केबल टेलिभिजन व्यवसायीले गराए सञ्चारमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । केबल टेलिभिजन व्यवसायीले नेपाल विद्युत् प्राधिकरणसँग भइरहेको पोल भाडासम्बन्धी समस्या तत्काल समाधान गर्न माग गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको ध्यानाकर्षण गराएका छन् । मंगलबार उनीहरूले उक्त ध्यानाकर्षण गराएका हुन् ।

केबल टेलिभिजन व्यवसायीसँगको भेटपछि सञ्चारमन्त्री शर्माले अन्तरमन्त्रालयलाई समन्वय गर्ने संरचना नहुँदा समस्या बढ्दै गएको बताइन् । उनले आफू मन्त्रालयमा नयाँ भएको भन्दै यसबारेमा पूर्ण जानकारी लिएर काम अघि बढाउने उल्लेख गरिन् ।

“हामीले अन्तरमन्त्रालयसँग पनि कुरा गर्नुपर्ने हुन्छ । हाम्रै मन्त्रालयबाट विभेद भयो भन्ने कुरा गर्नुभएको छ, त्यो के रहेछ, सचिवज्यूसँग जानकारी लिन्छु । सकारात्मक रूपमा सोच्नेछु,” उनले भनिन्, “अन्तरमन्त्रालयलाई समन्वय गर्ने खालको हाम्रो संरचना छैन, प्रधानमन्त्री कार्यालयअन्तर्गत गर्नुपर्छ । अरू कुरा पनि सहज बनाउनका लागि त्यस्तो संयन्त्र सोच्नुपर्ने हुन्छ ।”

नेपाल केबल टेलिभिजन व्यवसायी महासंघका अध्यक्ष ध्रुव शर्माले मन्त्रालयबाट एन्ड्रोइड सेटअप बक्स ल्याउन दिएर सबै चिज आईपीटीभीलाई फ्रीमा दिइँदा व्यापार नै धराशायी भएको बताए । यस क्षेत्रमा देखिएका समस्या तत्काल समाधान र गैरकानुनी प्रसारणहरू बन्द गराई केबल टेलिभिजन सेवा नियमित रूपमा प्रवाह गर्ने वातावरण सिर्जना गर्न आफूहरूले आग्रह गरेको उनले जानकारी दिए ।

उनले हाल पोल भाडाको विषयलाई लिएर देशका विभिन्न स्थानमा केबल व्यवसायीको केबलको तार काट्ने, उपकरण जफत गर्ने, विद्युत् आपूर्ति बन्द गर्नेजस्ता प्राधिकरणबाट भइरहेको गैरकानुनी कार्य तत्काल रोक लगाउन पनि माग गरे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

डिशहोमको जतिको रिचार्ज उति नै बोनस अफर

काठमाडौं । डिशहोम डीटीएचका ग्राहकहरुले अब रिचार्ज गरेको रकमबराबर नै बोनस प्राप्त गर्ने भएका छन्। …

प्रतिकृया दिनुहॊस