साढे पाँच महिनामा १० अर्ब ३८ करोडको बिजुली भारत निर्यात

काठमाडौँ । यस वर्षको पहिलो साढे पाँच महिनामा १० अर्ब ३८ करोड ९६ लाख रुपैयाँको बिजुली भारत निर्यात भएको छ । देशभित्र खपत गरी बचेको एक अर्ब २६ करोड २५ लाख ३८ हजार युनिट बिजुली नेपाल विद्युत प्राधिकरणले कात्तिकसम्ममा निर्यात गरी १० अर्ब ३८ करोड ९६ लाख रुपैयाँ कमाएको छ ।

प्रााधिकरणले देशभित्र खपत गरी बाँकी भएको वर्षायामको बिजुली गएको जेठ १९ गतेदेखि इण्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री शुरु थालेको थियो । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु) मा हुने भएकोले यस अवधिमा बिजुली बिक्रीबाट ६ अर्ब ४९ करोड ३५ लाख भारु नेपाल भित्रिएको छ । यसबाट नेपालको विदेशी मुद्रा सञ्चिति र दुई देशबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको छ ।

शुरुमा दुई वटा विद्युत् गृहको ३९ मेगावाट उत्पादित बिजुलीलाई स्रोत मानी दैनिकरूपमा आईएक्समा बिक्री गरिएको थियो । त्यसपछि जेठ २७ गतेदेखि दैनिकरूपमा छ वटा जलविद्युत् गृहबाट उत्पादित बिजुलीलाई स्रोत मानी दैनिकरूपमा तीन सय ६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै थियो । गएको कात्तिक १८ र ३० गतेदेखि क्रमशः चिलिमे र सोलुखोलाको बिजुली निर्यात शुरु भएसँगै भारततर्फ निर्यात हुने बिजुलीको स्वीकृति क्षमता चार सय नौ मेगावाट पुगेको छ ।

खोलानालामा पानीको बहाब घट्दै गएकोले नदी प्रवाहमा आधारित जलविद्युत् केन्द्रहरूबाट बिजुली उत्पादन कम भएसँगै निर्यातको परिमाण पनि क्रमशः घट्दै गएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिएका छन् । ‘उद्योगहरूले अहिले स्वीकृति लोडअनुसार बिजुली नै लिएका छैनन्, यसले गर्दा देशभित्र औद्योगिक कोरिडोरमा बिजुलीको माग बढ्न सकिरहेको छैन, अहिलेकै अवस्थामा आन्तरिक खपत धानेर बढी भएको बिजुली आउँदो पुसको पहिलो हप्तासम्म निर्यात गर्न सक्ने अनुमान गरिएको छ’, कार्यकारी निर्देशक घिसिङले भने ।

आईएक्समा २४ घण्टालाई १५-१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा बिजुलीको कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ । प्राधिकरणले कात्तिकसम्ममा निर्यात गरेको बिजुलीको औसत दर प्रतियुनिट आठ रुपैयाँ २३ पैसा रहेको छ ।

थप २३.५ मेगावाट निर्यात अनुमति
प्राधिकरणले देशभित्र खपत गरी बाँकी भएको वर्षायामको थप २३ दशमलव ५ मेगावाट जडित क्षमताको सोलुखोला जलविद्युत् केन्द्रको बिजुली निर्यातका लागि अनुमति पाएको छ । भारत सरकारको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले गएको कात्तिक २५ गते सोलुखोलाबाट उत्पादित बिजुली आईएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीका लागि अनुमति दिएको हो । प्राधिकरणले अब आठ जलविद्युत् केन्द्रबाट उत्पादित चार सय नौ मेगावाट बिजुली भारतीय आईएक्सको डे–अहेड बजारमा बिक्रीका लागि अनुमति पाएको छ ।

प्राधिकरणले निजी क्षेत्रले निर्माण गरेका २९ दशमलव ०४ मेगावाटको लिखूखोला ए, २५ मेगावाटको काबेली बी–१, २२ मेगावाटको माईखोला, १४ दशमलव ९ मेगावाटको हेवाखोला ए र १० मेगावाटको तल्लो मोदी–१, ४२ मेगावाटको मिस्त्रीखोला, २४ दशमलव २ मेगावाटको लिखुखोला ‘ए’, २३ दशमलव ५ मेगावाटको सोलुखोला र २२ दशमलव १ मेगावाटको चिलिमेको विद्युत् गृहबाट उत्पादित बिजुली निर्यातको प्रस्ताव स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरण समक्ष पेस गरेको थियो । त्यसमध्ये चिलिमे र सोलुखोलाको बिजुली निर्यातका लागि अनुमति प्राप्त भएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भूमिगत तार पड्किँदा चितवनमा विद्युत् सेवा अवरुद्ध

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जभित्र बिजुलीको भूमिगत तार (केबल) मा समस्या आएपछि माडीमा विद्युत् सेवा …

प्रतिकृया दिनुहॊस