लक्ष्मी पूजाको दिन विद्युत बढी भएर भारत निर्यात

काठमाडौं । तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत उच्च माग (पिक डिमाण्ड) १,३०५ मेगावाट पुगेको छ । गत वर्ष लक्ष्मीपूजाको दिन विद्युतको पिक डिमाण्ड १,२७० मेगावाट रहेकोमा यस वर्ष ३५ मेगावाट बढी १,३०५ मेगावाट पुगेको हो ।

नेपाल विद्युत प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन सोमबार साँझ ६ः१० बजे पिक डिमाण्ड १,३०५ मेगावाट रेकर्ड गरेको हो । प्राधिकरणका स्वामित्वका नदी प्रवाहमा आधारित विद्युत गृहबाट ४३५.२ मेगावाट, प्राधिकरणका सहायक कम्पनीको स्वामित्वका माथिल्लो तामाकोसी, खिम्ती–१ तथा चिलिमबाट ४८२.२ मेगावाट र निजी क्षेत्रका जलविद्युत केन्द्रहरुबाट ७६७.५ मेगावाट विद्युत उत्पादन गरी आपूर्ति गरिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशकसहितको टोली स्यूचाटारस्थित भार प्रेषण केन्द्रबाट लक्ष्मीपूजाको दिन विद्युत माग र आपूर्ति व्यवस्थापनका लागि खटिएको थियो । विनाअवरोध देशभरी विद्युत आपूर्ति गर्न प्राधिकरण सफल भएको छ ।

विगतका वर्षहमा लक्ष्मीपूजाको माग धान्नका लागि विद्युत आयात हुँदै आएकोमा अब आन्तरिक उत्पादनले माग धान्ने मात्र हैन खपत हुन नसकेर बढी हुन थालेको छ । प्राधिकरणले यस वर्ष लक्ष्मीपूजाको पिक डिमाण्ड धान्नको लागि कुलेखानी जलाशययुक्त जलविद्युत केन्द्र समेत सञ्चालन गरेन । कुलेखानी पहिलोबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी १०६ मेगावाट विद्युत उत्पादन हुन्छ ।

यस वर्षको लक्ष्मीपूजाको पिक समयमै ३८० मेगावाट विद्युत भारत निर्यात गरिएको र २०० मेगावाट विद्युत खपत गर्न नसकिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री गरिरहेको छ ।

प्राधिकरणले गत असार २८ गते देशभित्रको पिक डिमाण्ड सबैभन्दा बढी १७४७.५३ मेगावाट रेकर्ड गरेको थियो । देशभित्रको विद्युत खपत र भारततर्फको निर्यासहित लक्ष्मीपूजाको दिन प्रणालीको पिक डिमाण्ड १६८५ मेगावाट रेकर्ड गरिएको छ । यस वर्ष संघीय राजधानी काठमाडौं उपत्यकासहित यस आसपासका क्षेत्रको पिक डिमाण्ड ३४२ मेगावाट छ । गत वर्ष ३२०.६४ मेगावाट थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौंका मुख्य स्थानमा आज ९ घन्टासम्म विद्युत अवरूद्ध

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज ९ घन्टासम्म विद्युत अवरूद्ध हुने भएको छ । नेपाल …

प्रतिकृया दिनुहॊस