गठबन्धनबाट जसपा बाहिरियो, लोसपाको इन्ट्री !

काठमाडौं । सत्तारुढ गठबन्धनको सिट बाँडफाँट गर्न शुक्रबार बालुवाटारमा बसिरहेको बैठकबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएको छ । जसपा बाहिरिएपछि गठबन्धनमा तालमेल जुटाउन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को प्रवेश भएको छ ।

जसपाले गठबन्धन छोडेर एमालेसँग चुनावी तालमेल गर्ने निश्चित भएपछि अब सत्तारुढ गठबन्धनले लोसपालाई बैठकमा सहभागी गराएको गठबन्धन दलका नेताहरुले बताएका हुन् । गठबन्धनको बैठकमा लोसपाका नेताहरू शरतसिंह भण्डारी, जितेन्द्र सोनाल, अनिल झालगायत सहभागी रहेको बुझिएको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरू भने बिहीबार साँझदेखि एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूसँग चुनावी तालमेलका लागि छलफलमा रहेका छन् । शुक्रबार पनि जसपा नेताहरु एमालेसँग छलफलमा छन् । एमालेले जसपालाई प्रतिनिधि सभामा २५ सिट र मधेश प्रदेशमा समेत उसले मागे जति सिट दिएर गठबन्धन गर्ने तयारी गरेको बुझिएको छ ।

गठबन्धनमा केवल १६ सिट दिने भएपछि जसपा गठबन्धनबाट बाहिरिएर एमालेसँग तालमेल गर्ने तयारी गरेको छ । साथै जसपाले मधेश प्रदेशमा समेत आफूले मागे जति सिट नपाएपछि असन्तुष्ट बनेको बुझिएको छ । जसपाले मधेश प्रदेशमा कम्तीमा आधा सिट र केन्द्रमा २५ सिट माग गरेको थियो ।

अध्यक्ष उपेन्द्र यादवले गठबन्धनले आफूलाई मधेश प्रदेशमा सरकार बनाउन नसक्ने गरी सिट छुट्याएको आरोप लगाउँदै असन्तुष्ट बनेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस