन ब्रोकरमा तपाईको कारोबार गर्ने आइडी छ, त्यो ब्रोकरले कारोबार गर्छ । अथवा तपाईले TMS लिएर मोवाईलबाट खरिद/बिक्री गर्ने सुबिधा पनि बजारमा छ । यदि तपाईलाई अनलाइन चलाउन आउँदैन भने ब्रोकरकोमा गएर अर्डर स्लिप भरेर मेरो यति कित्ता शेयर किनिदिनुस् वा बेचिदिनुस् भन्न पाउने व्यवस्था पनि छ । अहिले नेपालमा अनलाईन ट्रेन्डिङमा राम्रो प्रगति भएको छ । अनलाईन बजारमा बृद्धि भएको कोभिडपछि हो । अनलाईन कारोवारमा बानी नपरेकाहरुलाई पनि कोभिडपछि एकप्रकारको बाध्यता नै भयो । ल्यापटप नभएकाहरुले खरिद गरे । नजानेकाले पनि कारोबार गर्न सिके । लाखौंको संख्यामा हातबाटै कारोबार गर्नेहरु छन् । ५० जनाको नियन्त्रणमा रहेको TMS हात/हातमा छ । मुख्य कुरो कारोबार हुनका लागि किन्ने र बेच्ने दुबै पक्ष हुनुपर्छ । शेयर बजारमा क्रेता र बिक्रेता अनलाईनका माध्यमबाट भेट हुन्छन्, उनीहरुले आफ्नो अर्डर place गर्छन् । त्यो अर्डरमा price match भएपछि साधारणतया १० कित्ताको लटमा कारोबार हुन्छ । यसको कारोवार आइतवारदेखि बिहिबारसम्म ११ वजेदेखि ३ वजेसम्म हुन्छ ।

शेयर बजारको कारोबारका विषयमा सजिलोगरी बुझाइदिनुभयो, यो बजारका समस्याहरु केके छन् त ?
यो संसारमा समस्या नभएको त कुनै क्षेत्र नै छैन । कारोबार गर्दा त्यसका राम्रा वा नराम्रा पक्ष त भई नै हाल्छन् । १०/१५ वर्ष अगाडिको भन्दा अहिलेको बजारमा धेरै सुधार भएको छ । केहि वर्ष अगाडि मैले पनि धेरै झन्झट बेहोर्नुपरेको थियो । स्टक एकसचेन्जमा गएर बोर्डमा लेखेकोमध्ये फलानो शेयर किनिदेउ न भन्दै कराउनुपर्ने अवस्था थियो । मलाई शेयर आयो की आएन भनेर पनि बिल काटेपछिमात्रै थाहा हुन्थ्यो ।

आजभोली अनलाईन पद्धतिबाट बजारको अवस्था बुझ्न सकिन्छ । कम्पनीको अवस्था कस्तो छ ? कुन कम्पनीमा व्यबस्थापन परिवर्तन भयो ? सबै सूचना स्टक एकचेन्जमा सही समयमा प्राप्त गर्न सकिन्छ । कारोबारलाई प्रभावित गर्ने समाचार वा सूचना दिन मिल्दैन । यदि त्यस्तो गरेको पाईएमा कार्वाहीको दायरामा पर्छन् । यति हुँदा हुँदै पनि ५० वटा ब्रोकरहरु पुतलीसडक क्षेत्रमैं छन् । काठमाडौंको पुतलीसडकलाई केन्द्र मानेर ५ किलोमिटर वरपर मात्र कारोबार हुने गरेको छ । यसलाई बैंकहरुलेजस्तो गाउँ गाउँमा विस्तार गर्नुपर्छ । बैंकहरुले पैसा राख्ने झिक्ने सुविधा दिएजस्तै शेयर खरिदबिक्रीको सुविधा पाउने, ब्रोकरको संख्या गाउँमा पुर्याउन सक्ने हो भने सहज हुन्छ ।

हमीले ब्रान्चलेस बैंकबाट पाउने डलर, सटहीका सुविधाजस्तो शेयर खरिदबिक्रीको पनि सुबिधा पाउन सक्यौं भने सहज हुन्छ । नेट स्लो भएर पनि समस्या हुने गरेको छ । सुचनाको गोपनीयता नहुने समस्या पनि छ । कसैले समयभन्दा पहिलेनै सूचना पाउने, कसैले समयभन्दा पछि सूचना पाउने, कसैले सूचनाकै कारण कमाउने र गुमाउने भएकाले समस्या भएको छ । TMS राम्रो नचलेको गुनासो पनि सुनिन्छ । कारोबार गर्दा गर्दै नेटमा समस्या आएर कारोबार रोकिने गरेको पनि छ । सूचीकृत कम्पनीका सूचनाहरु धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जमा सजिलै पाउन सकियो भने आफूले लगानी गरेको कम्पनी कस्तो छ ? भनेर सजिलै जान्न सकिन्छ । आजको दिनमा लगानी गर्नेले सम्पूर्ण सूचनाहरु सही समयमा नपाउनुनै प्रमुख समस्या बनेको छ । योसँगै नेट राम्रोसँग नचल्ने, ब्रोकरहरु सीमित स्थानमा बस्ने, तालिमको अभाव, समयमा सूचना नपाउने लगायत शेयर बजारका अहिलेका समस्या हुन ।

यो बजारको समस्या त पहिचान भयो, समाधान के हो ?
कतिपय कम्पनीमा लगानीकर्ताको लाखौं, करोडौं डुबेको छ । आजको दिनमा भृकुटी कागज कारखानाको अवस्था कस्तो छ भनेर सूचना प्राप्त गर्न सकिंदैन । हरिसिद्धीको अवस्था के छ ? लगानीकर्ताहरु बेवारिसे भएका छन् । उनीहरुको संरक्षण कसले गर्ने ? होटल याक एण्ड यतिका लगानीकर्ताको अवस्था के छ ? डेलिस्टिङ भएका कम्पनीहरुका व्यवस्थानमा को को छन् ? त्यसले आफ्नो करको दायित्व पूरा गरेको छ की छैन ? निरन्तररुपमा कम्पनीको अपडेट नबुझाउनेलाई कस्तो कार्बाही गर्ने ? यी सबैको मनिटरिङ, सूचना चुस्त राख्ने हो भने लगानीकर्तालाई सहज हुन्छ । सूचना समयमा र एकैपटक प्रदान गर्ने हो भने यो बजारको समस्याको समाधान निकाल्न सकिन्छ ।

शेयर बजारमा सबैभन्दा मुख्य समस्या भनेको सूचनानै देखियो हैन त ?
सूचनाको पहुँच व्यक्तिको पहुँच अनुसार फरक फरक छ । राम्रो पहुँच भएकाहरुले धेरै सूचना पाउने अवस्था छ । पहुँच नभएकाहरुले फेसबूक, क्लब हाउस, पत्रपत्रिका हेर्ने गरेको पाईन्छ । यसको प्रमुख समस्या सूचना नै नपाउने भन्ने होइन । तर तत् कम्पनीहरुले कत्तिको व्यवस्थित सूचना राखेका छन् ? यो चाहिं सबैभन्दा महत्वपूर्ण हुन्छ । कम्पनीको वेवसाईट खोलेको छ तर सूचना अपडेट छैन भने यस्ता कम्पनीलाई कसले जिम्मेवार बनाउने ? अपडेटेड नभएको अवस्थामा कार्बाहीको दायरामा ल्याउने निकाय पनि छ । यदि सिस्टममा काम हुने हो भने एउटै ठाउँबाट सबैले एकै समयमा सही सूचना प्राप्त गर्न सक्छन् । कसैले बढी सूचना पाएको कारण बढी नाफा कमाउने र कसैले सूचना नपाएका कारण नोक्सानी सहनुपर्ने अवस्था ठीक होईन । समान समयमा सही सूचना पाउने स्थितिको निर्माण गर्नका लागि धितोपत्र बोर्डले सम्पूर्ण सूचीकृत कम्पनीको सर्वसाधारण शेयर धनीले थाहा पाउनुपर्ने सूचनाहरु अद्यावधिक गर्न सकिए सूचनामा सबैको पहुँच पुगेको मान्न सकिन्छ ।

नयाँ सरकार बनेपछि शेयर बजारमा सुधार आएको हो ?
अघिल्लो सरकारको तुलनामा लगानीकर्ताले फरक महसुश गरेका छन् । पहिले अर्थमन्त्री र गर्भनरबीच टकराव आएका कारण समस्या भएको भन्ने भाष्य निर्माण भएको थियो । नेपाल श्रीलंका बन्छ, स्वधनान्तर घाटा बढ्दै गएको छ, रेमिटेन्स घट्दै गएको छ, आम्दानी घट्दै गएको छ, बेच्नका लागि केही छैन, सबै किनेरै उपभोग गर्नुपर्ने बाध्यता छ भन्ने डरलाग्दो अवस्था थियो । डलर सञ्चिति बिग्रदै गयो भनेर त्राहीमाम हुने अवस्था थियो । आजको दिनमा स्वधनान्तर बचतको स्थिति मजबुत हुँदै आएको, कोभिडपछि व्यापार, व्यवसायमा सकारात्मक परिदृष्य देखिएको छ । पर्यटन व्यवसायमा पनि आशाका किरणहरु देखिएका छन् । वैदेशिक रोजगारीमा जानेको पनि महसुश हुनेगरी बृद्धि भयो । शेयर बजार घटेर लगानीकर्ताले आत्महत्या गर्नसक्ने अवस्था उत्पन्न भयो । महंगी अचाक्ली बढ्यो । तथापि चरम आर्थिक संकटबाट उज्यालोको महसुश गरेको अवस्था छ । हामीले के बुझ्नुहुँदैन भनें, शेयर बजार बिग्रेपछि माथी उठ्न सक्दैन र सप्रेपछि बिग्रँदैन । यो सीधा रेखामा होईन बक्र रेखामा हिंड्छ । लगानीकर्ताले सोही छालको बीचमा ट्रेड गर्ने हो । कसैलाई बजार घट्दा अवसर हुन्छ भने कसैलाई बढ्दा । कोही बढ्यो भनेर टाउको समात्छन् । कोही घट्यो भनेर । किन्नेलाई महंगोमा किनौं भन्ने अपेक्षा हुँदैन । बेच्नेलाई सस्तोमा बेच्ने चाहना हुँदैन । बजारमा BULL BEER भन्ने गरिन्छ । BULL आशावादी हुन्छ । यसले उत्साहको कुरो गर्छ । BEER  घट्दो बजारको प्रतिक्षामा हुन्छ । कोरोनामा ब्यापार, व्यवसाय चौपट हुँदाखेरी शेयर बजार बढिरहेको थियो । यसको कारण खोज्नुपर्दा काम गर्नेहरु केहि नगरी बस्नसक्ने अवस्था भएन । धेरैको लागि अनलाईनका माध्यमबाट शेयरवजारको कारोबार गर्ने अवसर मिल्यो । बुसिल बजारमा यो क्षेत्रका मात्रै होईन धेरै क्षेत्रका व्यक्तिहरुको प्रवेश भयो । यो बजारमा नआएकाहरुको पनि प्रवेश भयो ।

गृहिणी, विद्यार्थी, साक्षर, निरक्षर सबै यो क्षेत्रमा आए । नराम्रो पक्षभन्दा राम्रो पक्ष देखे । शेयर बढ्दै जाँदा अब यस्तै अवस्था रहन्छ भन्ने भयो । शेयर बजार घट्न थालेपछि झड्का महशुस नगरेकाहरुलाई झड्का लाग्यो । त्यसबाट लगानीकर्ता धेरै आत्तिए । हतार—हतार शेयर बेचे । सबैतीर शेयरका बारेमा नकारात्मक धारणा बन्यो । बैंकले लोन दिन छाड्यो । लोनको ब्याजदरमा बृद्धि भयो । पुरानो सरकारको अवस्थामा वजारमा समस्या भएको पक्कै हो तर अहिले सहज हुन थालेको छ ।

भनेपछि देशको राजनीति परिवर्तनसँगै शेयर वजारमा उथलपुथल हुन्छ, हैन त ?
नीति बनाउने भनेको राजनीतिले नै हो । नीति बनाउने स्थानमा पुग्नेहरु र सरकार अस्थीर हँुदा नीतिहरु पनि परिवर्तन हुन्छन् । लगानीकर्तालाई ढुक्कको वातावरण हुँदैन । आज बनेको नीति ५ वर्ष परिवर्तन हुँदैन भन्ने ग्यारेन्टी भयो भने लगानीकर्ताले ढुक्कले लगानी गर्न सक्छन् । आजको सरकारले लिएको नीति २ महिनामा परिवर्तन भयो भने आजको सरकारलाई आधार मानेर गरेको व्यवसाय के हुन्छ ? लगानीकर्ताले २ महिनामा त व्यवसाय परिवर्तन गर्न सक्दैन । लगानी फसिसकेको हुन्छ । सरकार अस्थिर हुँदा नीति अस्थिर हुन्छ । नीति अस्थीर भएपछि त्यसको असर बजारमा पर्छ । आशा देखिए बजार बढ्छ भने निराशाजनक अवस्थामा बजार घट्छ । लगानीकर्तालाई सरकारप्रति विश्वास भएन भने लगानी बढाउँदैनन् तर सरकारप्रति विश्वास भयो भने ऋण काढेरै भएपनि व्यवसाय बढाउँछन् ।

नेपालमा कम्युनिष्टको सरकार आउँदा बिदेशी लगानी आउँदैन । मारवाडीहरुले नेपालबाट लगानी इण्डिया लगेर सुरक्षित गरे भन्ने सुन्नमा आएको छ । व्यवसाय गरेर डुब्ने कसैको पनि चाहना हुँदैन । सरकार परिवर्तन भएर नीति नियम परिवर्तन हुँदा बजारमा नकारात्मक असर पर्छ ।

नबप्रवेशीलाई शेयर बजारमा कतिबेला प्रवेश गर्नु ठीक हुन्छ ?
अर्थतन्त्र बुझेकाहरुले प्रवेश गर्ने भनेको बजार घटेका बेलामा हो । नयाँ लगानीकर्ताले पनि कमाउने बजार घटेका बेलामा हो । LOw मा ईन्ट्री गरेर High मा Exit  गर्ने हो । नयाँ लगानीकर्ताले कौडीको भाउमा शेयर पाईरहेको अवस्थामा प्रवेश गर्ने हो ।

कस्ता व्यक्तिले शेयर वजारमा लगानी गर्नु सुरक्षित मानिन्छ ?
सुरक्षित लगानी खोज्नेले शेयर बजारमा प्रवेश गर्ने नै होईन । शेयर बजारमा आम लगानीकर्ताले कारोबार गर्ने भनेकोे साधारण शेयरको कारोबार हो । संस्थापक शेयरमा लगानी गर्नेहरु तुलनात्मक रुपमा बढी ज्ञान भएका हुन्छन् । उनीहरु आमसर्वसाधारण भन्दा बढी जानकार हुन्छन् । सेकेण्डरी मार्केटमा आईपीओ जारी हुने लोटरीको माध्यमबाट बाँडफाँड हुन्छ, त्यो लगानीकर्ता दोस्रो बजारको लगानीकर्ता हुन्छ । आइपीओमा लगानी गरेर पहिलो बजारमा प्रवेश गरेको लगानीकर्ता जब त्यसलाई बिक्री गर्नका लागि ब्रोकर वा दोस्रो बजारमा पुग्छ, ऊ दोस्रो बजारको कारोबारी हो । सेकेण्डरी मार्केटमा पसिसकेपछि त्यो चिजको मूल्य त्यहि लगानीकर्ताको हातमा हुँदैन । त्यसको मूल्य बजारले निर्धारण गर्छ । बजारमा मूल्य निर्धारण गर्नका लागि धेरै कुराको प्रभाव हुन्छ । कम्पनीले लगानी गरेको नाफा, कम्पनीको डिमाण्ड र सप्लाई, भविष्यमा थप नाफा गर्नसक्ने सम्भावना, प्राविधिक विश्लेषण हुन्छ ।

कतिपयले सूचना पनि नहेर्ने, बजारको हल्लाको आधार, अन्धाधुन्ध तरीकाले शेयर बजारमा लगानी गरेको हामीले पाउँछौं । कतिलाई त लगानी गरेको कम्पनीको नाम र व्यवसाय समेत थाहा हुँदैन । व्यवसाय चलाउने मान्छे कस्ता छन् ? अध्ययन नगरी लगानी गर्दा लगानी डुब्ने जोखिम हुन्छ । एउटा भैंसी किन्दा त्यसको साइज कत्रो छ ? गुण÷अवगुण केके छन् ? कति लिटर दुध दिन्छ ? घाँस कति खान्छ ? लात्ती हान्छ या हान्दैन ? यी सबै अध्ययन गर्छौैं । तर आफ्नो दुःख गरेर कमाएको सम्पत्ति लगानी गर्दा जोखिम छ की छैन ? बेच्न खोज्दा बिक्री हुन्छ की हुँदैन ? आफूलाई मात्रै राम्रो लागेको हो की ? बजारले पनि राम्रो मानेको छ ? किन्दा त सजिलै भयो, बेच्दा कस्तो हुन्छ ? यी सबै बुझेर लगानी गर्नेले कमाउने संभावना बढी हुन्छ ।

ज्योतिषीले हाम्रो भाग्यरेखा हेरेर भविष्यका बारेमा भनेजस्तै यो बजारमा पनि चार्टको विश्लेषण हुन्छ । आजको बजार हेरेर भोलीको बजारको अवस्था कस्तो हुन्छ ? यसको आधारमा लगानी गर्नेहरु पनि छन् । यसलाई प्राविधिक आधारमा लगानी गर्ने TA (Technical analysis) भनिन्छ । कम्पनीको ओभरअल विश्लेषण गर्ने लगानीकर्ताहरु छन् । प्राविधिक मात्रै हेरेर लगानी गर्ने भन्दा Fundamental हेरेर लगानी गर्ने लगानीकर्ता बढी सुरक्षित हुन्छन् । Fundamental Technical दुबैलाई विश्लेषण गरेर लगानी गर्ने लगानीकर्ताहरु सबैभन्दा सुरक्षित हुन्छन् । बजारको हल्लाको भरमा लगानी गर्नेहरु जोखिममा हुन्छन् ।

त्यसोभए जोखिमको अड्डा शेयर बजार हो, भन्दा भयो हैन त ?
साधारण शेयरलाई असाधारण जोखिमका रुपमा मानिन्छ । तर असाधारण लाभको संभावना लुकेको हुन्छ । शेयरको नाम असाधारण तर रिटर्न पनि असाधारण हुन्छ । बैंकमा लगानी गर्दा वार्षिक १२/१५ प्रतिशत ब्याज पाउँदा भयंकर नाफा भएको जस्तो लाग्छ । मलाई बजारमा लगानी गरेको कुनैपनि स्टक १० गुणा बढेको अनुभव छ । आजको दिनमा १०० रुपैयाँ लगानी गरेर १ वर्षपछि बेच्दा १ हजार रुपैयाँमा बेचेको छु । १ वर्षको लगानीमा १ हजार प्रतिशत रिटर्न पाउसक्ने संभावना यो बजारमा छ । १ हजारमा किनेको शेयर १ सय रुपैयाँमा बेच्नुपरेको अवस्था पनि छ । हामीले लगानी गरेको कम्पनीले कमाएर दिन सकेन भने हामी समस्यामा पर्छौं । त्यसैले नाफाको कुनै ग्यारेन्टी हुँदैन । एफडी, डिबेन्चरमा पूँजी लगानी गर्दा ब्याज कति प्रतिशत पाउने भन्ने फिक्स हुन्छ । सरकारी ऋणपत्रहरुमा लगानी गरेको प्रतिफल पनि निश्चित हुन्छ ।

शेयर बजारमा भने कम्पनीले नाफा कमायो, त्यो तपाईको हुन्छ । कम्पनीले कमाउने सकेन, तपाईलाई नाफा दिनैपर्छ भन्ने बाध्यता हुँदैन । वर्षौं घाटामा गएर बन्द भएका कम्पनीहरु पनि छन् । त्यसको क्षतिपूर्ति कहिं कतैबाट हुँदैन । नेकोन एयर डुब्यो । यसले कसैलाई नाफा दिन सकेन । दायित्व पूरा गरेन । यसमा लगानी गर्नेहरुको सम्पत्ति पूरै डुब्यो । शेयर बजारमा सावाँ नै डुब्ने संभावना पनि हुन्छ । जोखिम बहन गर्न नसक्नेहरु शेयर बजारमा प्रवेश गर्नु ठीक होइन । अति लोभ, अति डर, अति अज्ञानताले शेयर बजारमा डुब्न सकिन्छ । शेयर बजार महासागर हो । अरुलाई शेयर बजारको विषयमा अध्ययन गराउनेहरु आफैपनि चुर्लुम्म डुबेका छन् । तर जोखिमसँगै अथाह संभावनाहरु पनि छन् ।

  • नवीन सन्देशबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हामी यस्तो भूगोलमा छौँ की यहाँ जुनसुकै बेला पनि ठूलो भूकम्प जाने सम्भावना छ : वरिष्ठ भूकम्पविद् डा. अधिकारी (अन्तर्वार्ता)

खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारी नेपाल भूकम्पीय उच्च जोखिममा रहेको बताउँछन् । उनका अनुसार, नेपालमा एउटै भूकम्प पूर्वदेखि पश्चिमसम्म गएको छैन । पूर्वमा १९९० सालको भूकम्प गएपछि २०४५ सालमा एउटा छुट्टै प्रकृतिको भूकम्प गयो र त्यस क्षेत्रमा ठूलो भूकम्प गएको छैन । नेपालको मध्य क्षेत्रमा २०७२ वैशाखमा गयो र पश्चिम नेपालमा ठूलो भूकम्प सम्भावना छ ।

प्रतिकृया दिनुहॊस